कालिकोटका ८० वडा अझै सचिवविहीन

कालिकोटका ८० वडा अझै सचिवविहीन

कालिकोट : स्थानीय तहको निर्वाचनपछि सिंहदरबारको अधिकार गाउँगाउँमा आउने अपेक्षा गरिए पनि नागरिकले त्यस्तो अनुभूति गर्न पाएका छैनन्। राज्यले प्रदान गर्दै आएको सेवा-सुविधा नागरिकले गाउँमै प्राप्त गर्ने तथा जिल्लाबाट प्राप्त हुने सेवासमेत गाउँमै उपलब्ध हुने भनिए पनि स्थानीय सरकार जिल्लाबाटै सञ्चालन हुँदा नागरिकले गाउँबाट सेवा नपाएका हुन्।

जिल्लाका तीन वटा नगरपालिका र ६ वटा गाउँपालिकाले जिल्ला सदरमुकाम मान्ममै सम्पर्क कार्यालय खोली सेवा सञ्चालन गरेका छन्। गाउँमा भौतिक संरचनाको अभाव, बैंक तथा वित्तीय संस्था नहुनु, सुरक्षाको व्यवस्था नहुनुलगायत कारण सदरमुकामबाटै सेवा प्रवाह गर्नुपरेको जनप्रतिनिधिले जनाएका छन्। पचालझरना गाउँपालिका वडा नं. २ खरकोट निवासी ऐना विकले आफ्नो गाउँमा नौमुले आधारभूत विद्यालयको फिल्ड निर्माणका लागि उपभोक्ता समिति भई सम्झौता गर्न तथा खाता खोल्न सदरमुकाममै आउनुपरेको बताइन्। स्थानीय तहको निर्वाचनपछि गाउँमै सबै काम हुने भनिए पनि एउटा कामका लागि चार दिन सदरमुकाममै बस्नुपरेको उनको गुनासो छ।

जिल्ला समन्वय समिति कालिकोटका अनुसार जिल्लाका जम्मा ८२ वडामध्ये २ वटा वडामा मात्र वडा सचिव छन्।

पचालझरना गाउँपालिका वडा नं. ४ राम्नाकोटका प्रेम सेजुवालले आफ्नो गाउँको रातापानी खानेपानी आयोजनाका लागि खाता खोल्न तथा पेस्की झिक्न सदरमुकाम आएर पनि धेरै दिन कुर्नुपरेको बताए। उनले ९० घरधुरीका लागि ६५ लाख रुपैयाँ लगानीमा निर्माण गर्न लागिएको आयोजना प्राविधिकले डिजाइन अनुमान नगरेको भनेर गाउँपालिकाका कर्मचारीले ढिलाइ गरेको बताए। गाउँमा सिंहदरबार आयो भनेर हल्ला गरिए पनि आफूहरूले विकासका काममा समेत पहिलेकै जस्तो दुःख पाएको गुनासो गरे।

पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले गाउँमा बैंक नहुँदा आफूहरूले उपभोक्ताको योजना सम्झौता तथा खाता सञ्चालन गर्न सदरमुकाम बोलाउनुपरेको बताए। गाउँपालिकाका ९ वटा वडामध्ये एउटामा मात्र वडासचिव भएको र अन्य ८ वडासचिवविहीन भएकाले नागरिकलाई सहज सेवा प्रवाहमा समस्या परेको बताए। विगतका साविकका गाविसमा कार्यालय सहायकका रूपमा काम गरिरहेका करार कर्मचारीको भरमा अहिलेका स्थानीय तहका काम भइरहेका छन्।

यसैगरी, कालिकोट जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डेले नगरपालिकाका ११ वटै वडाका सचिव नहुँदा जिल्ला प्रशासन कार्यालयबाट एक जना खरिदारलाई काजमा ल्याएर सबै वडाको काम एकै ठाउँबाट सञ्चालन गरिरहेको बताए। कर्मचारी अभावले नगरका हरेक वडाबाट सेवा प्रवाह गर्न नसकिएको उनले स्विकारे।

जिल्ला समन्वय समिति कालिकोटका अनुसार जिल्लाका जम्मा ८२ वडामध्ये २ वटा वडामा मात्र वडा सचिव छन्। बाँकी ८० वडामा वडा सचिवको दरबन्दी खाली छ। हरेक स्थानीय तहले जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय खोलेका छन्। वडा तहदेखिका सेवा सदरमुकामबाटै प्रवाह गरिरहेका छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.