फुटसलको उपाधी ज्वालामुखी युथ क्लबलाई
धादिङ : धादिबेसीमा जारी प्रथम धादिङ फुटसलको उपाधी ज्वालामुखी युथ क्लबले हात पारेको छ। फाइलनमा बासु स्मृती प्रतिष्ठान सुनौलाबजारलाइ ५ गोलअन्तरले हराउँदै ज्वालामुखीले उपाधि उचालेको हो। निर्धारित १ घण्टा समयको खेलमा ज्वालामुखीले ९ गोल गरेको थियो भने सुनौलाबजारले ४ गोल गरेको थियो।
बिजेताले ३५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपबिजेता सुनौलाबजारले नगद २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।गत शुक्रवारदेखि जारी प्रतियोगीतामा धादिङ जिल्लाभरका कुल १६ टिमको सहभागीता रहेको थियो। प्रतियोगीता भर उत्कृष्ठ खेल प्रदर्शन गर्ने सुनौलाबजारका सुरेन गुरुङ उत्कृष्ठ खेलाडी भए भने ज्वालामुखीका अनिल शाही ठकुरी उत्कृष्ट गोलरक्षक चयन भए।
ठकुरी र गुरुङ दुवैले नगद ३ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाए। प्रतियोगीतामै भाग लिएका धादिङका क्रियाशिल संचारकर्मीको टोली भने क्वाटरफाइनलबाटै बाहिरिएको थियो। सदरमुकाम धादिङबेसीमा खेलकुद गतिविधि शुन्यजस्तै भइरहेको अवस्थामा फाइनल खेल हेर्न उल्लेख्य दर्शको सहभागीता रहेको थियो।
सदरमुकाममा आउटडोर खेल संचालन गर्नको लागि योग्य खेलमैदानको अभावमा खेलकुद गतिविधि नगन्य मात्रामा हुने गरेका छन् भने जिल्ला खेलकुद विकास समितिले बल्लतल्ल बनाएको सेमी कभर्डहलमा समेत तेक्वान्दो कराते र ब्याडमिन्टर समय मिलाएर पालैपालो खेल्ने गरेका छन्। फुटसलको उपाधी र पुरस्कार वितरण कार्यक्रममा बोल्दै धादिङ फुटसल एकेडेमीका संचालक गोपीकृष्ण भण्डारीले सरकारी तवरबाटै खेल क्षेत्रको विकासको लागि पहल गर्नुपर्ने बताए।
धादिङमा फुटबल र फुटसल खेलाडी पनि राम्रा रहेकाले खेल खेल्ने अवसर नपाएरै प्रतिभाहरु हराइरहेकोले गर्दा खेलाडीको हौसला बढाउन र प्रतिभा देखाउनको लागि पर्याप्त मात्रामा खेलमैदान बनाउनुपर्ने तथा समय समयमा सरकारी तवरबाटै प्रतियोगीता संचालन गर्नुपर्नेमा जोड दिए।यसैबीच धादिङबेसीमा तेक्वान्दो खेलाडीको लागि १ हप्ते प्रशिक्षण सुरु भएको छ। कोरियाबाट आएका प्रशिक्षकले धादिङमा तेक्वान्दो खेलिरहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिने धादिङ तेक्वान्दो संघले जानकारी दिएको छ।