एमाले अध्यक्ष केपी ओली स्वास्थ्य उपचारका लागि थाइल्याण्ड प्रस्थान
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन्।
अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा नियमित चेकजाँचका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन्। उनको साथमा धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सक समेत थाइल्याण्ड गएका छन्।
मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने गरेका छन्। ओलीलाई बिदाई गर्न वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेललगायतका एमाले नेता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उनी बैंकक जान लागेका हुन्। निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारण उनी जान सकेका थिएनन्।
स्वास्थ्य परीक्षण गराई ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।