माओवादी संगठन अद्यावधिक गर्दै

माओवादी संगठन अद्यावधिक गर्दै

काठमाडौं : माओवादी केन्द्रले पार्टीका नेताकार्यकर्ताको अद्यावधिक तथ्यांक राख्न सुरु गरेको छ। पार्र्टीको सर्वोच्च निकाय ‘हेर्डक्वार्टर' देखि स्थानीय गाउँ कमिटीसम्म एकताका नाममा ‘भद्रगोल' हुन थालेकाले नेताकार्यकर्ता र संगठनको अवस्था अद्यावधिक तथ्यांक राख्न थालिएको हो।

संगठन विभाग प्रमुख रामबहादुर थापा बादल नेतृत्वको समितिले अहिले संगठनात्मक व्यवस्थापनका लागि तथ्यांक अद्यावधिक गर्न थालेको माओवादीले जनाएको छ। १९ पुसमा माओवादी केन्द्रको हेडक्वार्टरको विस्तारित बैठकले संगठनात्मक व्यवस्थापन गर्न नेता थापाको संयोजकत्वमा संगठन व्यवस्थापन समिति गठन गरेको थियो।

समितिमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, सावित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनील मानन्धर सदस्य छन्। समितिको आइतबार बसेको बैठकले सात वटै प्रदेशबाट तथ्यांक संकलन गर्न नेताहरूको कार्यविभाजन गरेको छ। समितिले केन्द्रदेखि स्थानीयसम्म कमिटीको आकार (संख्या), नेताकार्यकर्ता जिम्मेवारी, दोहोरो भूमिकालगायत सबै तथ्यांक संकलन गरी प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउने छ।

०७३ जेठ मा विभाजित पार्टीका विभिन्न घटकसँग एकतापछि माओवादीको संगठनात्मक संरचना अस्तव्यस्त थियो। पार्टीको सबैभन्दा माथिल्लो निकाय केन्द्रीय समितिकै कति नेता अहिले कुन अवस्थामा छन् नेतृत्वलाई नै जानकारी छैन। केन्द्रदेखि जिल्लास्तरसम्म कहाँ कति संख्याको कमिटीसम्बन्धी तथ्यांक पनि केन्द्रीय कार्यालयसँग छैन। भद्दा र ठूलो संगठनात्मक संरचनामा जेलिएकाले केन्द्रीय कार्यालयमा पार्टी सदस्य संख्या, कमिटी, नेताहरूको जिम्मेवारी केही पनि अद्यावधिक छैन। एमालेसँग पार्टी एकता प्रक्रिया र आफ्नै पार्टीको संगठनात्मक संरचना प्रभावकारी बनाउन पनि अद्यावधिक तथ्यांक उपयोगी हुने भएकाले काम सुरु गरेको समिति तथा सचिवालय सदस्य लेखराज भट्टले जानकारी दिए।

‘पार्टी एकतामा आएका र त्यस क्रममा भएका संगठनात्मक निर्णय व्यवस्थित र अद्यावधिक थिएनन्', भट्टले भने, ‘तिनलाई व्यवस्थित गर्न र पार्टी सदस्य र कमिटीसम्बन्धी तथ्यांक चुस्तदुरुस्त पार्ने काम सुरु भएको छ।' माओवादीको पार्टी सदस्य साढे ३ लाखभन्दा बढी रहेको अनुमान छ। तथ्यांक संकलन गर्न समितिका सदस्यलाई प्रदेश स्तरबाटै कार्यविभाजन गरेर परिचालन गरिएको छ। एक साताभित्रै काम सक्ने गरी द्रुत गतिमा काम भइरहेको भट्टले बताए। प्रदेश १ मा काफ्ले, प्रदेश २ मा यादव, प्रदेश ३ मा पोखरेल, प्रदेश ४ र ५ मा रायमाझी, प्रदेश ६ मा बस्नेत र प्रदेश ७ मा भट्टलाई जिम्मेवारी दिइएको छ।

‘संगठनात्मक संरचनाको तथ्यांक संकलन गर्न कार्यदलको बैठक बसेर नेताको जिम्मेवारी बाँडफाँट गरिरहेका छौं, त्यसैअनुसार काम अघि बढिसकेको छ', भट्टले भने। कार्यदलमा अहिलेसम्म भएका प्रगति र थप योजना निर्माण गर्न सोमबार अर्को बैठक बस्दै छ। कार्यदलका सदस्य सुनील मानन्धरले ३ तहमा संगठनात्मक संरचना अद्यावधिक गरिने बताए। उनका अनुसार पहिलो चरणमा नेता रामबहादुर थापालगायत १० माओवादी घटकको एकतापछि कमिटीको अवस्था, जिम्मेवारीलगायत पहिलो तथ्यांक संकलन हुनेछ। समितिले त्यसपछि पार्टी एकतामा आएका नेताकार्यकर्ताको जिम्मेवारी दोस्रो चरणमा अध्ययन गरिने र तेस्रो चरणमा एमालेसँग एकता गर्दा पार्टी कमिटीको तथ्यांक राख्ने छ।

माओवादीमा नेकपा संयुक्त, देवेन्द्र पौडेललगायत नयाँ शक्तिका नेतादेखि अन्य नेता आएपछि कमिटी भद्रगोल छ। पार्टी मूल नेतृत्वले कुनै कमिटीमा निर्णय नगरि जथाभावी जिम्मेवारी दिएपछि कुन नेताले कुन जिम्मेवारी पाए, कति नेता कार्यकर्ता जिम्मेवारीबाट विमुख भए माओवादीसँग कुनै अभिलेख छैन। मोटामोटी तथ्यांक तयार भएपछि संगठन परिचालन र जिम्मेवारी व्यवस्थित गर्न सहज हुने मानन्धरले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.