जाजरकोटको ज्वरो
पटकपटक जाजरकोट रोगसँग पौंठेजोरी खेल्दैछ। ०६६ सालमा झाडापखाला फैलिँदा तीन सयभन्दा बढीको ज्यान गएको जाजरकोटमा ०७२ मा स्वाइन फ्लुको प्रकोपबाट तीन दर्जन मारिए। अहिले भाइरलका कारण १३ जना नागरिकले ज्यान गुमाएका छन्। जिल्लाको दुर्गम जुनीचाँदे गाउँपालिकाका खड्कुले, मौगान, डाँडाकोट, आली, बेसीपाटा, रावलगाउँ, कोर्ताङ, पराले मजकोट, भैरवटोल स्यालालगायत गाउँ बढी प्रभावित छन्। ती गाउँमा कम्तीमा एक हजार मानिस बिरामी परेका छन्। ज्यान गुमाउनेमध्ये एकजना ३६ दिनको शिशुलगायत पाँच वर्षमुनिका सातजना बालबालिका छन् भने ५० वर्षमाथिका ६ जना छन्। दुःखद पक्ष के छ भने मृत्यु भएकामध्ये तीनजनाले मात्रै स्वास्थ्यकर्मीको सेवा लिन पाएका थिए। यो तथ्यले जाजरकोटका जनताको स्वास्थ्य सेवामाथिको कमजोर पहुँच प्रस्ट पार्छ।
त्यसो त मृत्युको कारण स्वास्थ्य संस्था र औषधि सर्वसाधारणको पहुँच बाहिर हुनु मात्र होइन। जरो कुरा, जाजरकोटको ज्वरोप्रति काठमाडौंको संवेदनशीलताको कमी हो। उसै पनि भौगोलिक विकट जिल्ला जाजरकोट र काठमाडौंको भौतिक दूरी टाढा छ, त्यसमाथि मनोवैज्ञानिक दूरी र संवेदनशीलता धेरै भएकाले त्यहा“का जनताको पीडा केन्द्रले महसुस गर्न नसक्नु अर्को दुःखद पक्ष हो।
मुलुक नयाँ राजनीतिक र प्रशासनिक संरचनामा जाँदा औषधि र स्रोतहरूको व्यवस्थाको जिम्मेवारी कसले लिने भन्ने निक्र्योल नहुँदा स्वास्थ्य सेवा प्रवाह गर्ने विषयमा अन्योल उत्पन्न भएको छ, सरकारी निकायहरूकै बीचमा। औषधि र अन्य स्वास्थ्य सेवा उपलब्ध गराउने काम अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयहरूले गराउँदै आएकोमा त्यसको जिम्मा स्थानीय तहमा गएको छ। तर पुरानो संरचना पूरै विस्थापित नभएकाले गाउँपालिकाले स्थानीय स्वास्थ्य संस्थाहरूका लागि बजेट छुट्ट्याएका छैैनन्। यस्तो संवेदनशील विषयमा अन्योल रहिरहनु उचित होइन।
सर्वसाधारणलाई रोगले गाँज्नुको अरू कारण गरिबी र अज्ञानता पनि हो। गरिबीका कारण राम्रो र स्वस्थ खानेकुरा खान नपाउँदा उनीहरूमा कुपोषण हुन्छ र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। न्याना कपडा लगाउन नसक्दा उनीहरूलाई चिसोबाट जोगिन गाह्रो हुन्छ। अज्ञानताका कारण स्वस्थ जीवनशैली नअपनाउँदा धेरैलाई यी रोगहरू लागेका छन्। फोहोर र अस्वस्थकर खानेकुरा, धामीझाँक्रीको सहारा, खुला ठाउँमा दिसापिसाब गर्ने जस्ता सजिलै सुधार गर्न सकिने अस्वस्थकर जीवनशैलीका कारण रोगको चपेटामा परेका हुन्। शरीरलाई स्वस्थ राख्न वासी र फोहोर चीजहरू नखाने, स्वस्थ र सफा खानेकुरा मात्र खाने, शरीर, वासस्थान र वरिपरिको वातावरण सफा राख्ने हो भने मात्रै धेरै रोग लाग्दैनन्। स्थानीय उत्पादन खाद्यपदार्थ शरीरलाई चाहिने पोषकतत्वहरू प्राप्त हुने किसिमले खाने जीवनशैली बनाउन सक्ने हो कुपोषणको समस्यासँग जुध्न सकिन्छ। स्वस्थ खानेकुरा र जीवनशैलीका बारेमा जनचेतनाका कार्यक्रम जनताका व्यवहारमा सकारात्मक परिवर्तन नआएसम्म निरन्तर रूपमा चलाउनुपर्छ। जनचेतना अभियान सर्वसाधारणले बुझ्ने किसिमको सरल हुनु र निरन्तर रूपमा हुनु पनि उत्तिकै आवश्यक छ।
जाजरकोटलगायत प्रदेश ६ का पहाडी र हिमाली क्षेत्रका जिल्ला भौगोलिक रूपमा मात्र विकट छैनन्, आर्थिक सामाजिक विकासका सूचकांकहरूका आधारमा पनि पुछारतिर पर्छन्। जाजरकोटमा देखिएको महामारीको स्वास्थ्योपचार मात्र होइन, गरिबी र अज्ञानताको पनि उपचार खोज्ने बृहत्, प्रभावकारी र बहुआयामिक विधि खोज्नुपर्छ। जटिल रोगका पनि उपचार सम्भव हुने अहिलेको युगमा सामान्य सरुवारोगहरूका कारण बालबालिकालगायत सर्वसाधारणको मृत्यु हुनु र त्यसले महामारीकै रूप लिनु लाजमर्दो विषय हो, खासगरी सरकारका लागि। त्यसकारण सरकार जिम्मेवार हुनुपर्छ। जाजरकोटका जनताको मात्रै होइन, सम्पूर्ण नेपाली नागरिकको स्वस्थ रहने अधिकारको सुनिश्चित सरकारले गर्न सक्नुपर्छ।