फुर्सदिला भए वाम नेता
काठमाडौं : सरल तरिकाले राजनीति अगाडि बढेको भए अहिले वाम गठबन्धनका नेता अन्य दलका नेताको तुलनामा बढी नै व्यस्त हुन्थे। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पारेका कारण पनि वाम नेताको खटाई अन्य बेलाको भन्दा स्वाभाविक रूपमा बढी नै हुन्थ्यो।
जनादेशअनुसारको नयाँ सरकार गठन, मन्त्रीहरूको छनोट, प्रदेश सरकार गठनदेखि अझ दुई पार्टी (एमाले-माओवादी) बीचको एकतालगायत एजेन्डाको निरुपण गर्नुपर्ने कार्यसूचीमा वाम गठबन्धनका नेतालाई यतिवेला खाने, सुत्नेसम्म फुर्सद नमिल्नुपर्ने हो।
तर, अवस्था त्यस्तो छैन। वाम गठबन्धनका मुख्य नेता नै अहिले फुर्सदिला बनेका छन्। अन्य बेलाको भन्दा पनि अलिक बढी नै एमाले-माओवादीका नेता फुर्सदिला बनेका हुन्। सरकारमा सहभागिता देखिएका झिनाझम्टीमा आफ्नै भित्रबाट ‘चेपुवा’ मा पर्नुपर्ने नेताहरूमा त्यो समस्या पनि अहिले छैन।
फुर्सदिलो यो समयमा नेताहरूमध्ये कोहीले विदेश भ्रमण गरिरहेका छन् भने काठमाडौंभित्रै रहेका नेता पनि सामान्य दोसल्ला ओढाउने, कसैका औपचारिक कार्यक्रममा आतिथ्यता ग्रहण गर्नेजस्ता कार्यक्रममा मात्रै आफ्नो समय खर्चिरहेका छन्।
एमाले अध्यक्ष केपी ओली बैंककमा छन्। उपचारका लागि त्यता लागेका उनी आज (मंगलबार) स्वदेश फर्कने घोषित कार्यक्रम लम्ब्याएर उतै आराम गरी बसेका छन्। यता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि अन्य बेलाको भन्दा फुर्सदिला छन्। उनी आफ्नै निवासमा नेता-कार्यकर्ताको भेटघाटका थप कार्यक्रम बनाउन थालेका छन् भने कुनै संघ÷संस्थाले बोलाएका औपचारिक कार्यक्रममा मात्र सरिक हुन थालेका छन्।
दलीय आन्तरिक छलफल, बैठकका लागि दाहालले पनि दौडधुप गरिरहनुपरेको छैन। जसकारण उनी कहिले राष्ट्रपतिले बोलाएको डिनरमा चार÷पाँच घन्टा नै समय खर्चिरहेका छन् भने कहिले कसैका सम्मान कार्यक्रममा।
सोमबार मात्रै पनि उनले गोकर्णेश्वर नगरको कार्यक्रमदेखि सामान्य भेटघाट र अन्तर्वार्तामै समय खर्चिए। एमाले वरिष्ठ नेता झलनाथ खनालदेखि माधव नेपालसम्म पनि फुर्सदिला छन्। मुलुकको राजनीतिलाई गति दिने एजेन्डाको छलफलमा नेताद्वय नै छैनन्।
नेता नेपाल पनि बंगलादेश पुगेर स्वदेश फर्केका छन्। बंगलादेश वर्कर्स पार्टीको सम्मेलनमा सहभागी भई नेपाल पुस ३० मा मात्रै स्वदेश फर्किएका हुन्। एमाले महासचिव ईश्वर पोखरेल सोमबार नुवाकोटको तारुकाको गोरुजुधाई कार्यक्रममा सहभागी हुन पुगे।
एमाले नेता सुवास नेम्बाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत नेता राष्ट्रपतिले आयोजना गरेको औपचारिक चियापानमा व्यस्त देखिए।
एमाले सचिव प्रदीप ज्ञवाली कांग्रेसले राजनीतिक धारालाई नै उल्टो प्रवाहमा बगाउन खोजेका कारण स्वाभाविक रूपमा नेता फुर्सदिला हुन पुगेको तर्क गर्छन्।
‘राजनीति नै सपाट रूपमा अगाडि बढ्नुपर्नेमा निर्वाचन आयोगले समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न ढिलाइ गर्नु, कांग्रेस अझै पनि सत्ता लम्ब्याउन चाहनु, वाम गठबन्धनलाई भत्काउन-टुटाउन कसरी सकिन्छ ? आफ्नो स्वार्थ कसरी पूरा गर्न सकिन्छ भनेर लागेका कारण राजनीतिले गति लिन सकेन’, ज्ञवालीले अन्नपूर्णसँग भने, ‘राजनीति नै गिजोलिएको कारण स्वाभाविक रूपले यस्तो अवस्था आएको हो। तैपनि आन्तरिक रुपमा गर्नुपर्ने कामै नभएका होइनन्, भइरहेका छन्।’
माओवादी केन्द्रका नेता अग्नि सापकोटा पनि नेताहरू अहिले फुर्सदिलो हुनुपरेको स्विकार्छन्। ‘यो बेला भनेको हामी एमाले-माओवादी दुवै पार्टी व्यस्त हुनुपर्ने बेला थियो तर फुर्सदिलाजस्ता भएका छौं, यस्तो नहुनुपर्ने हो तर केही समय ढिला भएको छ’, नेता सापकोटाले भने, ‘सरकारकै लयमा निर्वाचन आयोग पनि गयो, ओलीजी पनि बिरामी भएर यतिबेला बैंकक जानुभयो। यी सबै कारण गतिरोध भएको छ। अब उहाँ (ओली) फर्केपछि गति लिन्छ।’
एमाले अध्यक्ष ओलीको बैंकक भ्रमणका बेला राष्ट्रियसभाका साझा उम्मेदवार चयन गर्नेदेखि प्रदेश सरकार गठनको गृहकार्यसम्म गर्न भनेर पार्टी एकता संयोजन समितिले कार्यदल गठन गरेका छन्। तर, कार्यदलको आन्तरिक गृहकार्य भए पनि अब शीर्ष नेताहरूमै गएर अड्किएको छ। कार्यदलले मुख्य शीर्ष नेतासँगको छलफलपछि मात्रै थप विषय अगाडि बढाउने भन्दै ३ माघसम्म बैठक नै रोकेका छन्।
तर, ओलीको बैंकक बसाइँ लम्बेपछि कार्यदलको छलफल सामान्य औपचारिकतामा मात्र सीमित हुने सम्भावना बढेको छ।
‘ओलीजी बैंकक भएसम्म कार्यदलले पनि गति लिँदैन। हाम्रो अध्यक्ष (दाहाल) र उहाँ (ओली)ले दिशानिर्देश गरेको आधारमा एउटा÷दुइटा बैठक कार्यदलका साथीहरूले गर्नुभयो। फेरि छिचोलेर कुरा गर्न कार्यदललाई पनि अध्यक्षद्वयकै अर्काे निर्देशन चाहियो, त्यही भएर गत्यावरोध भएको छ,’ सापकोटाले भने।