दिनेशले तोडे १९ वर्ष पुरानो कीर्तिमान

दिनेशले तोडे १९ वर्ष पुरानो कीर्तिमान

पोखरा : त्रिभुवन आर्मी क्लबका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको एक सय पाँच केजी तौलसमूहमा स्नाचतर्फ १९ वर्ष पुरानो कीर्तिमान तोड्दै आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान लेखाएका छन्। दिनेशले स्नाचतर्फ एक सय २१ केजी तौल उचाल्दै नयाँ कीर्तिमान बनाएका हुन्।

यसअघि उक्त कीर्तिमान मदन शिवभक्तिको नाममा थियो। उनले सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा एक सय २० केजी तौल उचाल्दै कीर्तिमान कायम गरेका थिए। स्नाचतर्फ नेपाल पुलिस क्लबका सन्देश गुरुङले रजत र बाराका महमद आसिक हुसेनले कांस्य पाए। क्लिन एन्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण जिते। उनले क्लिनमा एक सय ४० र कुलमा दुई सय ६१ केजी भार वहन गरे। पुलिसका सन्देश गुरुङले क्लिन एन्ड जर्कमा एक सय ३२ र कुलमा दुई सय ३२ केजीका साथ रजत तथा महमद आसिकले क्लिन एन्ड जर्कमा एक सय पाँच र कुलमा एक सय ९३ केजीसहित कांस्य पदक पाए।

यसैगरी पुकार गुरुङले एक सय पाँच केजीभन्दा माथिको तौलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण हात पारे। उनले स्नाचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको एक सय २४ केजी तौलमा सुधार गर्दै एक सय २५ केजी भार वहन गरे। पुलिसका राजीव महर्जन दोस्रो भए। उनले ९५ केजी भार वहन गरे। कञ्चनपुरका सुभाष उपाध्यायले ८७ केजी भार उठाउँदै स्नाचमा कांस्य पाए। पुकारले क्लिन एन्ड जर्कमा एक सय ४० केजी र कुलमा दुई सय १५ केजी तौल उचाल्दै प्रथम स्थान हात पारे। क्लिन एन्ड जर्कमा सुभाषले एक सय २० केजीका साथ रजत पाए। स्नाचमा दोस्रो भएका पुलिसका राजीवले क्लिन एन्ड जर्कमा एक सय १८ केजीका साथ कांस्य पाए। कुलतर्फ राजीवले दुई सय १३ केजीका साथ रजत र सुभाषले दुई सय सात केजीका साथ कांस्य पाए।

यसैगरी आर्मीका सुरेन्द्र श्रेष्ठले ८५ केजी तौलमा स्वर्ण हात पारे। उनले स्नाचमा एक सय पाँच, क्लिन एन्ड जर्कमा एक सय २७ गरी कुल दुई सय ३२ केजी भार उचाले। पुलिसका गगन चन्दले रजत र कञ्चनपुरका विशालसिंह विष्टले कांंस्य जिते। पुरुष ९४ केजी तौलमा आर्मीका टहलबहादुर बसेलले क्लिन एन्ड जर्क र कुलमा स्वर्ण पाए। उनले क्लिन एन्ड जर्कमा एक सय २७ र कुलमा दुई सय १७ केजी भार वहन गरे। टहलले स्नाचमा रजत पाए। उनले स्नाचमा ९० केजी मात्र तौल उचाले। स्नाचमा पुलिसका श्रीकृष्ण महर्जनले स्वर्ण जिते। उनले एक सय केजी भार वहन गरे। महर्जनले क्लिन एन्ड जर्कमा एक सय १० केजी र कुलमा दुई सय १० केजीका साथ रजत पाए। भक्तपुरका जयदी कोजूले कांस्य पाए। उनले स्नाचमा ८१, क्लिन एन्ड जर्कमा एक सय १० गरी कुल एक सय ९१ केजी तौल उचाले।

कमल र तारा ‘स्ट्रंगेस्ट’

च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबका कमलबहादुर अधिकारी पुरुषतर्फको ‘स्ट्रंगेस्ट’ खेलाडी घोषित भए। कमलले उत्कृष्ट लिफ्टरको उपाधि पनि जिते। यसैगरी महिलातर्फ नेपाल पुलिस क्लबकी तारादेवी पुन ‘स्ट्रंगेस्ट’ खेलाडी बनिन्। महिलातर्फ उत्कृष्ट लिफ्टरको उपाधि भने त्रिभुवन आर्मी क्लबकी सञ्जु चौधरीले हात पारिन्। विजयी प्रत्येक खेलाडीले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

यसैगरी राष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीले पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा सातवटा राष्ट्रिय कीर्तिमान कायम भए। तीनदिने उक्त प्रतियोगितामा तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफ तथा १४ जिल्लाका २४ महिला र ५९ जना पुरुष खेलाडीको सहभागिता थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.