पौडेल पक्षको निष्कर्ष : कांग्रेस हारको प्रमुख कारण आन्तरिक

पौडेल पक्षको निष्कर्ष : कांग्रेस हारको प्रमुख कारण आन्तरिक

काठमाडौं : निर्वाचन पराजयसँगै नेपाली कांग्रेसमा विवाद बढ्दै गएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको असफल नेतृत्वको कारण पराजय भोग्नु परेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षकाे आरोप छ भने देउवा पक्ष वाम गठबन्धन हार प्रमुख कारण भन्दै जोगिने प्रयासमा छ। पराजयको पीडासँगै आरोप प्रत्यारोपका साथै छुट्टाछुटै भेला, छलफल हुन थालेका छन् ।

निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि समीक्षा बैठकसमेत बस्न सकेको छैन। युवा नेताले केन्द्रीय समितिको बैठकदेखि ‘अर्लि’ महाधिवेशनसम्म माग गरिरहेका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केन्द्रीय समितिको बैठकसम्म बाेलाएका छैनन्। पौडेल पक्षधरले छुट्टै भेला गरेर विकल्प खोज्न थालेका छन्। पौडेल पक्षधरले हारको प्रमुख कारण आन्तरिक भएको निष्कर्ष निकालेको छ। उनीहरु छिटो भन्दा छिटो केन्द्रीय समितिको बैठक बसेर मार्गप्रशस्त गर्न माग गरिरहेका छन्। केन्द्रीय समितिको बैठकसम्म छिटो गर्न दबाब दिन आन्तरिक भेला र छलफल भइरहेको छ। पौडेल पक्षका केन्द्रीय सदस्य दीपक गिरी र युवा नेता गुरुराज घिमिरे हारको प्रमुख कारण आन्तरिक भएको बताउँछन्।

पौडेल पक्षका केन्द्रीय सदस्य गिरीले यथाशक्य केन्द्रीय समितिको बैठक बोलाएर पार्टीको समीक्षा गर्न सभापतिलाई दबाब दिन बैठक गरिएको बताए। ‘चुनावको समीक्षा हुनुपर्छ, पार्टी विधान सम्मत चल्नुपर्छ भन्ने उद्देश्यले बैठक गरिएको हाे, अरु कुनै कारण छैन’, उनले भने , ‘चुनावको परिणाम आएको एक महिना भइसक्यो, खै अहिलेसम्म समीक्षा गरेको छ ?’ उनले पार्टीको पराजयमा कोही पनी वाम गठबन्धनलाई देखाएर पन्छिन नपाउने बताए। उनले भने, ‘हारको कारण वामगठबन्धन मात्र होइन, पार्टी भित्रको आन्तरिक कारण नै ठूलो छ ।’ उनले आफूलेसमेत हार्नुको प्रमुख कारण आन्तरिक भएको बताए। उनले भने, ‘३४ हजार मत ल्याएर म हारें, के के कारणले हारेँ, त्यो सम्झियो भने रुन मन लाग्छ, के त्यसको समीक्षा नहुने, गल्ती मैले पनि गरेको छु भने सजाय मैले पाउनु पर्छ, प्रचण्डकी छोरीलाई किन त्यति गरेर जिताइयो ? त्यसको उत्तर कार्यकर्तालाई दिनु पर्‍याे कि परेन, केन्द्रीय समितिमा हामीले उत्तर खोजेका छौं।'

केन्द्रीय सदस्य गिरीले पार्टीको विधान विपरित कार्यसम्पादन समिति बनाइएर जथाभावी निर्णय भइरहेको आरोप लगाए। उनले आफ्नै समूहका नेताहरुले समेत विधानविपरित बनाएको कार्यसम्पादन समिति र संसदीय समितिमा बसेर सहमति जनाएकोमा आलोचना भएको बताए। उनले समाुनपातिकमा पार्टी नेतृत्वले जबरजस्ती नाम राख्ने र निकाल्ने जस्तो घृणित काम गरेको आरोप लगाए। ‘पद पाउने हाम्रो तर्फका साथीहरुले विधान विपरितको कामलाई ‘ओके’ गरे’ उनले भने, ‘बिपी, गणेशमान र सुर्वणशम्शेरले बनाएको कांग्रेसको हालत किन त्यस्तो भयाे ?’

नेता गिरीले पार्टी कसरी विधान सम्मत ल्याउने विषय आफू गम्भीर भएको बताए। उनले विभागसमेत नबनाएर एकलौटी ढंगबाट पार्टीलाई चलाएको बताए। उनले पार्टीका भातृसंगठनको अधिवेशन, पदाधिकारी चयन जस्ता कामसमेत नभएको बताए। काँग्रेसले विभाग बनाएको छैन, एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री अहिलेसम्म नियुक्त गरिएको छैन। अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले केन्द्रीय समितिको बैठक तत्काल महासमिति बैठक बोलाउन माग गरे। युवा नेता घिमिरेले केन्द्रीय समितिमार्फत् महासमिति बैठक बोलाएर ढिलो गरेका कांग्रेसलाई ठूलो क्षति हुने बताए।
युवा नेता घिमिरेले घाउ लाग्ने वित्तिकै उपचार नगरे त्यसले ठूलो क्षति गराउने बताए। उनले भने,‘घाउ लाग्ने वित्तिकै उपचार गर्नुपर्छ, धेरै रगत बगेपछि निको हुन गाह्रो हुन्छ ।’

उनले चुनावमा पराजयको एक कारण वाम गठबन्धन भएपनि आन्तरिक कारण प्रमुख रहेको बताए। ‘हारको एउटा कारण वाम गठबन्धन होला तर, प्रमुख कारण आन्तरिक हो। सरकारमा पार्टी रहेको अवस्थामा कसरी यस्तो लज्जापद पराजय भयो ?’ उनले भने, ‘हामी मात्र होइन अरु पार्टीका साथीसमेत तिमीहरुले कसरी त्यति नराम्रोसँग हार्‍याैँ भन्छन्, पार्टी भित्र मात्र होइन बाहिरसमेत कांग्रेसको हारकाे कारण खाेजिएकाे छ ।’ उनले हारमा संस्थागत
कमिकमजोरी नेतृत्वकै कारणले भएको बताए।

उनले निरन्तर मन्त्री हुनेदेखि टिकट वितरणसम्ममा भएको कमिकमजोरीले पराजय भोग्नु परेको बताए। उनले प्रश्न गरे ,‘हाम्रा मन्त्रीले के गरे, जनतासँग किन पुगेनन् ?’ उनले आफनै नेतृत्व रहेको सरकारले गराएको चुनावमा पराजय भोग्नु पर्दा देशभरका कार्यकर्तामा निरासा, चिन्ता र अन्यौलता छाएको बताए। नेता घिमिरे भन्छन्, 'देशभर कार्यकर्ता चिन्तामा छन्, तनावमा छन् ।' उनले हारको जिम्मेवारी लिन सक्नु् पर्ने बताए। युवा नेता घिमिरेले हारभित्र नेतृत्वदेखि युवा नेतासम्मको कमिकमजोरी भएपनि जिम्मेवारी लिन तयार हुनु पर्ने बताए।

उनले पार्टीलाई पुर्नजीवित र पुर्नजागरण गर्न आवश्यक रहेको बताए। आफुहरुले गुटबन्दी भन्दा माथि उठ्ने प्रयास गरेको दाबी गरे। देशभरका १४-१५ सय कार्यकर्ताबीच छलफल चलाउन महासमिति बैठक बाेलाउनु पर्ने अधिकांशको माग रहेको उनले बताए। ‘कांग्रेसलाई कसरी अगाडि लाने र भोलिका लागि कसरी तयार पर्ने त्यस विषयमा देशभरका कार्यकर्ताबीच छलफल गर्नुपर्छ', उनले भने।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.