कर्मचारी अभावमा स्थानीय तहका काम प्रभावित

कर्मचारी अभावमा स्थानीय तहका काम प्रभावित

ताप्लेजुङ : वडासचिव भानु श्रेष्ठले एक वर्षयता फक्ताङ्लुङ गाउँपालिकाका वडा नम्बर ६ र ७ को काम गरिरहेका छन्। यी वडामा ओलाङ्चुङ्गोला र लेलेप पर्छन्। एउटा वडा कार्यालयबाट अर्कोमा पुग्न तीन दिन लाग्छ। ठूलो क्षेत्र भएकाले दुई वडाको काम भ्याउन गाह्रो भइरहेको श्रेष्ठ बताउँछन्।

वडामा कर्मचारी नहुँदा स्थानीयवासीले सामान्य सिफारिस बनाउनै सास्ती बेहोर्नुपरिरहेको गाउँपालिका अध्यक्ष सरोज एभेङको भनाइ छ। यो गाउँपालिकामा एक महिनायता प्रमुख प्रशासकीय अधिकृतसमेत छैनन्। धमाधम योजना सम्झौता गरी विकासका काम गर्नुपर्ने बेला प्रशासकीय अधिकृत नहुँदा काम ठप्प भएको एभेङ बताउँछन्।

फक्ताङ्लुङ गाउँपालिका मात्र होइन, जिल्लाका सबै स्थानीय तहमा कर्मचारी अभाव छ। यहाँका ६१ मध्ये ३० वडामा वडासचिव नहुँदा सेवाग्राहीले सुविधा पाएका छैनन्। ६ वडा रहेको याङ्वरक गाउँपालिकामा दुई जना मात्र वडासचिव छन्। एक जना सचिवले तीनवटा वडाको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रमेश राई बताउँछन्। मैवाखोलाका वडा पनि तीन सचिवले धानिरहेका छन्। मिक्वाखोलामा दुई जना सचिवले धानिरहेको गाउँपालिका अध्यक्ष रामकुमार साँवाको भनाइ छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्लाबाट सरुवा गर्ने तर त्यस ठाउँमा कर्मचारी नपठाउँदा स्थानीय तह कर्मचारीविहीन भएको जिल्ला समन्वय अधिकारी नरहरि भण्डारीको भनाइ छ। ‘फागुनमा म यहाँ सरुवा भएर आउँदा ४९ जना सचिव थिए’, उनी भन्छन्, ‘त्यसयता नौ महिनामा १९ जनाको सरुवा भयो।’

उनका अनुसार वडामा सचिव नहुँदा पञ्जीकरण र सिफारिसका कामबाहेक योजना सर्भे, डिजाइन स्टिमेट, मूल्यांकनसमेत प्रभावित बनेका छन्। ‘मन्त्रालयले व्यक्तिको सुविधालाई मात्र हेर्‍यो, नागरिकको सुविधालाई हेरेन’, उनी भन्छन्। ‘दुर्गमका जनता राज्यबाट हेपिँदै आएका छन्’, फक्ताङ्लुङका अध्यक्ष लिम्बू भन्छन्, ‘सरुवा गर्न जन्नेले त्यो ठाउँमा पठाउन पनि जान्नुपर्छ।’

जिसस अधिकारी भण्डारीका अनुसार मन्त्रालयले कर्मचारी विवरण पठाउन जिल्लालाई निर्देशन दिने गरेको छ। यहाँबाट कर्मचारी अभाव रहेको विवरण तीनपटक पठाएर उपलब्ध गराइदिन अनुरोध गरे पनि सुनुवाइ नभएको उनी सुनाउँछन्।

कर्मचारी अभाव भएपछि कतिपय ठाउँमा प्राविधिक र कार्यालय सहयोगीका भरमा वडाको काम चलिरहेको छ। आफ्नो वडा कार्यालयमा एक महिनायता सहयोगी मात्र रहेको सिरिजंगा-३ का वडाध्यक्ष सन्तोष चाम्लिङ बताउँछन्।

फुङ्लिङ नगरपालिकामा पनि तीन वडा सचिवविहीन छन्। सुरुदेखि नै कार्यालय व्यवस्थापनको कामसमेत गर्न नसकेको वडाध्यक्ष मोहन न्यौपाने बताउँछन्। ‘बजार क्षेत्रसमेत पर्ने भएकाले दैनिक १० जनासम्म सिफारिस लिन आउँछन्’, उनी भन्छन्, ‘जनशक्ति नभएसम्म काम गर्न सकिँदो रहेनछ।’

गाउँपालिकामा प्राविधिकतर्फका कर्मचारीसमेत पूरा छैनन्। एक इन्जिनियर र दुई सब-इन्जिनियरको दरबन्दी भए पनि आठवटै गाउँपालिकामा कर्मचारी छैनन्। गाउँपालिकाले करारमा इन्जिनियर नियुक्त गर्न आवेदन खुलाए पनि कोही आवेदन दिन आएका छैनन्। दुईपटक आवेदन खुलाउँदा पनि आवेदन दिन कोही नआएको सिरिजंगा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ बताउँछन्। उनका अनुसार प्राविधिक नहुँदा विकासका योजना सम्झौता र अनुगमन प्रभावित भएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.