धुलोले मर्का
धुलोको समस्या हाम्रो मुलुकको मात्र होइन, प्रदूषणप्रतिको आफ्नै संवेदनहीनताका कारण हामी धुलोजन्य प्रदूषणको मार खेप्न बाध्य छौं। संसारभरका सहरमध्ये ८० प्रतिशत सहर वायु प्रदूषणको मर्कामा छन्। त्यसमा काठमाडौं उपत्यकाका सहर पनि पर्छन्। वायु प्रदूषणका अनेक कारणमध्ये धुलो एक हो। धुलो हुनुको मुख्य कारण भने जारी सडक पूर्वाधार निर्माण हो। त्यस्तै, सहर र बस्ती वरपरका इँटाभट्टा, क्रसर र अव्यवस्थित रूपमा सञ्चालित कलकारखाना पनि धुलोका कारण हुन्। गाउँका सडक त धुलाम्य छन् नै, राजमार्गमा पनि धुलोले खपिनसक्नुको सास्ती छ। हाम्रा मुख्य सहरमा धुलो प्रकोप नै बनेको छ। बिहान सफा लुगा लगाएर घरबाहिर निक्लेको मान्छे बेलुका फर्कंदा धुलोले कपडाको रङ नै बदलिएर चिन्नै नसकिने अवस्था छ।
अवस्था यस्तो छ कि धुलो नै हाम्रो दैनिक जीवन भएको छ। देशको एउटै अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशीहरू नेपाल छिर्नेबित्तिकै बाटा छेउछाउका घरका छानामै धुलो भरिएको देख्छन्। निर्माणाधीन सडकमा धुलो सामान्य भयो, कालोपत्रे गरिएका सडकका दायाँबायाँ पनि सवारी साधनले बोकेर ल्याएको र वायुमण्डलबाट आएको धुलो थुप्रिएकै छ। वायु छिर्ने ठाउँमा स्वाभाविक रूपमा धुलो छिर्ने भयो। सडक वरपरका घर, बगैंचा, चोटाकोठा, दराज, फाइल, सिसा सबैतिर धुलो पुगेको छ। सार्वजनिक बसमा त धुलो पुछ्ने जाँगर पनि उति नलगाउलान् ड्राइभर र कर्मचारी, सार्वजनिक ट्याक्सीलगायत साधनलाई नियमित सरसफाइ गर्दागर्दै पनि धुलोले उस्तै फोहोर बनाएको छ। धुलोकै कारण तुवाँलो लाग्ने र सास फेर्न असहज हुने विषय त छँदै छ।
धेरै सवारी आवागमन हुने सडक छेउछाउमा मात्र होइन, धुलोको समस्या सर्वत्र छ। यसको अर्थ हो, धुलो प्राविधिक विषय मात्रै होइन, योसँग हाम्रो सरसफाइको चेतना पनि जोडिएको छ। खासगरी सहरबजारमा नगरपालिकाले फोहोर उठाउने गर्छ तर धुलोलाई त्यति वास्ता गर्दैन। सफाइ कर्मचारी अन्य खालका फोहोर लैजान्छन् तर धुलो लैजान मान्दैनन्। सडकसँग जोडिएका व्यवसायमा संलग्नहरूले बेलाबेला सडकमै कुचो लगाएर धुलो उठाउने र पानी छ्याप्ने गर्छन् तर तीमध्ये कतिपयले उठाएको धुलो सडककै बीचमा छाड्छन्। मानौं, सडकको बीचमा पुर्याएपछि धुलो फेरि फर्कंदैन। डब्लूएचओको मापदण्डमा प्रतिक्युबिक मिटर २.५ पार्टीकुलेट म्याटर (पीएम) को धुलो २५ माइकोग्रामसम्मलाई सुरक्षित मानिन्छ। केही पहिले गरिएको मापनअनुसार काठमाडौंको रत्नपार्कमा यो १०३.५ माइक्रोग्राम पाइयो। धुवाँको तुलनामा धुलो उति हानिकारक नभए पनि मसिना धुलोका कणले फोक्सोलाई हानि पुर्याउँछ।
सहरबजारका धुलोको मूल कारक खण्डखण्डमा र ढिलो गरेर सडक निर्माण हो र खण्डखण्डमै सडक पिच गर्न सक्दा अथवा द्रुतगतिमा काम सक्दा धुलो कम हुन सक्थ्यो। त्यसमाथि निर्माणाधीन सडकमा तीव्र गतिमा सवारी गुड्दा त्यसले धुलोलाई सर्वत्र फैलाएको छ। धुलोकै विषयमा परेको रिटमा करिब एक वर्षअघि सर्वोच्च अदालतले धुलो नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न अन्तरिम आदेश जारी गर्यो। त्यसपछि सडकमा यदाकदा सांकेतिक रूपमा पानीसमेत छर्किने प्रचलन सुरु भएको छ। काठमाडौं महानगरपालिकाले सडकमा धुलो नउडाई धुलो सफा गर्ने बु्रमर खरिद प्रक्रिया अघि बढाएको छ तर यसमा बारम्बार असहजता र ढिलाइ देखिएको छ। अन्यत्र पनि यस्तै आधुनिक ब्रुमर किनेर कमसेकम प्रमुख सडकका धुलो उठाउन आवश्यक छ।
बच्चा र महिला धुलोलगायत प्रदूषणबाट बढी प्रभावित बन्छन्। धुलोलगायत सबै खालका प्रदूषणबाट जोगाउने जिम्मा स्थानीय निकायको हो। सँगसँगै, नागरिक पनि आफैं धुलोलगायत प्रदूषणबाट बच्ने, घरवरपर युवा क्लब या महिला समूह बनाएर नियमित सफाइ गर्नुपर्छ। सडक वरपर व्यवसाय गर्नेहरूले सडक आफ्नै ठानी सडकको धुलो उठाएर डस्टबिनमा फाल्दा त्यसले अन्ततः सबैको हित हुन्छ।