राष्ट्रिय सभाका उम्मेदवारले साढे तीन लाख मात्र खर्च गर्न पाउने
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारले गर्ने खर्चको सीमा तोकेको छ। आयोगको आइतबारको बैठकले उम्मेदवारहरुले निर्वाचनको प्रचार प्रचारको क्रममा खर्च गर्ने पाउने अधिकतम सीमा तोकेको हो। निर्वाचन आयोग ऐन २०७३ को दफा २४ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७४ को दफा ६४ बमोजिम निर्वाचन खर्च तीन लाख ५० हजार तोकेको हो।
मतदाता नामावली खरिद, सवारी साधन सवारी इन्धन, प्रचारप्रसार सामाग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, कार्यालय सञ्चालन तथा प्रतिनिधि परिचालन र विविधि शीर्षकमा गरी उक्त रकम खर्च गर्न सक्ने आयोगले जनाएको छ।
आयोगको बैठकले ‘अल्पसंख्यक समुदाय’ तोक्न आग्रह आग्रह गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’ तोकी अविलम्ब नेपाल राजपत्रमा सूचना प्रकाशनसमेत गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको हो।