नेता नेपाल बंगलादेश प्रस्थान
काठमाडौं : एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार बंगलादेश प्रस्थान गरेका छन् । उनी ढाकामा हुने ‘आउँदा दिनमा एशियाली देशबीच विकासमा सहकार्य अभियान’ विषयक बैठकमा सहभागी हुन त्यसतर्फ गएका हुन् ।
नेता नेपाल सहित नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका २० नेता त्यसतर्फ गएको नेपालका स्वकीय सचिव निकेश पौडेलले बताए । त्यहाँस्थित मजदुर पार्टीको आयोजनामा हुने बैठक शुक्रबार र शनिबार चल्नेछ ।
बैठकमा एशियाली २० देशका कम्युनिष्ट पार्टीको सहभागिता हुनेछ । साथै बैठकमा २१ औँ शताब्दीमा समाजवादको चुनौती र प्रजातन्त्रमा जनताले जीविकोपार्जनका लागि गरेको संघर्षका बारेमा छलफल हुने बताइएको छ ।
नेता नेपाल यही माघ १ गते स्वदेश फर्किने कार्यतालिका छ । रासस