अदालत अवहेलना मुद्दामा बहस जारी, आजै निर्णय सुनाउने तयारी

अदालत अवहेलना मुद्दामा बहस जारी, आजै निर्णय सुनाउने तयारी

काठमाडौं : डा. गोविन्द केसीविरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस भइरहेको छ। केसी विरुद्ध दायर मुद्दामाथि न्यायाधीशहरू बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको इजलासमा बहस सुरु भएको हो।

सुरुमा सर्वोच्चका तर्फबाट बहस भइरहेको छ। वरिष्ठ अधिवक्ता श्याम खरेल, मनकुमार श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने लगायतले बहस गर्दैछन्। सर्वोच्चको तर्फबाट बहस सकिएपछि केसीका कानुन व्यवसायीले बहस गर्नेछन्।

दुबैतर्फको बहस सुनिसकेपछि आजै निर्णय सुनाउने तयारीमा सर्वोच्च अदालत छ।

बयान

केसीले मंगलबार न्यायाधीशहरू ओम प्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा बयान दिएका थिए।

बयानमा केसीले अदालतको सम्मान गरेको दाबी गर्दै अवहेलनामा प्रधानन्यायाधीशलाई नै कारबाही हुनुपर्ने माग गरेका छन्।

‘निज (प्रधानन्यायाधीश) बाटै अदालतको अवहेलना भएकाले निजउपर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने हो। म उपर लगाएको आरोप झुटा हो। मैले अदालतको अवहेलना गरेको छैन,’ केसीले बयानमा भनेका छन्, ‘निज सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानबिनको दायरामा ल्याई कारबाही गरे न्यायालयको गरिमाको वृद्धि हुन्छ। अदालत जनताको आस्थाको केन्द्र बन्छ।’

तर, उनले प्रधानन्यायाधीशबाट के कुन प्रकरणमा अदालतको अवहेलना गरेका हुन् भनेर जवाफमा खुलाएका भने छैनन्। उनले जवाफमा अदालतप्रति सम्मान रहेको उल्लेख गरेका छन्।

बयान लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएका डा. केसीलाई बुधबार बिहान प्रहरीले सर्वोच्चमा उपस्थित गराएको थियो।

सडकमा विरोध

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा सुधारका विषय उठाएर यसअघि १३ पटक अनसन बसिसकेका त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीलाई सोमबार अनसनस्थलबाटै पक्राउ गरिएपछि सर्वत्र विरोध भएको छ।

१४ औँ अनसनका क्रममा उनलाई पक्राउ गरिएपछि सामाजिक सञ्जालबाट सुरु भएको विरोध मंगलबार सडकमा पनि देखिएको थियो। बुधबार पनि माइतीघर मण्डलामा केसीको रिहाइको मागसहित विरोध प्रदर्शन गरिने उनका समर्थकहरूले जनाएका छन्।

मंगलबार काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि दलका नेताहरू र विभिन्न पेशा व्यवसायसँग सम्बद्ध व्यक्तिहरू सहभागी भए।

१४ औँ पटकको अनसन बसेको केही घण्टामै सोमबार उनलाई पक्राउ गर्न सर्वोच्चले आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ गरी हाजिर गराउन आदेश दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

केसीका माग

डा. केसीले अनसन घोषणा गर्दै पाँचवटा माग राखेका छन्। प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनका क्रियाकलापमाथि छानबिन उनको पहिलो माग छ। उनले प्रधानन्यायधीश पराजुलीलाई 'भ्रष्ट' तथा 'माफिया' भनेका छन्।

'पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधान न्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस्', केसीको माग छ, 'तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानबिन र कारबाही गरियोस्।'

न्यायलय न्यायको किनबेच गर्ने भ्रष्ट र अपराधीहरूको संरक्षण गर्ने तथा इमान्दारहरूलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा रहेको केसीको आरोप छ।

'कानुन र विधिको शासन हावी हुनुपर्नेमा कानुनलाई निकृष्ट व्यक्तिगत स्वार्थ पूर्ति गर्ने माध्यम तथा आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाइएको' दावी गर्दै उनले भनेका छन्- 'न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको अब विकल्प छैन।' 'भ्रष्ट र अपराधीरूको पक्षमा फैसला भएर न्याय विक्री भइरहेको दुर्भाग्यपूर्ण अवस्था छर्लंग रहेको' केसीले उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.