पृथ्वीनारायण शाह राष्ट्रिय सम्पत्ति हुन् : देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीनारायण शाह राष्ट्रिय सम्पत्ति भएको बताएका छन् । राष्ट्रनिर्माता शाहको २९६ औँ जयन्तीको अवसरमा नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् ।
सिंहदरबार अगाडि पृथ्वीनारायणको शालिकमा माल्यार्पपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा पुगेर देउवाले भने, ‘पृथ्वीनारायण शाह राष्ट्रिय सम्पत्ति हुन्, उनको हामी सबैले सम्मान गर्नुपर्छ ।’ गणतन्त्र घोषणापछि सरकारले पृथ्वी जयन्तीमा पहिलो पटक बिहीबार सार्वजनिक बिदा दिएको हो ।
कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने विषयमा लामो समयदेखि भएको प्रयास यो वर्ष मात्र सफल भएको बताए ।
‘हामीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा हुनुपर्ने विषयलाई महत्वका साथ अगाडि सारेका भए पनि त्यो सम्भव भएको थिएन्’, नेता थापाले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने विषयले सार्थकता पाएको छ ।’