सांसद यादवले वितरण गरे कम्बल
बर्दिबास : महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद डा.सुरेन्द्र यादवले शीतलहरबाट प्रभावितलाई कम्बल वितरण गरेका छन्।निर्वाचितपश्चात घरदैलो सकेर काठमाडौं गएका यादव तराईमा चिसोसँगै शीतलहर चलेपछि फर्केर आफ्नो क्षेत्रमा कष्टकर जीवन विताइरहेका शीतलहर पीडितलाई दुई सय कम्बल वितरण गरेका हुन्।
संघीय समाजवादी फोरमबाट निर्वाचित डा.यादवले दुई सयभन्दा बढी न्यानो कम्बल वितरण गरेका छन्। सम्सी गाउँपालिका —२ पर्साको मदरसाका विद्यार्थीलाई ६० थान, पर्साका वृद्धवृद्धालाई १९ थान, सम्सी माविमा १५ थान कम्बल प्रदान गरेका छन्।
त्यस्तै सोनमा गाउँपालिकामा चलिरहेको विष्णुमहायज्ञमा ५० थान र सोनमा गाउँपालिकाका वयोवृद्धका लागि वितरण गर्न ५० थान कम्बल गाउँपालिका अध्यक्ष राजकुमार यादवलाई प्रदान गरेका छन्। त्यस्तै सम्सी गाउँपालिकाको गैढाभेटपुरका तीनवटा टोलमा वयोवृद्धलाई ४५ थान कम्बल वितरण गरिएको संसदले जनाए।