नेपालको पहिलो खेल पाकिस्तानसँग
काठमाडौं : नेपालले पाँचौं नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। पाकिस्तान र दुबईमा सोमबारदेखि संयुक्त रूपमा सुरु हुने प्रतियोगिताको खेल तालिका परिवर्तन भएपछि मंगलबार पाकिस्तानसँग खेल्नेछ। यस्तै बुधबार बंगलादेश खेल्नेछ। यस्तै दुबइृमा जनवरी १३ मा श्रीलंका, १४ मा भारत र जनवरी १५ मा अस्ट्रेलियासँग खेल्नेछ।
विश्वकपको ट्रफी भने पाकिस्तानमा शनिबार सार्वजनिक गरिएको छ। लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको हो। नेपालका कप्तान क्रितन श्रेष्ठ दुवाल, पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व नेत्रहीन क्रिकेट लिमिटेडका पूर्वअध्यक्ष सुल्तान साहलगायतले विश्वकपको ट्रफी सार्वजनिक गरेका थिए।
पूर्वकार्यक्रमअनुरूप भारतले पनि पाकिस्तानमा विश्वकप खेल्ने तय भएको थियो। तर, भारतको विदेश मन्त्रालयले पाकिस्तानमा खेल्न अनुमति नदिएपछि भारतले दुबईमा खेल्ने भएको छ। विश्वकप ट्रफी तीन राष्ट्रका कप्तानले मात्र सार्वजनिक गरेका थिए। यससँगै दुबईमा अस्ट्रेलिया, भारत र श्रीलंकाले विश्वकप खेल्नेछ। यसैबीच विश्वकपको फाइनल खेलको स्थान यसअघि पाकिस्तान भए पनि परिमार्जन गरिएको छ। भारतबाहेक एसियाली राष्ट्र विश्वकप फाइनलमा पुगेमा फाइनल खेल पाकिस्तानमा हुनेछ। तर, अस्ट्रेलिया अथवा भारत पुगेमा फाइनल खेल दुबईमा हुनेछ। फाइनल खेल १८ जनवरीमा दुबई अथवा पाकिस्तानको लाहोरमा हुनेछ।