‘आख्यान मात्रै बिक्ने कुरो कुन ढुंगामा खोपिएको छ ?’

‘आख्यान मात्रै बिक्ने कुरो कुन ढुंगामा खोपिएको छ ?’

नाम एक शब्दको भए पनि यज्ञशको बहुपरिचय छ- लेखक, पत्रकार, फिल्म समीक्षक, अनुवादक, ‘विकेन्ड एडिटर’। आख्यानकार नारायण ढकालका शब्दमा ‘यज्ञशजत्तिको ‘सेन्स’ भएको ‘विकेन्ड एडिटर’ नेपालमा मैले अर्को भेटेको छैन।’ हिन्दी कथाकार उदय प्रकाशका ‘मोहनदास’ र ‘नेल कटर’लाई नेपालीमा अनुवाद गरेका उनको भर्खरै गैरआख्यानात्मक किताब ‘भुइँया’ बजारमा आएको छ। उनीसँग ‘सम्पूर्ण’का लागि दीपक सापकोटाले विविध विषयमा कुराकानी गरेका छन्।

लामो समय ‘विकेन्ड एडिटर’का रूपमा काम गर्नुभयो। थुप्रै लेखकले तपाईंलाई कुशल ‘विकेन्ड एडिटर’का रूपमा सह्राएका छन्। राम्रो सप्ताहान्त सम्पादकमा हुनुपर्ने गुण के-के हुन् ?

मैले ‘नयाँ पत्रिका’को ‘झन् नयाँ’ मा केही महिना र कान्तिपुरको कोसेलीमा छ÷सात वर्ष शनिबारे परिशिष्टको संयोजकका रूपमा काम गरेँ। यसरी काम गर्दा न मसँग कुनै सूत्र थियो न अहिले छ। आफूले पढेका, थाहा पाएका कुरा र चाहेर पनि पढ्न नपाएका कुराहरू खोजेर तिनको मिश्रण गरेर मैले परिशिष्टको संयोजन गर्ने गर्थें। आफूलाई मन परेको कुरा पत्रिकामा दियो भने सायद पाठकलाई पनि त्यो मन पर्छ। किनभने, संयोजक पनि आफैँमा एउटा गम्भीर पाठक हो। आफूलाई पढ्दा जुनले बढी छुन्छ, मन पर्छ, त्यसलाई प्राथमिकता दिने हो। दैनिक पत्रिकाका परिशिष्टमा चाहिँ त्यो साताको घटना वा त्यसबेलाको चर्चित विषय तथा व्यक्तिबारे ‘फिचर स्टोरी’ भयो भने त्यसले समय सान्दर्भिकता पनि बोक्छ भन्ने लाग्छ।

विकेन्डमा ‘इस्यू’ कसरी छान्नुहुन्छ ? बजारले जे माग्छ, त्यही दिने सिद्धान्तमा कि समाजलाई जे चाहिन्छ, त्यो दिने सिद्धान्तमा ?

शनिबारे परिशिष्टका मुख्य पाठक भनेका शहरमा बस्ने निम्न मध्यमवर्गीय कामकाजी मानिस हुन्। त्यस्तै लेखक, पत्रकार र साहित्यअनुरागी पनि यसका पाठक हुन्। यस्ता परिशिष्टलाई फुर्सदको समयमा, बिदामा, बिहानको चियासँग वा कतिपयले दिनभरिको काम सकेर राति आरामले पढ्ने गर्छन्। शहरिया मध्यम वर्ग र निम्न मध्यम वर्गमा अहिले सबभन्दा ठूलो कमी कुनै कुराको छ भने त्यो हो- फुर्सद, उब्रिएको समय। त्यो समय मान्छे परिवारलाई दिन चाहन्छ वा कतै घुम्न, बाहिर खान जान चाहन्छ।


यस्तो महत्वपूर्ण समय चोरेर पत्रिकाले पाठकलाई भुलाउने काम शनिबारे परिशिष्टबाट गरिरहेको हुन्छ। यसैले त्यो समय व्यर्थ गएको महसुस पाठकलाई हुन दिनु हुँदैन। बजारमा जे चलिरहेको छ, त्यो सबैले दिन सक्छन्। तर, पत्रिकालाई विशेष बनाउने हो भने त केही अलग र केही नयाँ कुरा दिनुपर्‍यो। मानिसहरूको चासो सधैं एउटै कुरामा नहुन सक्छ। आफ्ना लागि सबभन्दा बढी महत्व राख्ने कुरामा समेत मान्छेको चासो नहुनसक्छ। संसद्बाट पास भइरहेको कुनै विधेयकको सट्टा मान्छेलाई भर्खर रिलिज भएको नयाँ फिल्मबारे रुचि हुनसक्छ। यसैले पत्रिकाले मान्छेको रुचि र उनीहरूको भलाइ हुने दुवै कुराबारे ध्यान दिनुपर्छ। हामी अर्थतन्त्र वा विकास मोडलका स्टोरीहरूलाई प्राथमिकताका साथ छाप्थ्यौँ, जति प्राथमिकतामा कुमार नगरकोटीका ‘क्याजुअल’ लेख र किताब-फिल्म समीक्षाहरू छापिन्थ्यो।

देशमा दशैँमा सबै पत्रिकाले दशैँ विशेष सामग्री (मूलतः साहित्यकेन्द्रित भएर) प्रकाशन गर्छन्। यो दशैँलाई महत्व दिइएको हो कि साहित्यलाई ?

दशैँमा लामो बिदा हुने र मानिसहरूको मुड पनि ‘चंगा’ हुने ठानिएकाले विशेषांकका लागि यो समय छानिएको होला। दशैँमा नै निकाल्नुपर्छ भन्ने कुनै नियम त छैन। तर, यस्तै ठूलो संख्याका मानिसहरू ‘फेस्टिभ मुड’मा र फुर्सदमा हुने अरू समय पनि त छैन। सबैजसो पत्रिकाले एउटै समयमा विशेषांक निकाल्ने भएपछि दशैँले पनि महत्व त पायो नै। साहित्यलाई फुर्सदमा ‘मुड’ बनाएर पढ्ने चिज ठानिने भएकाले पनि दशैँमा नै सबैले निकाल्ने गरेका होलान्। साहित्य विशेष दशैँमा छाप्दा साहित्यलाई हानि नै त हुन्न होला।

राम्रो फिल्म समीक्षकका रूपमा चिनिनुहुन्छ, अहिलेको फिल्म समीक्षा टापटिपे र हावादारी छ भनिन्छ। तपाईंको टिप्पणी ?

निकै गम्भीर र लामा फिल्म समीक्षा वा समीक्षात्मक लेख दैनिक पत्रिकामा छाप्न असम्भव हुन्छ। पत्रिका वा अनलाइनमा छापिने समीक्षा भनेको पाठकलाई कुनै फिल्मबारे तत्कालै जानकारी दिने खालका मूलतः जानकारीमूलक हुन्। समीक्षा टापटिपे, हावादारी वा गम्भीर कस्तो भयो भन्ने समीक्षकमा भर पर्ने कुरा हो। आफ्नो विषयको राम्रो ज्ञान भएको मानिसले पक्कै राम्रै समीक्षा लेख्छ। हाम्रोमा सबैजसो फिल्म पत्रकार वा ‘रंगपत्रकार’ले समीक्षा लेख्दैनन्। जसले लेख्छन्, तिनले केही न केही मेहनत गरेको नै देखिन्छ।

yagyas-book

कसैले अलि पूर्वाग्रही भएर लेखेका होलान् तर मुख्य कुरा समीक्षकमा आलोचनात्मक चेत छ कि छैन, उसको लेखाइ र भाषा चोटिलो र शिष्ट छ कि छैन भन्ने हो। समीक्षा आफैँमा एउटा अलग विधा हो। कुनै समीक्षक वा पत्रकारले फिल्मको निर्माता÷निर्देशकका लागि समीक्षा लेख्ने होइन। उसले आफ्ना पाठकका लागि लेख्ने हो। हाम्रोमा अपुग भइरहेको चाहिँ गम्भीर र लामा समीक्षाहरूको हो। जसले एउटै फिल्म, एउटै विषय वा एउटै निर्देशकको काममाथि सांगोपांगो विश्लेषण गर्न सकोस्।

फिल्म समीक्षा र फिल्मको व्यापारको कस्तो सम्बन्ध हुन्छ ?

यी दुईका बीच धेरै नजिकको सम्बन्ध हुन्छ भन्ने मलाई लाग्दैन। कुनै प्रभावशाली मिडिया वा निकै सशक्त भनेर चिनिएको समीक्षकको समीक्षाले आफ्ना पाठकलाई प्रभाव पार्न सक्छन्। तर, ती सबै पाठक फिल्मका दर्शक हुन्छन् भन्ने ग्यारेन्टी हुँदैन। मेरो अनुभवमा नेपालमा फिल्म नहेर्ने धेरै पाठकले पनि फिल्म समीक्षा पढ्छन्। व्यापारमा ठूलो प्रभाव नभए पनि फिल्ममेकरको छवि निर्माण र उसका प्रयोगहरूको स्वीकार्यता बढाउन चाहिँ समीक्षाको ठूलो भूमिका हुनसक्छ। समीक्षाको सम्बन्ध कलासँग हुन्छ, व्यापारसँग होइन। जसले फिल्मको व्यापारलाई आधार बनाएर समीक्षा लेख्छ, त्यो व्यापार विश्लेषक हो, फिल्म वा कला समीक्षक होइन।

सधैँ तपाईंले ‘अफबिट’ फिल्मको प्रशंसा गर्नुभयो। ‘फिटकिरी’ फिल्म लेख्नुभयो। तर, त्यो मूलधारको भन्दा फरक त देखिएन नि ?

नेपाली मौलिकतासहितको आफ्नो दृश्य भाषाको निर्माण गर्ने फिल्म नै हामीलाई आवश्यक छ, जसले संसारमा नेपाली फिल्मको स्थान बनाउन सकोस्। यसमा मलाई कुनै दुविधा छैन। मैले लेखेको फिल्म त्यस्तो बन्न सकेन भने त्यो मेरै कमजोरी हो।

निर्देशक नवीन सुब्बा भन्छन्, ‘नाटकका कलाकारले फिल्म बिगारे।’ रंगकर्मी सुनील पोखरेल भन्छन्, ‘अहिलेका फिल्म नाटककै कलाकारले धानेका हुन्।’ समीक्षकका रूपमा यसमा तपाईंको के धारणा छ ?

अभिनयको सबै मर्म बुझ्न सक्ने मर्मज्ञ म होइन। यसैले रंगमञ्चका धुरन्धर र फिल्मका ज्ञानीका कुरालाई प्रमाणित वा खारेज गर्न सक्दिनँ। फेरि उहाँहरूका कुरा एकआपसमा बाझिएका होइनन्। सुनील पोखरेलले भनेझैँ अहिलेको फिल्म नाटकका कलाकारले धानेको प्रष्टै देखिन्छ। अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, दिया मास्के, अरुणा कार्की, प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ लगायतलाई निकाल्दिने हो भने नेपाली फिल्ममा ठूलो भ्वाङ पर्नेछ। जहाँसम्म नवीन सुब्बाको कुरा छ, उहाँको आशय फिल्मको अभिनय नाटकको भन्दा भिन्न हुनुपर्छ भन्ने हो। यदि त्यस्तो भइरहेको छैन भने त्यसमा जति कलाकार जिम्मेवार छन्, त्यति नै फिल्म निर्देशक पनि जिम्मेवार छन्।

भर्खरै तपाईंको गैरआख्यानात्मक किताब ‘भुइयाँ’ बजारमा आएको छ। यो किताब कसरी लेखियो, किन लेखियो ?

केही वर्षअघि पत्रिकामा एकजना पूर्वकमलरी भूमिहीन महिलाको कथा लेखेपछि समाजमा रहेका अन्य महिलाको पनि कथा लेख्ने विचार आएको हो। यसका लागि मैले पश्चिमी र पूर्वी नेपालका लामा यात्रा गरेँ, मानिसहरूलाई भेटेँ। मानिसहरूका कथा सुनेँ। अनि, ती कथाहरूलाई आफ्नो यात्रासँग जोडेर लेखेँ। यसले नेपालका विभिन्न सामाजिक आन्दोलनमा जोडिएका मानिसहरूको कथा भन्छ।

आख्यान लेखकहरूसँग तपाईंको बाक्लो सरसंगत छ। बजार पनि आख्यानमैत्री छ। तपाईं चाहिँ गैरआख्यानतिर आकृष्ट हुनुभयो। किन होला ?

संगतले नै हुने भए त साहित्यकारसँग संगत गर्ने सबै लेखक बन्थे नि। संगतले तपाईंको रुचिलाई परिष्कृत वा खराब बनाउन सक्छ, पूरै परिवर्तन गर्छ भन्ने मलाई लाग्छ। व्यक्तिका कर्ममा उसका आफ्ना रुचि र परिस्थितिको सबभन्दा ठूलो भूमिका हुन्छ। पत्रकारका रूपमा १५ वर्षजति काम गर्दा मैले थुप्रै साहित्य पढेँ, फिल्म हेरेँ। यी दुवै सृजनाका विधाप्रति मेरो प्रेम छ। कुनै दिन म यिनका ढोका ढकढक्याउन पुग्छु होला तर अहिलेलाई भने मलाई मान्छेका वास्तविक कथाहरूले नै बढी तानिरहेका छन्। यी मानिसका कथामा कल्पनाको जीवनभन्दा पनि बढी ‘फ्यान्टासी’ छन् भन्ने मलाई लाग्छ।

‘नन-फिक्सन’को बजार त्यति गतिलो छैन। ‘भुइयाँ’बाट के-कति अपेक्षा गर्नुभएको छ ?

बजारको कुनै निश्चित नियम हुँदैन। आख्यानजति सबै बिक्ने, गैरआख्यान जति नबिक्ने भन्ने कुरो कुन ढुंगामा खोपिएको छ ? मेरो काम ती मानिसहरूको कथालाई बाहिर ल्याउनु हो। त्यो राम्रो लागे धेरै पढिएला, नलागे म अर्को किताबमा अरू मेहनत गर्नेछु। यसका निर्णायक पाठक नै हुन्, म होइन। नन-फिक्सनका पनि आफ्नै पाठक छन्। पछिल्ला वर्षमा ‘प्रयोगशाला’, ‘चक्रव्यूहमा चन्द्रसूर्य’जस्ता खोजमूलक किताब र केही संस्मरणहरूको बिक्रीले उपन्यासमात्रै बिक्छ भन्ने कुरालाई गलत साबित गरिसकेका छन्। श्रवण मुकारुङ, मनु मञ्जिल, उपेन्द्र सुब्बा, रमेश क्षितिजजस्ता कविका कवितालाई पनि बजारले सहर्ष स्वीकार गरेको छ। बजारको ‘रेस्पोन्स’ जस्तो भए पनि म सन्तुष्ट हुन्छु। यी मानिसका कथा धेरैभन्दा धेरैले पढून् भन्ने चाहिँ मलाई छ।

आजको नेपालमा राष्ट्रप्रमुखलगायत महत्वपूर्ण पदमा महिला पुगेका छन्। अर्कोतिर, ‘भुइँया’मा तपाईंले समेटेका पार्वती राजी, चन्द्रेश्वरी सदा, गंगामाया बानियाँजस्ता दुःखी महिला सर्वत्र छन्। यो विरोधाभासलाई कसरी बयान गर्नुहुन्छ ?

राष्ट्रप्रमुख लगायतका पदमा महिला पुग्नु निश्चय पनि राम्रो कुरा हो। तर, प्रधानमन्त्रीजस्तो कार्यकारी पदमा भने अझै पनि महिला छैनन्। पार्वती राजी वा चन्दे्रश्वरी सदाको कुरा अहिलेको, आजको र एक पुस्ताको मात्रै कुरा होइन। यो धेरै वर्ष लगाएर निर्माण गरिएको कुरा हो। यो कुनै व्यक्ति, जाति वा लिंगको मात्र पनि कुरा होइन। यो न्याय र समान अवसरको कुरा हो, सत्ताको कुरा हो। यसैले यो एकैचोटि परिवर्तन भइहाल्न पनि सक्दैन। ठूला पदमा महिलाहरू पुग्नुमा धेरै महिलाहरूको वर्षौंको प्रयास र आन्दोलनको पनि भूमिका छ। दुःख भोगिरहेका, वर्षौं श्रम गरेर पनि भोकै भएका र आफ्नो अधिकार नपाएका मानिसहरूको स्थिति सुधार्ने प्रयास गरेको खण्डमा ठूलो पदमा पुग्नुको सार्थकता हुन्छ। ठूलो पदमा पुग्नेले ‘ठूलो पद’को पुरानै मान्यतालाई ग्रहण गरे भने चाहिँ जो पुगे पनि त्यसको अर्थ हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.