क्रिकेट खेल्दै नेतादेखि कलाकार
काठमाडौं : कुनै समय टीट्वेन्टी विश्वकपसमेत खेलिसकेको नेपाली क्रिकेट पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाटै निलम्बित अवस्थामा घरेलु क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) नै निलम्बनमा परेपछि खेलाडीको प्रदर्शनदेखि लिएर समग्र खेलकुद विकासमै त्यसको प्रत्यक्ष असर पर्नु स्वाभाविक हो।
नेपालका लागि नतिजामुखी खेलका रूपमा देखिएको क्रिकेट पछिल्लो समय समस्यामा परेपछि खेलाडी र समर्थकसम्म निराश बन्दै गएका छन्। यस्तै विषम परिस्थितिबीच क्रिकेट खेलप्रतिको उत्साह पुनः जगाउने र नयाँ पुस्तालाई समेत यो खेलप्रति आकर्षित गराउने उद्देश्यले विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरू आगामी शुक्रबार क्रिकेट खेल्न कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओर्लने भएका छन्।
घरेलु क्रिकेटको खस्किँदो खासलाई जोगाउन फरक खालको सन्देश दिने उद्देश्यले विभिन्न राजनीतिक दलका नेतादेखि लिएर राष्ट्रिय क्रिकेट खेलाडी र चर्चित कलाकारसम्म क्रिकेट मैदानमा ओर्लन लागेका हुन्। मदन भण्डारी स्पोर्टस् एकेडेमीले माघ ५ र ६ गते राजधानीमा पहिलोपटक आयोजना गर्न लागेको ‘ग्रान्ड क्रिकेट कार्निभल’को पहिलो दिन विभिन्न क्षेत्रका व्यक्तित्वलाई समावेश गरेर प्रदर्शनी खेल हुन लागेको हो।
प्रदर्शनी खेलमा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसँगै राजनीतिक दलका नेता, प्रतिनिधिसभा र प्रदेशसभाका नवनिर्वाचित सदस्यसँगै कलाकारहरू पनि ब्याट र बल बोकेर मैदानमा ओर्लने जानकारी एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले दिए। प्रदर्शनी खेलमा नेकपा एमालेबाट ईश्वर पोखरेल, योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, पूर्वयुवा तथा खेलकुदमन्त्री सत्यनारायण यादव र नवीना लामाले सहभागिता जनाउने अध्यक्ष श्रेष्ठले बताए।
यसैगरी नेपाली कांग्रेसबाट शशांक कोइराला, वर्तमान युवा तथा खेलकुदमन्त्री राजन केसी, विश्वप्रकाश शर्मा र रामहरि खतिवडा क्रिकेट खेल्न मैदानमा ओर्लनेछन्। यसैगरी माओवादी केन्द्रबाट जनार्दन शर्मा, राम कार्की, अमनलाल मोदी र हिमाल शर्माले प्रदर्शनी खेल खेल्नेछन्। प्रदर्शनी खेलका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका विराज विष्ट र फोरमका हरिनारायण रौनियार पनि मैदानमा ओर्लने जानकारी अध्यक्ष श्रेष्ठले दिए।
यसैगरी कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भुवन केसी, दीपकराज गिरी, दीपा निरौला, दिनेश डीसी, आशीष शाह, निर्मल शर्मा, निश्चल बस्नेत र श्वेता खड्काले पनि प्रदर्शनी खेलमा सहभागिता जनाउने प्रतिबद्धता जनाइसकेको श्रेष्ठले बताए।
‘नेपालका लागि क्रिकेट नतिजामुखी खेल हो। भविष्यमा नेपाललाई खेल क्षेत्रबाट आर्थिक समृद्धिसँग जोड्ने खेल पनि क्रिकेट नै हो। त्यसैले क्रिकेट खेलको प्रमोसन गर्ने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेका हौं’, उनले भने, ‘विभिन्न राजनीतिक दलका नेतालाई क्रिकेट खेलाएर हामीले क्रिकेट खेलको विकासमा राजनीतिक प्रतिबद्धता पनि खोजेका हौं।’
प्रदर्शनी खेलमा राष्ट्रिय खेलाडी र अन्य क्षेत्रका व्यक्तित्वलाई मिलाएर दुई टोली बनाइने जानकारी एकेडेमीका क्रिकेट विभाग अध्यक्ष सुदीप शर्माले दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्निभलमा क्रिकेटका नयाँ प्रतिभा खोज्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम पनि सञ्चालन गरिनेछ। राष्ट्रिय प्रशिक्षकलाई सहभागी गराएर सञ्चालन गरिने ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमबाट उत्कृष्ट १० जना विद्यार्थी खेलाडी छनोट गरी उनीहरूलाई एक वर्षका लागि क्रिकेट प्रशिक्षणको छात्रवृत्ति र क्रिकेटका खेल सामग्री पनि प्रदान गरिनेछ। ‘ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी हुन हालसम्म विभिन्न विद्यालयका पाँच सयभन्दा बढी विद्यार्थीले नाम दर्ता गराइसकेका छन्’, शर्माले भने।
कार्निभलको अन्तिम दिन घरेलु क्रिकेटका सम्बद्ध पक्षहरूलाई समावेश गरेर अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने र त्यसबाट आएको निष्कर्षलाई कार्यान्वयन तहमा ल्याउन सम्बन्धित निकायमा पेस गरिने श्रेष्ठले बताए। कार्निभलमा उपत्यकामा रहेका विभिन्न क्रिकेट एकेडेमीले आफ्ना स्टलसमेत राख्ने भएका छन्। कार्निभलमा कैलालीको धनगढी र सिन्धुपाल्चोकको एकेडेमीले पनि सहभागिता जनाउने बताइएको छ। यसैगरी कार्निभलमा क्रिकेटसम्बन्धी फोटो र क्रिकेट खेलसँग सम्बन्धित सामग्रीको प्रदर्शनी पनि गरिनेछ।