सडकमा गाएरै गुजारा
भोजपुर : हार्मोनियम, मादललगायत वाद्यवादन बोकेर भोजपुर सदरमुकामका गल्ली-गल्लीमा ६ दृष्टिविहीन गीत गाइरहेका भेटिन्छन्। यसरी गीत गाएबापत मनका धनीहरूले दिने पैसाले उनीहरूको दैनिक गुजारा चलिरहेको छ।स्नातक तहसम्म अध्ययन गरेकी दृष्टिविहीन इलामकी सपना खड्काले पढाइ खर्च जुटाउन गीत गाएर विभिन्न ठाउँ पुग्ने गरेको उल्लेख गरिन्। ‘घरबाट सहयोग भए यसरी हिँड्नुपर्दैनथ्यो होला। घरपरिवारले नहेरेपछि यसरी नै दैनिकी चलाउनुपरेको छ’, उनले भनिन्, ‘हाम्रो समाजमा हामीजस्ता दृष्टिविहीनलाई बुझ्ने भावना छैन, भावना भइदिए हामीजस्ता धेरैले अर्कै ज्योति पाउँथ्यौं होला।’
उनका अनुसार दृष्टिविहीनलाई सरकारबाट न कुनै सेवासुविधा छ न त गाँस, बासको कुनै ठेगान नै। दृष्टिविहीनलाई राज्यका तर्फबाट गाँस, बासको व्यवस्था नहुँदा आफूजस्तै शारीरिक अपांगता भएकाहरूलाई सहयोग गर्नका लागि पनि सामूहिक रूपमा सांगीतिक अभियानमा लागेको सुदूरपश्चिम कैलालीका सागर गौतमले सुनाए। भने, ‘राज्यबाट हाम्रो लागि गाँस, बास, कपासको व्यवस्था छैन। बाँच्नु त पर्यो, गीत गाएर संकलन हुने केही पैसाले गुजारा चलाउने गरेका छौं।’
दृष्टिविहीनलाई पथप्रदर्शकका रूपमा सहयोग पुर्याइरहेका भीमबहादुर तामाङले दृष्टीविहीनलाई हिँडडुल गर्न साह्रै समस्या हुने बताए। आफ्नो गुजारा मात्र होइन, समाजका लागि केही गर्न सांगीतिक अभियानमा लागेको उनको भनाइ छ। ‘उकालो-ओरालो, अप्ठ्यारोमा हिँडाइराख्दा उहाँहरूलाई गाह्रो हुन्छ’, उनले भने, ‘भिराला ठाउँमा जोगाउनै पर्यो, बाटो देखाउनुपर्यो। उहाँहरूलाई यसरी अन्दाजमा हिँड्दा साह्रै गाह्रो हुने गर्छ।’