आर्मी र एपीएफ विजयी
काठमाडौ : विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले १६औ राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत सुपर लिगमा सफलता हात पारेका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको सुपरलिगको पहिलो खेलमा आर्मीले विभागीय अर्को टोली नेपाल पुलिस क्लबलाई ४-१ गोलले हरायो। पुलिविरुद्ध सशक्त खेल खेलेको आर्मीको जितमा कृष्णा कार्की र अञ्जली वाइवाले दुईदुई गोल गरे। अञ्जलीले २०औ र ५७औ तथा कृष्णाले ७०औ र ७५औ मिनेटमा गोल गरेका थिए। पुलिसका लागि घिमकुमारी गुरुङले २९औ मिनेटमा गोल गरेकी थिइन्।
खेलपछि आर्मीका प्रशिक्षक आदर्श मल्लले पुलिससँग खेलाडीले उत्कृष्ट खेल खेलेको बताए। ‘पुलिस बलियो टोली हो। आज खेलाडीले सोचेको भन्दा धेरै उत्कृष्ट खेल खेले,’ मल्लले भने। पुलिसका प्रशिक्षक सञ्जीव जोशीले पुलिसको रक्षापक्ति कमजोर रहेको प्रतिक्रिया दिए। खेलाडीले प्लानअनुसार खेल्न नसक्दा आर्मीको दबाब झेल्यौ, जोशीले भने।
यसैगरी सुपरलिगको अर्को खेलमा एपीएफ क्लबले सुदूरपश्चिमाञ्चललाई ९-० गोलले हरायो। एकपक्षीय खेलमा एपीएफका लागि सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक पूरा गरिन्। भण्डारीले १८औ, ४९औ, ७३औ, ७६औ, ८४औ र ९०औ मिनेटमा गोल गरेकी थिइन्। भण्डारीले पछिल्लो दुई गोल पेनाल्टीमार्फत गरेकी थिइन्। अनिता बस्नेतले ५६औ र ६० औ मिनेटमा दुई गोल गरिन्। अर्को गोल रेखा पौडेलले दोस्रो हाफको इन्जुरी समयमा थपेकी थिइन्। खेलभर बलियो एपीएफको दबाब झेलेको सुदूरले गोल गर्न लायक अवसर बनाउन सकेन। राखेप च्याम्पियनसिपअन्तर्गत अखिल नेपाल फुटबल सघ (एन्फा) ले सञ्चालन गरेको लिगमा तीन विभागीय टोली र पाँच विकास क्षेत्र गरी आठ टोलीले भाग लिएका थिए। लिगको विजेता टोलीले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।