बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
विराटनगर : मोरङको रतुवामाई नगरपालिका १० मा यात्रुबाहक बसको ठक्करबाट शनिबार राति एक जनाको मृत्यु भएको छ। उर्लाबारी–बरडंगा सडक खण्डमा को १ ख १९६४ नम्बरको बसले ठक्कर दिदाँ साइकल यात्री रतुवामाई ९ का ४८ वर्षीय काँशीराम धामी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए । उर्लाबारीबाट आमबारी जाँदै गरेको बसले सोही दिशातर्फ जाँदै गरेका साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका काँशीरामको उपचारका क्रममा नोवेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको प्रनि बस्यालले बताए । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।