वाइसिएलले न्यानो कपडा बाँड्ने
काठमाडौं : ‘तपाईं कम्बल दिएर सहयोग गर्नुस् हामी न्यानो लिएर जाँदैछौं’ भन्ने मूल नाराका साथ नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपालले शीतलहर पीडित तराईका विभिन्न जिल्लामा न्यानो कपडा वितरण गर्ने भएको छ।
तराईमा जाडाले कठ्यांग्रिएर धेरैको ज्यान गइरहेको र कैयौँ मानिस बिरामी भइरहेका अवस्थामा राहत वितरण गर्ने लागिएको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए।
‘वाइसिएल जाडोबाट बच्नका लागि तराईका जिल्लामा न्यानो लिएर जान लागेको छ’, सापकोटाले भने, ‘संगठनबाट सामाजिक काम पनि गर्छौं। यतिबेला न्यायो बाँड्नु हामी सबैको दायित्व हो।’ राहत संकलनका लागि वाइसिएलले विभिन्न व्यक्ति र संघसंस्थालाई आह्वान गरेको छ।
राहत संकलनका लागि आगामी माघ ३ गतेसम्मको समयसीमा तोकिएको छ। सो अवधिभित्र सबैलाई राहत सामग्री दिएर सहयोग गर्न आग्रह गरिएको छ। माघ ४ गतेदेखि तराईका दश जिल्लामा न्यानो कपडा वितरण गरिने जनाइएको छ। रासस