नेपाली क्रिकेट विवाद : आईसीसीको टोली माघ दोस्रो साता नेपाल आउने
काठमाडौं : अवरुद्ध बनेको नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवाको प्रक्रियाबारे छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टोली नेपाल आउने भएको छ। आईसीसीले शुक्रबार सल्लाहकार समूहलाई लेखेको ईमेलमा आफ्नो टोली माघको दोस्रो साता नेपाल आइपुग्ने जानकारी गराएको हो। सो अवधिमा छलफलका लागि सल्लाहकार समूहका सदस्यहरूलाई राजधानीमा उपलब्ध हुनका लागि समेत आईसीसीले भनेको छ।
‘नेपाली क्रिकेट निलम्बन फुकुवाका लागि चालेको प्रक्रिया रोकिएकोबारे र त्यसलाई सुचारु गर्ने सम्बन्धमा छलफल गर्न आईसीसीको प्रतिनिधिमण्डल नेपाल आउँदै छ’, आईसीसीका नाइजेल मासिरेनसले लेखेको ईमेलमा भनिएको छ, ‘त्यसका लागि सल्लाहकार समूहका सदस्यहरूको समय र उपलब्धताका बारेमा आईसीसी जान्न चाहन्छ।’
आईसीसीले ईमेलमा माघको दोस्रो साता नेपाल आउने उल्लेख गरे पनि कुन दिन आइपुग्ने भन्नेबारे खुलाएको छैन। आईसीसी प्रतिनिधिले सल्लाहकार समूहका सदस्य र अन्य सरोकारवालासँग अवरुद्ध बनेको घरेलु क्रिकेटको सर्वाेच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवाको प्रक्रिया सुचारु गर्नेबारे छलफल गर्नेछ।
सल्लाहकार समूहले तयार पारेको विधानलाई कार्यान्वयनमा लैजाने सम्बन्धमा विवाद देखिएपछि आईसीसीले सो प्रक्रिया स्थगित गर्न र त्यस सम्बन्धमा छलफल गर्न आफ्नो टोली नेपाल आउने यसअघिको ईमेलमा भनेको थियो। सोही ईमेलअनुसार आईसीसीको टोली नेपाल आउन लागेको हो।
सल्लाहकार समूहले तयार पारेको क्यानको नयाँ विधानलाई आईसीसीसँगको यसअघिको सहमतिअनुसार चतुरबहादुर चन्दको अध्यक्षतामा रहेको क्यानको निर्वाचित समितिले आफ्नो विशेष साधारणसभाबाट पारित गराई कार्यान्वयनमा लाने प्रयास गरेको थियो। साधारणसभाले पारित गरेको विधानअनुसार जिल्ला संघहरूको निर्वाचन पनि सम्पन्न भइसकेको अवस्थामा आईसीसीले विधानअनुसारको बाँकी काम स्थगित गर्न अनुरोधसहितको पत्र पठाएको थियो।
आईसीसीको बोर्ड बैठक र साधारणसभाको पूर्वसन्ध्यामा हुन लागेको आईसीसी प्रतिनिधिको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। क्यानको निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले आईसीसीले यसअघि नै पठाएको ईमेलअनुसार टोली पठाउन लागेको प्रतिक्रिया दिए। ‘आईसीसीले यसअघिको पत्रमा पनि छलफलका लागि आफ्नो टोली नेपाल आउने जनाउँदै आएको थियो’, प्याकुरेलले अन्नपूर्णसँग भने, ‘आईसीसीको बोर्ड बैठक र साधारणसभा नजिकै रहेकाले पनि यो भ्रमण हाम्रा लागि महत्वपूर्ण छ। सायद आईसीसीको टोलीले अहिले अवरुद्धजस्तै बनेको नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवाको प्रक्रिया सुचारु गर्नेबारे सबैसँग छलफल गर्नेछ।’
सरकारी हस्तक्षेप र स्वच्छ निर्वाचन हुन नसकेको दुई कारण देखाउँदै आईसीसीले गत वैशाख १२ गते नेपाली टोलीलाई आफ्नै व्यवस्थापनमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने तर क्यानलाई निलम्बनमा राख्ने निर्णय गरेको थियो। निलम्बन फुकुवा गर्नका लागि आईसीसीले सल्लाहकार समूहको गठन गरी नयाँ विधान तयार पारे पनि हाल सोही विधानको कार्यान्वयन प्रक्रिया रोकिएको छ। त्यससँगै क्यानमाथिको निलम्बन फुकुवाको प्रक्रिया पनि रोकिएको छ।
आईसीसीको बोर्ड बैठक र साधारणसभाको पूर्वसन्ध्यामा हुन लागेको आईसीसी प्रतिनिधिको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ।