अमेरिकामा फुटबल कला तिखार्दै प्रदीप

अमेरिकामा फुटबल कला तिखार्दै प्रदीप

काठमाडौं : सुरुमा विद्यार्थी राजनीतिमा सक्रिय रहँदा प्रदीप हुमागाईंले कहिल्यै सोचेका थिएनन् रे, कुनै दिन फुटबलमा जम्छु भनेर । तर, हुमागाईंले लहैलहैमा सिकेको फुटबल खेलले उनलाई अहिले गतिलै सन्तुष्टि दिएको छ । दुई महिनाअघि मात्र विश्व फुटबल महासंघ (फिफा)को ‘ए’ लाइसन्स प्रशिक्षण कोर्स उत्तीर्ण गरेका हुमागाईंं हाल अमेरिकामा फुटबलकै प्रशिक्षकमा सक्रिय छन् । हुमागाईंले अहिले अमेरिकास्थित पेन्सलभेनियाको किस्टोन एथलेटिक क्लबको जुनियर र यू–२३ महिला टोली समाल्दै आएका छन् ।

 स्कुल र कलेजमा फुटबल खेल्दै आएका हुमागाईंंले सुरुमा दुई वर्ष आरसीटीको जर्सीमा फुटबल खेले । हुमागाईंं विस्तारै खेलाडीभन्दा प्रशिक्षकमा जम्दै गए । उनले आरसीटी छाडेपछि काठमाडौं क्लबलाई चार वर्ष प्रशिक्षण दिए । प्रशिक्षककै रूपमा सन् २००४ देखि सन् २००७ सम्म हुमागाईंंले काठमाडौं शिक्षा कलेज र सन् २००८ देखि सन् २०१० सम्म त्रिभुवन विश्वविद्यालयको टिम पनि हेरे ।

 सन् २०११-१२ को सिजनमा हिमालयन शेर्पा क्लबको प्रशिक्षक बनेपछि हुमागाईंंको प्रशिक्षण कलामा थप निखार आउन सुरु भयो । हिमालयन शेर्पा क्लब समाल्दाको आत्मविश्वासलाई उनले नेपालको चर्चित क्लब थ्रीस्टारमा गएर यथार्थमा परिणत गरे । सन् २०१२÷१३ को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टारलाई च्याम्पियन बनाएपछि हुमागाईंको फुटबल प्रशिक्षणको बाटो साधारण सडकबाट हाइवेमा मोडियो । हुमागाईं फुटबल वृत्तमा एकाएक चर्चित बने । उनको प्रशिक्षण यात्रा थप फराकिलो बन्दै गयो ।

 हुमागाईं नेपाली फुटबलमा शिक्षित प्रशिक्षकको हिसाबले पनि उत्तिकै परिचित रहे । मानविकी संकायको समाजशास्त्र र शिक्षा संकायको स्वास्थ्य विषयमा दुईवटा स्नातकोत्तर गरेका हुमागाईंको फुटबल प्रशिक्षकको स्वरूप अझ बृहत् बन्दै गयो । उनले सन् २०१२ र सन् २०१३ को सिजनमा पे्रसिडेन्ट कप, नर्वे कप र अल इन्डिया गभर्नस गोल्ड कपमा नेपाली टोलीको प्रशिक्षण सम्हाले । उनको प्रशिक्षणमा नेपाली टोलीको प्रदर्शन पनि उत्कृष्ट रह्यो ।

 हुमागाईंको यिनै उपलब्धिलाई राम्रोसँग नियालेका नेपाली राष्ट्रिय टोलीका तत्कालीन सहायक प्रशिक्षक रिचर्ड ओर्लोस्कीको नजरमा परेका उनको प्रशिक्षण कला अहिले अमेरिकामा विस्तार भएको छ । रिचर्डको सहयोगमा सन् २०१४ देखि किस्टोन एथलेटिक क्लब सम्हाल्दै आएका हुमागाईंले अघिल्लो सिजन क्लबलाई यू–१८ पोकोनो कप फुटबलको उपाधि दिलाए । पोकोनो कप अमेरिकी फुटबल संघले ‘स्टेट डेभलप्मेन्ट प्रोग्राम’ अन्तर्गत आयोजना गर्ने गर्छ ।

 अमेरिकामा फुटबल प्रशिक्षकको रूपमा आफूलाई तिखारिरहेका हुमागाईंले नेपालमा आफ्नो फुटबल करिअरलाई समेत माथि पु¥याएका छन् । फिफा र एएफसीको सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले हालै काठमाडौंमा आयोजना गरेको एएफसी ‘ए’ लेभल कोचिङ कोर्समा हुमागाईं सर्वोत्कृष्ट बने। एक महिनासम्म चलेको उक्त कोर्समा सहभागी २१ जना पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षकलाई पछि पार्दै उनी पहिलो भएका थिए ।

 एन्फाले नेपालमा ‘ए’ लेभल कोचिङ कोर्स सञ्चानल गरेको दोस्रोपटक थियो । अघिल्लो वर्ष पूर्वअन्तर्राष्ट्रिय खेलाडी कुमार थापा पहिलो भएका थिए । फिफाको नियमअनुसार ‘ए’ लेभल प्रशिक्षण कोर्स पूरा गरेपछि संसारभर फुटबल प्रशिक्षण दिन पाउने नियम छ । लगातारको मिहिनेतका कारण आफूले हरेक स्टेपमा सफलता पाएकोमा अहिले हुमागाईं दंग छन् ।

 ‘फुटबलमा लागेपछि मैले आफूलाई पछाडि फर्केर हेर्नु परेको छैन । म खेलाडीको रूपमा धेरै सक्रिय बन्न सकिनँ । तर, त्यस भोकलाई म प्रशिक्षकको रूपमा मेट्ने प्रयत्न गर्दैछु । नेपालमा सी, बी र ए लेभल कोर्स पूरा गर्न एन्फाले मलाई ठूलो स्थान दियो । अमेरिकामा मैले नेपालमै सिकेको कलालाई थप निखारता ल्याउँदै आएको छु । यहाँको क्लब र खेलाडीलाई सन्तुष्ट पारेको छु’, ३६ वर्षीय हुमागाईंले अनलाइन सम्पर्कमा भने । हुमागाईंले आफू प्रशिक्षकको रूपमा अझै खारिएर नेपाल फर्कने प्रतिबद्धतासमेत जनाएका छन् । ‘म जहाँ भए पनि फुटबलबाट टाढा रहन सक्दिनँ । मेरो नशानशामा फुटबल छ’, उनले भने, ‘अमेरिकी फुटबलको स्तर नेपालको भन्दा धेरै माथि छ, यहाँ सिकेको सीपलाई भविष्यमा नेपाली फुटबलमा लगाउनेछु ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.