गरिबीको जाडो

गरिबीको जाडो

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि जाडो र शीतलहरका कारण देशभर दर्जनौं व्यक्तिको ज्यान गएको छ। यसले गरिबी र त्यसको व्यवस्थापन नेपाली समाजका लागि चुनौतीको विषय बनेको देखाउँछ। जाडोबाट तराई–मधेस बढी प्रभावित छ। शीतलहरसँगै चिसो हावाका कारण ज्यान गुमाउनेमा तराईका विपन्न छन्। नागरिक जाडोले भन्दा पनि गरिबीले मरिरहेका छन्। लगाउने बाक्लो लुगा र ओढ्ने/ओच्छ्याउने अभावमा सर्वसाधारणको ज्यान गएको छ। निर्माणको काममा खट्ने मजदुर, मिस्त्रिदेखि ठेला–रिक्सा चलाउने, भारी ओसार्ने र घुम्ती व्यापार गर्नेलगायत चिसोबाट बढी प्रभावित छन्। जाडोका कारण काम नपाएपछि दैनिक ज्यालादारी गर्ने मजदुर र श्रमिकको जीवन झनै कष्टकर बनेको छ। मान्छेको जीवन सहज बनाउन पालिएका गाईवस्तु र पशुपंक्षीको हालत पनि नाजुक छ।

जाडोका कारण खासगरी बालबालिका, बिरामी र वृद्धवृद्धा बढी प्रभावित छन्। पश्चिम नेपालको कन्चनपुरमा शीतलहरकै कारण स्कुलसमेत बन्द गरिएका छन्। चिसोकै कारण मौसमी रुघाखोकी, कोल्ड डायरिया, निमोनिया र ज्वरोले जनजीवन प्रभावित छ। न्यानो लुगा अभावमा जीवन संकटपूर्ण त छँदैछ, अज्ञानता, अशिक्षा र चिसो व्यवस्थापन गर्नेबारे सामान्य ज्ञानसमेत नहुँदा सर्वसाधारण झनै पीडित बनेका छन्। चिसोकै कारण मान्छे मरेका खबर सार्वजनिक भएपछि स्थानीय सरकार, केही सामाजिक तथा परोपकारी संस्थाले दुईचार ट्रक दाउरा र एकाध ठाउँमा कम्बल बाँडिरहेका छन्। तर यसले मात्र समस्या समाधान हुँदैन।

नागरिक मात्रै होइन, सरकार र प्रशासनलाई समेत भविष्यको चिन्ता र सरोकारभन्दा वर्तमानको व्यवस्थापन महŒवपूर्ण बन्ने गरेको छ। जाडोले मान्छे मरेपछि दुईचार ट्रक दाउरा प्रभावितस्थलमा पठाउनु मात्र समाधान होइन। जाडोयाममा शीतलहर र गर्मीयाममा लू खासगरी तराई–मधेसको कहर नै बनेको छ। एउटा कामयाव सरकारसँग गर्मीजन्य, बाढीजन्य र चिसोजन्य प्रकोपलाई स्थायी रूपमा व्यवस्थापन गर्ने सोच र संयन्त्र हुनुपर्छ, तर अहिलेसम्म त्यस्तो संयन्त्र निर्माण हुन सकेको छैन। स्थानीय सरकारलाई आर्थिकलगायतका थुप्रै अधिकारले सुसज्जित बनाइएको छ तर उसका प्रारम्भिक क्रियाकलापले सकारात्मक संकेत गरिरहेको छैन।

सरकारी व्यवस्थापनको असक्षमता आफ्नो ठाउँमा छ, जाडोमा अन्धविश्वास र अशिक्षाले पनि कतिपयको ज्यान गएको छ। चिसोले लत्रिएको बिरामीलाई धामीझाँक्री र झारफुक गर्ने प्रचलनले पनि मृतकको संख्या बढाएको छ। जाडोमा बन्दकोठामा आगो बालेर सुत्दा अक्सिजन अभावमा पनि कतिको ज्यान गएको छ। बाक्लो हुस्सुका कारण सडकमार्गमा समेत सवारी दुर्घटना भएका छन्। संसारका कतिपय देशमा वर्षको एकदुई महिना होइन, दुईचार महिनै तापक्रम शून्य डिग्री सेल्सियसबाट तल झरेको हुन्छ। तर पनि त्यहाँ जाडोले विरलै मान्छे मर्छन्। घरमा जाडोबाट बच्न ‘सेन्ट्रल हिटिङ सिस्टम’ जडान गरिएको हुन्छ। न्यानो लुगा, उचित भोजन र स्वास्थ्यबारेको सचेतताकै कारण उनीहरूले मर्नु पर्दैन।

हाम्रोमा भनेजस्तो भौतिक पूर्वाधार नभए पनि जाडोमा आफ्नै घरबारीमा उपलब्ध हुने अदुवा, लसुन, मरिच र टिमुरजस्ता औषधीय मसला हालेर चिया, कफी, खोले र सुप (सुरुवा) नियमित खाने हो भने जाडोकै कारण हुने मृत्युबाट बच्न सक्छौं। प्रभावितलाई दुःखमा साथ दिनु मानवीय धर्म हो। सम्भव भए नयाँ, नभए उपयोग गर्न मिल्ने लत्ताकपडा संकलन गरेर चिसोप्रभावित व्यक्ति र बस्तीमा पुर्‍याउनु हामी सबैको कर्तव्य हुन्छ। राज्यले आफ्नो नागरिकप्रतिको दायित्व पूरा गरी आमसर्वसाधारणमा यस्तो मानवीय भावनाको विकास गराउन पहल गर्नु आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.