'केसीका मागमा अदालत नभागोस्, छानबिन गरोस्'

'केसीका मागमा अदालत नभागोस्, छानबिन गरोस्'

काठमाडौं : चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा सुधारका विषय उठाएर यसअघि १३ पटक अनसन बसिसकेका डा. गोविन्द केसीलाई सोमबार अनसनस्थलबाटै पक्राउ गरिएपछि सर्वत्र विरोध भएको छ। १४ औँ अनसनका क्रममा उनलाई पक्राउ गरिएपछि सामाजिक सञ्जालबाट सुरु भएको विरोध मंगलबार सडकमा पनि देखिएको थियो। 

काठमाडौंको माइतीघरमा उनका समर्थक र सर्वसाधारणले मंगलबार बिहान उनको रिहाइको माग गर्दै प्रदर्शन गरे। उक्त प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि दलका नेताहरू र विभिन्न पेशा व्यवसायसँग सम्बद्ध व्यक्तिहरू सहभागी भए।

१४ औँ पटकको अनसन बसेको केही घण्टामै उनलाई पक्राउ गर्न सर्वोच्चले आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ गरी हाजिर गराउन आदेश दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

केसीका माग

डा. केसीले अनसन घोषणा गर्दै पाँचवटा माग राखेका छन्। प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनका क्रियाकलापमाथि छानबिन उनको पहिलो माग छ। उनले प्रधानन्यायधीश पराजुलीलाई 'भ्रष्ट' तथा 'माफिया' भनेका छन्।

'पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधान न्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस्', केसीको माग छ, 'तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानबिन र कारबाही गरियोस्।'

न्यायलय न्यायको किनबेच गर्ने भ्रष्ट र अपराधीहरूको संरक्षण गर्ने तथा इमान्दारहरूलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा रहेको केसीको आरोप छ। 'कानुन र विधिको शासन हावी हुनुपर्नेमा कानुनलाई निकृष्ट व्यक्तिगत स्वार्थ पूर्ति गर्ने माध्यम तथा आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाइएको' दावी गर्दै उनले भनेका छन्- 'न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको अब विकल्प छैन।' 'भ्रष्ट र अपराधीरूको पक्षमा फैसला भएर न्याय विक्री भइरहेको दुर्भाग्यपूर्ण अवस्था छर्लंग रहेको' केसीले उल्लेख गरेका छन्।

केसी पक्राउपछिका प्रतिक्रिया

हतार हतार अनसनस्थलबाटै केसीलाई पक्राउ गरिएपछि समाजिक सञ्जालमा नेपालको न्याय प्रणालीका बारेमा विभिन्न कोणबाट टिप्पणी भएका छन्। कतिपयले पटकपटक अनसन बसी राज्यसंयन्त्रलाई अनावश्यक दवाब दिएको भन्दै केसीको भूमिकामाथि नै शंका गरेका छन् भने कतिले उनलाई पूर्वाग्रह राखेर पक्राउ गरिएको भनेका छन्।

मंगलबार भएको प्रदर्शनमा कांग्रेस नेता गगन थापाले आफूलाई पनि अदालतको मानहानीमा मुद्दा चलाउन चुनौती दिए। 'श्रीमान् ! डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई लगाइयोस्। यो कुनै व्यक्तिसँग सम्बन्धित निजी विषय होइन, अदालतको सम्मान बढाउनका लागि हो।', उनले भने, 'तत्काल रिहा गरियोस्। उनका मागका बारेमा र अदालतका बारेमा उठाएका प्रश्नमा भाग्ने होइन, छानबिन होस्। दूधको दूध पानीको पानी छुट्याइयोस्।'

प्रदर्शनमा बोल्दै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले केसीलाई पक्राउ गर्नु निन्दनीय र लाजमर्दो विषय भएको टिप्पणी गरे। 'सरकारका लागि यो लाजमर्दो विषय हो। केसीलाई सक्दो छिटो रिहा गर्नुपर्छ', उनले भने, 'उनका गम्भीर आरोपका बारेमा छानबिन गर्नुपर्छ।'

नेपालमा न्यायालयदेखि हरेक संस्थामा राजनीतिकरण भएको तर्क गर्दै मिश्रले केसीका आरोपलाई अवहेलनाका रुपमा नभई उनको मनसाय हेरिनुपर्ने बताए। 'उहाँले अभिव्यक्ति दिँदा अलिकति आक्रोस मिसिएको छ तर उहाँको मनसाय हेर्नुपर्छ।'

जनताका पक्षमा आवाज उठाउने केसीजस्ता अभियन्तालाई सिध्याउन माफियाहरूले अवहेलना लगाएको कतिपयको शंका छ। जस्तो माओवादी केन्द्रका नेतासमेत रहेका पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यसलाई राज्यशक्तिको दुरुपयोग भनेका छन्। 

डा•गोविन्द केसीको रातारात गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादति हो।"अदालतको मानहानि"लाई सत्याग्रही बिरुद्ध हतियार बनाईनु नितान्त गलत छ।फेरि दोहोर्याएर भन्छु,अदालत"भगवान"होइन। राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो।त्यसको पनि परिणाम हो यो।सम्बन्धित सबैले बुझुन् ।

— NKShresthaPrakash (@nksthaprakash) January 9, 2018

यो देशमा खुलेआम गुन्डागर्दी गरेर पैसा असुल्ने अपराधीहरु माननीय भए । कुख्यात त्यस्ता गुन्डाहरुलाई प्रहरीले सुरक्षा दिएर स्यालुट हान्दैछ । यता, जनताको पक्षमा आवाज उठाउने ईमान्दार प्रा.डा. गोविन्द केसी गुरुहरु जेलमा बस्नु पर्ने दिन आयो । माफियाले ईमान्दारलाई सिध्याउने यसरी नै त हो !

— Rajendra Adhikari (@rajendradonpkr) January 9, 2018

श्रीमान्-हरुको न्याय: गोपाल खड्का, चुड़ामणि शर्माहरु जस्ता प्रमाणित भ्रस्टाचारीहरुलाई घरको बास; बृहत्तर सामूहिक हितका लागि लड्ने गोविन्द केसी जस्तालाई जेलको बास #IamwithDrKC

— Ajit Baral (@AjitBaral) January 9, 2018

निवर्तमान सभामुख ओनसरी घर्तीले डा. केसीका माग जायज रहेको भन्दै विधिसम्मत समाधान गर्नुपर्ने बताएकी छन्।

पदमा छँदा भनें पनि गरें पनि, आज पनि भन्छु, प्रयास गर्छु, #DrKC का माग ठिक छन्। यसलाई ठिक बिधिमा ढालेर समाधान गर्नुपर्छ ।

— Onasari Gharti (@OnasariGharti) January 9, 2018

विधिभन्दा व्यक्ति शक्तिशाली भएको टिप्पणी गर्दै कांग्रेस नेता विश्वप्रकाश शर्माले केसीका पक्षमा ऐक्यबद्धता जनाएका छन्।

नितिमाथि जब नियत हावी हुन्छ , तब यस्तो हुन्छ !
विधिभन्दा ब्यक्ति बलशाली जब हुन्छ,तब यस्तो हुन्छ !!

गोपाल श्रीमान् ! एउटा सन्त फकिरले न्यायालयको मर्यादा जोगाउं भन्यो त के आतंकवादी अपराधनै गर्‍यो ? pic.twitter.com/AicXh0i3QZ

— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 9, 2018

पहिले-पहिले अदालतको मानहानी मुद्वामा कसैलाई पनि रातारात पक्राउ गरेको कहिल्यै सुनेको थिइन। डा. गोबिन्द केसिको अभिव्यक्तिबाट अदालतको कस्तो मानहानी हुन पुगेछ श्रीमान? सरकारलाई थाहै नदिइकन उहाँलाई रातारात पक्राउ गर्नुपर्ने। जनता जान्न चाहन्छ।

— Dhan Raj Gurung (@dhanrgrg) January 9, 2018

डा. के सीसंग सिंहदरबार प्रहरी वृत्तमा! वहाँको मनोवल अत्यन्त उच्च छ! वहाँको साथमा सम्पूर्ण नेपाल र नेपाली छन्! सत्य र सत्ताको लडाइँमा तत्काल सत्ताले जिते पनि अन्तत: सत्यको जीत हुन्छ! #IamwithDrKC pic.twitter.com/P7ihdF3uTr

— Baburam Bhattarai (@brb1954) January 9, 2018

डा गोविन्द केसीलाई पक्रनु ज्यादती हो। विवेक प्रयोग हुनुपर्थ्यो।

— Nilamber Acharya (@nilacharya) January 9, 2018

अपराधको लागि मनशाय हुनु-अपराध निर्धारणको प्रथम शर्त हो । डा.केसी वारेको अदालती आदेशमा फौजदारीमा लगत राख्नु भनिएको छ । डा.केसीको आरोप र अदालती भ्रष्टाचार हटाउँछु भनी स्वयं प्रन्या.हरूले भन्नुमा के फरक छ ?

— Jp Gupta (@JpanandaJp) January 9, 2018

कतिपयलाई केसीले पटकपटक अनसन बसेको चित्त बुझेको छैन। उनीहरूको धारणा छ कि सडकबाट होइन कानुनी बाटोबाट समाधान खोज्नुपर्छ। कतिपयले भने न्यायालयलाई खुइल्याइएको भन्दै केसीको आलोचना पनि गरेका छन्।   

गोविन्द केसि का सबै हर्कत आँखा चिम्लिएर समर्थन गर्न त सकिन्न तर आज जे भै रहेछ त्यो चै बिल्कुल गलत हो। सडकबाट हैन कानुनी प्रक्रिया बाट समस्या को हल खोजियोस् ! उनको समर्थनका नाममा अदालत बिरुद्ध जथाभावी बोल्नु पनि गलत नै हो।ब्यक्ति खराव हुनसक्छ न्यायलय हैन!

— विकल्प (@bikalpa53) January 9, 2018

अब नेपालमा डा. शब्दको अौचित्य समाप्त हुन लागेको हो त ?? डा. गोविन्द केसी सर समयको बर्बादी किन यति धेरै अन्सन बस्नु हुन्छ ? यदि सक्नु हुन्छ भने नेपालको अति दुर्गम बस्तीहरुमा अहिले पनि कति दुख पिडामा रुमालिरहेका छन् तिनीहरूलाई अलिकति मात्र भए पनि मलम पट्टि गर्नुहोस्,यो नै राम्रो।

— Asish Sauden Limbu (@asish_sauden) January 9, 2018

डा. गोविन्द केसी को निस्था र इमान्दरिता माथि केही शंका भएन । १४ /१४ पटक सम्म अनसन बसेका केसी एक रात थुना पर्दा आकाश खसिहाल्दैन । न्याधिस को मानविय त्रुटी भयको पनि हुन सक्ला । तर यति धेरै न्यायलयलाई खुईलाउद झनै अस्थिरता आउन सक्छ ।

— Salik Goutm (@SGoutm) January 9, 2018

सम्बन्धित समाचारहरू

आकस्मिक पेसीमा पक्राउ आदेश

अनशन सुरु गरेको तीन घण्टापछि डा. गोविन्द केसी पक्राउ

केसीको अन्तर्वार्ता : 'मेरो लडाइँ असल न्यायाधीशविरुद्ध होइन'

डा. केसी पक्राउविरूद्ध बाबुराम र गगन सडकमा

केसीलार्इ रातारात पक्राउ गरिएकोमा प्रधानमन्त्री असन्तुष्ट

गोविन्द केसी भन्छन् ‘अब प्रधानन्यायाधीशविरुद्ध लड्छु

गोविन्द केसीलाई पक्रन आदेश दिँदा सर्वोच्चको 'तीब्र गति'

सर्वोच्च र गोविन्द केसीबीचको विवादमा कसले के भने ?

गोविन्द केसी १४ औँ पटक अनसनमा

केसी रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

बयानका लागि गोविन्द केसी सर्वोच्चमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.