अमेरिकामा फुटबल कला तिखार्दै हुमागाईं
काठमाडौ : सुरुमा विद्यार्थी राजनीतिमा सक्रिय रहँदा प्रदीप हुमागाईंले कहिल्यै सोचेका थिएनन् रे, कुनै दिन फुटबलमा जम्छु भनेर। तर, हुमागाईले लहैलहैमा सिकेको फुटबल खेलले उनलाई अहिले गतिलै सन्तुष्टि दिएको छ। दुई महिनाअघि मात्र विश्व फुटबल महासघ (फिफा)को ‘ए’ लाइसन्स प्रशिक्षण कोर्स उत्तीर्ण गरेका हुमागाईंहाल अमेरिकामा फुटबलकै प्रशिक्षकमा सक्रिय छन्। हुमागाईले अहिले अमेरिकास्थित पेन्सलभेनियाको किस्टोन एथलेटिक क्लबको जुनियर र यू-२३ महिला टोली समाल्दै आएका छन्।
स्कुल र कलेजमा फुटबल खेल्दै आएका हुमागाईले सुरुमा दुई वर्ष आरसीटीको जर्सीमा फुटबल खेले। हुमागाईंविस्तारै खेलाडीभन्दा प्रशिक्षकमा जम्दै गए। उनले आरसीटी छाडेपछि काठमाडौ क्लबलाई चार वर्ष प्रशिक्षण दिए। प्रशिक्षककै रूपमा सन् २००४ देखि सन् २००७ सम्म हुमागाईले काठमाडौ शिक्षा कलेज र सन् २००८ देखि सन् २०१० सम्म त्रिभुवन विश्वविद्यालयको टिम पनि हेरे।
सन् २०११÷१२ को सिजनमा हिमालयन शेर्पा क्लबको प्रशिक्षक बनेपछि हुमागाईको प्रशिक्षण कलामा थप निखार आउन सुरु भयो। हिमालयन शेर्पा क्लब समाल्दाको आत्मविश्वासलाई उनले नेपालको चर्चित क्लब थ्रीस्टारमा गएर यथार्थमा परिणत गरे। सन् २०१२÷१३ को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टारलाई च्याम्पियन बनाएपछि हुमागाईको फुटबल प्रशिक्षणको बाटो साधारण सडकबाट हाइवेमा मोडियो। हुमागाईंफुटबल वृत्तमा एकाएक चर्चित बने। उनको प्रशिक्षण यात्रा थप फराकिलो बन्दै गयो।
हुमागाईंनेपाली फुटबलमा शिक्षित प्रशिक्षकको हिसाबले पनि उत्तिकै परिचित रहे। मानविकी सकायको समाजशास्त्र र शिक्षा सकायको स्वास्थ्य विषयमा दुईवटा स्नातकोत्तर गरेका हुमागाईको फुटबल प्रशिक्षकको स्वरूप अझ बृहत् बन्दै गयो। उनले सन् २०१२ र सन् २०१३ को सिजनमा पे्रसिडेन्ट कप, नर्वे कप र अल इन्डिया गभर्नस गोल्ड कपमा नेपाली टोलीको प्रशिक्षण सम्हाले। उनको प्रशिक्षणमा नेपाली टोलीको प्रदर्शन पनि उत्कृष्ट रह्यो।
हुमागाईको यिनै उपलब्धिलाई राम्रोसँग नियालेका नेपाली राष्ट्रिय टोलीका तत्कालीन सहायक प्रशिक्षक रिचर्ड ओर्लोस्कीको नजरमा परेका उनको प्रशिक्षण कला अहिले अमेरिकामा विस्तार भएको छ। रिचर्डको सहयोगमा सन् २०१४ देखि किस्टोन एथलेटिक क्लब सम्हाल्दै आएका हुमागाईले अघिल्लो सिजन क्लबलाई यू-१८ पोकोनो कप फुटबलको उपाधि दिलाए। पोकोनो कप अमेरिकी फुटबल सघले ‘स्टेट डेभलप्मेन्ट प्रोग्राम’ अन्तर्गत आयोजना गर्ने गर्छ।
अमेरिकामा फुटबल प्रशिक्षकको रूपमा आफूलाई तिखारिरहेका हुमागाईले नेपालमा आफ्नो फुटबल करिअरलाई समेत माथि पुर्याएका छन्। फिफा र एएफसीको सहयोगमा अखिल नेपाल फुटबल सघ (एन्फा)ले हालै काठमाडौमा आयोजना गरेको एएफसी ‘ए’ लेभल कोचिङ कोर्समा हुमागाईंसर्वोत्कृष्ट बने। एक महिनासम्म चलेको उक्त कोर्समा सहभागी २१ जना पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षकलाई पछि पार्दै उनी पहिलो भएका थिए।
एन्फाले नेपालमा ‘ए’ लेभल कोचिङ कोर्स सञ्चानल गरेको दोस्रोपटक थियो। अघिल्लो वर्ष पूर्वअन्तर्राष्ट्रिय खेलाडी कुमार थापा पहिलो भएका थिए। फिफाको नियमअनुसार ‘ए’ लेभल प्रशिक्षण कोर्स पूरा गरेपछि ससारभर फुटबल प्रशिक्षण दिन पाउने नियम छ। लगातारको मिहिनेतका कारण आफूले हरेक स्टेपमा सफलता पाएकोमा अहिले हुमागाईंदग छन्।
‘फुटबलमा लागेपछि मैले आफूलाई पछाडि फर्केर हेर्नु परेको छैन। म खेलाडीको रूपमा धेरै सक्रिय बन्न सकिनँ। तर, त्यस भोकलाई म प्रशिक्षकको रूपमा मेट्ने प्रयत्न गर्दैछु। नेपालमा सी, बी र ए लेभल कोर्स पूरा गर्न एन्फाले मलाई ठूलो स्थान दियो। अमेरिकामा मैले नेपालमै सिकेको कलालाई थप निखारता ल्याउँदै आएको छु। यहाँको क्लब र खेलाडीलाई सन्तुष्ट पारेको छु’, ३६ वर्षीय हुमागाईले अनलाइन सम्पर्कमा भने। हुमागाईले आफू प्रशिक्षकको रूपमा अझै खारिएर नेपाल फर्कने प्रतिबद्धतासमेत जनाएका छन्। ‘म जहाँ भए पनि फुटबलबाट टाढा रहन सक्दिनँ। मेरो नशानशामा फुटबल छ’, उनले भने, ‘अमेरिकी फुटबलको स्तर नेपालको भन्दा धेरै माथि छ, यहाँ सिकेको सीपलाई भविष्यमा नेपाली फुटबलमा लगाउनेछु।’