मनाङलाई स्तब्ध पार्दै आर्मी फाइनलमा
धनगढी : साविकका विजेता मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको पहिलो सेमिफाइनलमा आर्मीले मनाङलाई ३-१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो। आर्मी संस्करणमा पहिलो खेलबाटै बाहिरिएको थियो। आर्मीको जितमा कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे। मनाङका हेमन गुरुङले सान्त्वना गोल गरे।
खेलमा सुरुआती अग्रता भने मनाङले लिएको थियो। खेलको नवौं मिनेटमा मनाङका हेमन गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर गर्न नसक्दा पेनाल्टी बक्समा रहेका हेमनले सो अवसरलाई सदुपयोग गरेका थिए। खेलको २३औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि इन्जुरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।
प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुवै टोलीले आक्रामक फुटबल खेलेका थिए। खेलको ६१औं मिनेटमा सुजल श्रेष्ठले पाएका राम्रो अवसर खेर फाले। त्यस्तै ७७औं मिनेटमा नवयुगले गोलकिपर दिनेश थापामगरसँग वान भर्सेस वानको मौका पनि गुमाएका थिए। ८८औं मिनेटमा सन्तोष तमाङले नवयुगको पासमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए। आर्मीका नवयुग श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।
जितसँगै आर्मी चौथो उपाधि नजिक पुगेको छ। आर्मीले यसअघि विकास रनिङ शिल्ड, सताक्षी गोल्डकप र काँकडभित्ता गोल्डकपको उपाधि जितिसकेको छ। आर्मीले उपाधिका लागि सोमबार आयोजक सुदूरपश्चिम र एपीएफबीचको विजेतासँग खेल्नेछ।
जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेलाडीको मेहनतका कारण जित हात पार्न सकिएको बताए। ‘सुरुमै गोल खाए पनि समयमै गोल फर्काउन सक्दा खेलाडीमा मनोबल बढ्यो। मनाङ थकित भएको मौकाको फाइदा उठाउन सफल भयौं’, प्रशिक्षक न्यौपाने भने।
हारपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले टाइसिटप्रति असन्तुष्टि जनाए। ‘हिजोको आजै खेल्नुपर्दा हाम्रा खेलाडी थकित भएर खेल्नै सकेनन्। आयोजकले टाइसिट कुन आधारमा बनाएको हो’, प्रशिक्षक लोप्साङले भने। मनाङले शुक्रबार रूपन्देही-११ सँग प्रतिस्पर्धा गरेको थियो।
पुस २१ गतेबाट सुरु भएको प्रतियोगिता सोमबारसम्म चल्नेछ। प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ सय रुपैयाँ प्राप्त गर्नेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगितामा ए डिभिजनका १२ टोलीको सहभागिता छ।