खै सुरक्षा ?
रुपन्देही, देवदहका फर्निचर व्यवसायी वसन्त पौडेलको शुक्रबार भएको हत्याले राज्य नागरिकको सुरक्षामा कमजोर रहेको फेरि पुष्टि भएको छ। व्यवसायी पृष्ठभूमिका व्यक्तिको बारम्बारको हत्या दोहोरिइरहनु शंकास्पद छ। यस्तो शृंखलाबद्ध घटनाले देशमा कोही पनि सुरक्षित नरहेको संकेत दिन्छ।
रुपन्देहीकै देवदहमा एक वर्षअघि इँटा व्यवसायी तथा युवा संघका स्थानीय नेता दुर्गा तिवारीको हत्या भएको थियो। तिवारीको हत्या र शुक्रबार भएको पौडेल हत्याको प्रकृति र जिम्मा लिने व्यक्तिसमेत एकै हुन्। यस्ता हत्याका घटनाका कारण प्रायःजसो लेनदेन र चन्दाको विषय देखिने गरेका छन्। अलिकति पैसा कमाएका व्यक्ति देखेपछि आपराधिक प्रकृतिका व्यक्तिले रकम तोकेरै चन्दा माग्ने र नदिनेलाई हत्या गरेर अरूको समेत ‘सातो लिएर उठाउने’ रणनीति लिएको देखिन्छ।
गत वर्ष तिवारीको हत्यापछि अपराधीको धम्की झेल्न नसकेर अन्य स्थानीय व्यापारीले हुन्डीमार्फत नै चन्दा पठाउने गरेको समेत बताएबाट अपराधीहरू झनै बलियो बन्दै गएको बुझ्न सकिन्छ। एकै वर्षमा देवदह क्षेत्रमा यस्तै प्रकृतिबाट ३ जनाको हत्या हुनुले यो क्षेत्र त त्रस्त छँदै छ, देशका अन्य भागका सर्वसाधारणले पनि असुरक्षित महसुस गरेका छन्। काठमाडौंमा केही महिनाअघि निर्माण व्यवसायी शरदकुमार गौचनको यस्तै प्रकृतिको हत्या भएको थियो। बारम्बार उस्तै प्रकृतिका घटना हुनुले केही संकेत गर्छन् तर सुरक्षा निकायले त्यस्ता संकेतलाई केलाएर घटनाको चुरोसम्म पुग्न नसकेको देखिन्छ। अथवा, राजनीतिक संरक्षणका कारण सुरक्षा निकाय सक्रिय हुन सकेको छैन।
अहिले हत्याको जिम्मा लिने मनोज पुन कुनै बेला आफैं एमालेको युथफोर्समा आबद्ध थिए। पाँच वर्ष अघिसम्म युथफोर्समा रहँदा पनि पुन स्वयं फिरौती माग्नेजस्ता आपराधिक गतिविधिमा संलग्न थिए। पछि उनी माओवादीको वाईसीएलसँग नजिक भएका थिए। तिनै पुनले एक वर्षअघि युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए। शरदकुमार गौचन हत्यामा पनि मनोजकै हात रहेको खुलिसकेको छ। गत वर्ष भारतमा रहेको बताउने उनले अहिले आफू मलेसियामा रहेको बताइरहेका छन्। पहिले भारतीय अपराधी नेपाल आएर व्यक्तिहत्या गर्थे तर अहिले नेपालभित्रैका गुन्डा समूह भारत र अन्य देशमा लुकीछिपी बसेर हत्याकाण्ड मच्चाइरहेका छन्। यसबाट इन्टरपोलजस्तो विश्वव्यापी प्रहरी सञ्जाललाई हामीले उपयोग गर्नसमेत पछि परेको देखिन्छ।
अझ, पछिल्लो समयमा कसैको यस्ता हत्यापछि मिडिया र प्रहरीलाई फोन गरी घटना आफूले गरेको दाबी गर्ने प्रवृत्ति बढ्दो छ र त्यो डरलाग्दो छ। पहिले हत्याराकै पहिचान गर्न धेरै समय लाग्थ्यो अहिले अभियुक्तले नै राज्यको सुरक्षा संयन्त्रलाई खुला चुनौती दिँदै घटनाको जिम्मेवारी लिने विषय चानचुने होइन। त्यस्ता व्यक्तिलाई राज्यले कानुनी दायरामा समयमै ल्याउन नसक्दा पनि यस्ता घटना दोहोरिने गरेको छ। त्यस्तै, दक्षिणतर्फको खुला सिमानाको आडमा सहज रूपमा हतियार ल्याएर यता व्यक्तिको हत्या गरेर फेरि दक्षिणतर्फ भाग्ने अपराधीलाई सहज र सुरक्षा निकायलाई चुनौती भएको छ।
प्रत्येक नागरिकको जिउधन सुरक्षा गर्नु राज्यको दायित्व हो। बन्दुकको बढ्दो पहुँचसँगै बढेका अपराध नियन्त्रण गर्ने क्रममा प्रहरीले केही पेसेवर अपराधीलाई पक्राउ पनि गरेको छ तर कतिपय त्यस्ता अपराधीले आफ्नो सञ्जाल जेलभित्रैबाट सञ्चालन गरिरहेको पनि खबर छ। जेलभित्रैबाट अपराध धन्दा सञ्चालन गर्दासमेत जेल प्रशासन, गृह मन्त्रालय र सरकार के रणनीति बनाइरहेको छ ? या केही पनि गरिरहेको छैन ? यसर्थ, उपलब्ध सबै प्रविधि प्रयोग गरेर कल गरिएको स्थान र व्यक्ति ट्र्याक गरी अपराधीसम्म पुग्ने गम्भीर प्रयासमा प्रहरी तत्काल लाग्नुपर्छ। सरकार र प्रहरी प्रशासन नागरिक सुरक्षामा चुक्नु हुँदैन।