सहरी आयोजना र नगरपालिकाबीच विवाद
बागलुङ : ढोरपाटन नगरपालिका र नयाँ सहरी आयोजना कार्यालय बुर्तिबाङबीच क्षेत्राधिकारका विषयमा विवाद भएको छ । नयाँ सहरी आयोजनाका लागि चालु आर्थिक वर्षमा उल्लेख्य रकम विनियोजन गरिए पनि काम सुस्त भएको र ढोरपाटन नगरपालिकासँग समन्वय नभएको भन्दै नगरपालिकाले छानबिन गठन गरेपछि विवाद चुलिएको हो । सहरी विकास तथा नगर विकास समितिले लक्ष्यअनुसार कुनै योजना कार्यान्वयनतर्फ तत्परता नदेखाएको, वार्षिक बजेट दुरुपयोग र फ्रिज भइरहेको भन्दै शुक्रबार बुर्तिबाङका स्थानीयले कार्यालयमा ताला लगाएका थिए ।
तालाबन्दीपछि ढोरपाटन नगर कार्यपालिकाको बैठकले बुर्तिबाङ नयाँ सहरी आयोजनाबाट सञ्चालन भएका र हुने विभिन्न योजनाको ठेक्कापट्टासम्बन्धी फाइल नगरपालिका कार्यालयमा पेस गर्नुपर्ने र त्यसपछि मात्र सार्वजनिक सुनुवाइ गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको बेवास्ता गर्दै बुर्तिबाङ नयाँ सहरी योजना कार्यालयका प्रमुख प्रवीणप्रताप अधिकारीले नगरपालिकासँग समन्वय नगरी आयोजनाका विषयमा छलफलका लागि अन्य निकाय र संघसंस्थामा पत्राचार गरेपछि विवाद बढेको बताए ।
सहरी आयोजनाका विषयमा व्यापक जनगुनासो आएपछि नगरपालिकाका मयेर देवकुमार नेपालीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले आयोजना प्रमुख अधिकारीलाई नयाँ सहरी आयोजनाबाट भइरहेका र हुने सम्पूर्ण कार्यको विवरण तथा फाइल छानबिन समितिमा पेस गर्न ७ दिनको समयसीमा दिएको थियो ।
समितिको छानबिनपछि मात्रै सार्वजनिक सुनुवाइ तथा अन्य छलफल गर्ने भनिए पनि कार्यालय प्रमुख अधिकारीले नगरपालिकाको निर्णयको बेवास्ता गर्दै एकल निर्णयमा बिहीबार आयोजनाका विषयमा छलफल तथा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेका थिए । आयोजना कार्यालयबाट हुने सम्पूर्ण काम नगरपालिकासँगको समन्वयमा गर्ने जानकारी हुँदाहँुदै पनि कार्यालयले बेवास्ता गरेपछि नगरपलिकाका मेयर नेपालीको अध्यक्षतामा बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले अबको ५ दिनभित्र छानबिन समिति तथा नगरपालिकामा आयोजनाबाट भइरहेका सम्पूर्ण कामको विवरणसहित पेस गर्न आयोजना कार्यालयलाई निर्देशन दिएको छ ।
दोस्रो पटक पनि बेवास्ता गरिए नगरपालिकाले आवश्यक कारबाही अगाडि बढाउने निर्णय गरेको मयेर नेपालीले बताए । ‘स्थानीय सरकार भएपछि यहाँ हामीसँग समन्वय हुनुपर्छ’, नेपालीले भने, ‘तर अहिले काम जनअपेक्षाअनुसार अघि नबढाउने र नगरपालिकालाई बेवास्ता गर्ने किसिमका गतिविधि देखिएकाले यसमा नगरबासी र नगरपालिकाको चासो हुनु स्वाभाविक हो । हामी नयाँ सहरी आयोजनाको कामले विनियोजित बजेटको पूर्णरूपमा सदुपयोग हुने गरी काम होस् भन्ने चाहन्छौं ।’
नयाँ सहरी आयोजनाका कार्यालय प्रमुख अधिकारीले अपेक्षाकृत रूपमा काम हुन नसक्दा केही गुनासो र समस्या आएको स्विकारे । ‘नयाँ सहरी आयोजनाका विषयमा जनगुनासो आएको सत्य हो । कार्यालयमा १३÷१४ जनाको दरबन्दी छ । एक वर्षदेखि एक÷दुई जना प्राविधिकले मात्र काम गर्नुपर्ने बाध्यताले आयोजनाको कामले गति लिन सकेन’, उनले भने, ‘यहाँको निर्माणको जिम्मा लिएको धुलिखेल आट्रिय जेभिलाई सम्झौता थप गराएर कामलाई तीव्रता दिन पटक–पटक ताकेता गरेका छौं ।’ स्थानीय तहको अधिकार र कार्यालयबारे देखिएको समस्या र विवादबारे विभागलाई समेत ध्यानाकर्षण गराएको नयाँ सहरी योजना कार्यालयका प्रमुख प्रवीणप्रताप अधिकारीले बताए । नगरपालिकाले आयोजनाको ठेक्कापट्टादेखि सबै कागज माग गरेको र आफूले सबै कागज दिन नसक्ने बताएपछि विवाद बढेको उनको भनाइ छ ।
बुर्तिबाङ नगर विकास समितिका अध्यक्ष मेषलाल शर्माले विवादले आयोजनाको काममा केही अन्योल सिर्जना भएको स्विकारे । ‘स्थानीय सरकारले बढी चासो देखाएका छन्, नगरपालिका र आयोजना कार्यालयको के–कति कार्यक्षेत्र र अधिकार हो, यसबारे सबै प्रस्ट हुन आवश्यक छ’, उनले भने । नगर विकास समितिले पूर्णता नपाएकाले पनि काम गर्न समस्या भएको उल्लेख गर्दै उनले समितिले पुलको रूपमा काम गर्ने बताए ।
मध्यपहाडी लोकमार्गमा देशभरमा १० नयाँ सहर निर्माण गर्ने ०७० सालको नयाँ अवधारणा आएपछि ०७२ सालदेखि बुर्तिबाङमा कार्यालय राखेर काम सुरु गरिएको थियो ।