कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङमा
![कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङमा](https://annapurnapost.prixacdn.net/media/albums/exam-board-5a5ab442da2fe1.50006930_GqScYkSZ6i.jpg)
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा पहिलो पटक ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रणालीलाई अनुसरण गर्दै बोर्डले विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरेको हो।
एसईईको नतिजामा अधिकतम चार जीपीएलाई आधार मानेर प्राप्तांक दिइएको थियो भने कक्षा ११ मा पनि सोही प्रणाली अवलम्बन गरिएको छ। यस प्रणालीमा अधिकतम अंक ल्याउनेलाई ‘ए प्लस' दिइन्छ भने यसलाई जीपीएमा ४ मानिन्छ। यसभन्दा प्रत्येक तल्लो ग्रेडमा जीपीए ४ बाट ० दशमलव ४ प्वाइन्टका दरले घटाउँदै अंक दिइने व्यवस्था छ।
कक्षा ११ को परीक्षामा विषयगत रूपमा ग्रेड छुट्याइए पनि एकमुष्ठ नतिजामा भने यस्तो ग्रेड दिइएको छैन। परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा १२ को परीक्षापछि मात्र नतिजा एकीकृत रूपमा आउने हुनाले त्यही बेलामा मात्र कुन ग्रेडमा विद्यार्थी उत्तीर्ण भए भनेर छुट्टिनेछ।
विद्यार्थीले कुनै एक विषयमा ‘डी प्लस' वा ‘डी'भन्दा कम ग्रेड ल्याएको रहेछ भने माघ २७ गते हुने ग्रेडवृद्धि मौका परीक्षामा सहभागी हुन पाउने अर्यालले बताइन्। उनका अनुसार परीक्षामा ७४ जना विद्यार्थीको नतिजा रद्द र एक जनाको स्थगित गरिएको छ।
गतअसार पहिलो साता सम्पन्न परीक्षामा तीन लाख ४७ हजार सात सय ४८ परीक्षार्थी सहभागी थिए। परीक्षा सम्पन्न भएको सात महिनापछि नतिजा सार्वजनिक भएको हो। परीक्षा सकिएको लामो समयसम्म पनि नतिजा सार्वजनिक गर्न नसकेको भन्दै बोर्डको आलोचना हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)