थ्री स्टारको प्रभावशाली जित
धनगढी : करिब १४ महिनापछि फुटबलमा फर्किएको रुस्लान थ्री स्टार क्लबले ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ मा सुखद नतिजा निकालेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा थ्री स्टारले मोफसलको बलियो टोली झापा- ११ लाई ३-१ गोलले हरायो ।
थ्री स्टारको जितमा बुद्ध चेम्जोङले दुई तथा मार्टिन अजायीले एक गोल गरे । झापाका लागि कर्ण लिम्बूले सान्त्वना गोल फर्काएका थिए । खेलमा सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । सबै चार गोल पहिलो हाफको नौ मिनेटको अन्तरमा सम्भव भएको हो ।
थ्री स्टारले ३४औं मिनेटमा मार्टिन अजायीको गोलबाट सुरुआती अग्रता लिएको थियो । मार्टिनले गोलरक्षक किशोर गिरी अघि बढेको अवस्थामा सजिलै गोल गरेका थिए । त्यसपछि बुद्ध चेम्जोङले ३९औं मिनेटमा गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर बनाए । ४१औं मिनेटमा झापाका कर्ण लिम्बूले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । कर्णले गोल गरेको दुई मिनेटलगत्तै बुद्धले टोलीका लागि व्यक्तिगत दोस्रो गोल थप्दै खेललाई ३-१ को अवस्थामा पुर्याएका थिए ।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि सम्भव भएन । थ्री स्टारका बुद्ध चेम्जोङ म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जितसँगै थ्री स्टार प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारसँगको हारसँगै झापा पहिलो खेलबाटै बाहिरिएको छ । थ्री स्टारले अब सेमिफाइनल प्रवेशको लागि उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ ।
जितपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले १४ महिनापछिको डेब्यु म्याच सोचेअनुसारकै नतिजा आएको बताए । ‘थ्री स्टार आफ्नो पुरानै लयमा फर्किएको छ । सुरुमा टिम सेट गर्न गाह्रो भए पनि केही समय खेलेपछि गोल गर्न सफल भयौं । पहिलो हाफमा दुई गोलको अग्रता भएपछि दोस्रो हाफमा बचेर खेल्न रणनीति बनायौं,’ केसीले भने ।
झापाका प्रशिक्षक प्रवेश कटुवालले राम्रो खेल्दाखेल्दै साना गल्तीले हार खेपेको बताए । ‘हाम्रो सानो गल्तीको फाइदा उठाउँदै विपक्षीले गोल गरे । दोस्रो हाफमा धेरै गोल गर्ने मौका पायौं तर पनि गोल भएन,’ कटुवालले भने । प्रतियोगिताअन्तर्गत मंगलबार समूह ‘बी’ कै ड्रक स्टार भुटान र अग्नि रूपन्देही-११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ सय रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल हात पार्नेछ ।