आर्चरीका नयाँ स्टार

आर्चरीका नयाँ स्टार

काठमाडौं : नेपालमा थकालीहरूको पुख्र्यौली खेल हो, धनुष–बाण। धनुष–बाणको आधुनिक स्वरूप आर्चरी खेलमा पनि थकाली समुदायका खेलाडीले नै बाजी मारिरहेका छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका ठूला स्पर्धामा अहिले थकाली समुदायकै वर्चस्व देखिन्छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसै साता दशरथ रंगशालामा आयोजना गरेको राखेप च्याम्पियनसिपअन्तर्गत आठौँ राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा पुरुष र महिला दुवै विधामा नयाँ खेलाडीले बाजी मारेका छन्।

रिकर्भ व्यक्तिगत ७० मिटर पुरुषतर्फको उपाधि मीन गौचनले जिते। सोही स्पर्धाको महिलामा त्रिभुवन आर्मी क्लबकी आयशा तामाङले स्वर्ण जितिन्। महिलामा स्वर्ण जितेकी तामाङ पहिलो पटक खुला स्पर्धामा च्याम्पियन बनेकी हुन्। थासाङ स्पोट्र्स क्लबका मीन स्वयम्भू आर्चरी क्लबका प्रेमप्रसाद पुनलाई फाइनलमा ७–३ अंकले पराजित गर्दै स्वर्ण जित्दै नयाँ च्याम्पियन बने।

थकाली समाजमा परम्परागत धनुष–बाणमा रमाउँदै आएका मीनले कुनै पनि ठूलो प्रतियोगितामा भाग लिएको यो पहिलो पटक हो। ‘यसअघि थकाली समाजले आयोजना गरेको परम्परागत बाँसको धनुष–बाण खेल्थेँ,’ उनले भने, ‘साथीभाइसँग त्यसैमा रमाइलो लाग्थ्यो। साथीहरूको सल्लाहपछि आर्चरी खेल्न थालेको एक वर्ष भयो। राष्ट्रिय प्रतियोगितामा ठीकै खेल्छु जस्तो लागेको थियो।

तर, सागमा पदक जितेका प्रेमलाई हराएर पहिलो बन्दा खुशीको सीमा छैन।’ ४१ वर्षको उमेरमा स्वर्ण जितेपछि उनलाई यसअघि खेल्न पाएको भए निकै राम्रो हुन्थ्यो भन्ने लागेको छ। एकाएक राष्ट्रिय च्याम्पियन भएपछि आर्चरीमा उनको मोह पनि ह्वात्तै चुलिएको छ। ‘नेपाल आर्चरी संघले चैतमा राष्ट्रिय टोलीको खेलाडी छनोट गर्छ भन्ने सुनेको छु,’ मीनले भने, ‘अहिले त्यसैको तयारीमा लागेको छु।

aachari1

धनुष–बाणभन्दा आर्चरीको प्रविधि अलि फरक रहेछ। तर, मलाई धेरै गर्न सक्छु जस्तो लाग्छ।’‘छनोट खेलमा सफलता हात पार्दै आगामी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण दिलाउने सोच छ,’ मीनले थपे।

आयशाको लक्ष्य एसियाड 
सात वर्ष भयो आयशा तामाङले आर्चरीको रिकर्भ समाएको। नक्खुमा परिवारसँग बस्दै आएकी आयशाले दिदी ज्ञानु अवालेसँग आर्चरी खेल्न सुरु गरिन्। इन्डोर स्पर्धामा यसअघि पनि सफलता हात पारेकी आयशाले लामो दुरी रिकर्भ व्यक्तिगत ७० मिटरमा स्वर्ण जितेको पहिलो पटक हो। फाइनलमा उनले आफ्नै दिदी ज्ञानुलाई ६–४ अंकले पराजित गर्दै स्वर्ण हात पारिन्।

आर्मीका खेलाडी दिदी– बहिनीको फाइनल भिडन्त निकै रोचक बन्यो। यसअघि च्याम्पियन बन्दै आएकी ज्ञानुलाई हराएर आयशा आर्चरीकी नयाँ स्टार भएकी छिन्। यस पटक उनले छ प्रतिस्पर्धीलाई पाखा लगाइन्। ‘दिदीलाई हराउँदा खासै नरमाइलो लागेन,’ उनले भनिन्, ‘मलाई दिदीले नै खेलमा ल्याएको हो। अभ्यास पनि दिदीसँग गर्दै आाएकोले खासै अप्ठ्यारो भएन। तर, सुरुमा अलि नर्भस चाहिँ भएकी थिएँ।’

लामो दुरीमा इन्डोरमा भन्दा आउट डोरका खेल्न केही गाह्रो हुने आयशाको भनाइ छ। ‘लामो दुरीमा स्वर्ण जित्दा खुशी लागेको छ,’ उनले भनिन्, ‘पहिला आर्चरीबारे खासै थाहा थिएन। दिदीसँग खेल हेर्न गएपछि यो पनि ठूलो खेल रहेछ भन्ने थाहा भयो।’ २१ वर्षीया आयशाले खेलसँगै पढाइलाई पनि अगाडि बढाएकी छिन्।

ओमेगा कलेजमा व्यवस्थापन संकायमा स्नातक पढ्दै गरेकी उनी अहिले इन्डोनेसियामा हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) मा टोलीमा पर्ने लक्ष्यका साथ मेहनत गरिरहेकी छिन्। ‘मेहनतले नै मलाई लामो दुरीको राष्ट्रिय च्याम्पियन बनायो,’ उनले भनिन्, ‘अहिले रंगशालामा दैनिक अभ्यास गरिरहेकी छु।

एसियाड खेल्न पाएँ आगामी सागमा स्वर्ण जित्ने लक्ष्य लिएकी छु।’ राखेप च्याम्पियनसिपअन्तर्गत आर्चरीमा पुरुष रिकर्भ व्यक्तिगत ७० मिटरमा कास्की आर्चरी क्लबका तिलक पुनमगरले कास्य पदक जिते। सोही स्पर्धाको महिलातर्फ कञ्चनपुर आर्चरी क्लबकी तमन्ना क्षत्री तेस्रो भइन्। यसै गरी कम्पाउन्ड ५० मिटर व्यक्तिगत पुरुषको उपाधि राजधानी आर्चरी क्लबका सनातन मल्लले जिते।

पुरुष स्ट्यान्डर्ड व्यक्तिगत ३० मिटर पुरुषतर्फको प्रतिस्पर्धामा स्वयम्भू आर्चरी क्लबका धनेन्द्र छन्त्यालले स्वर्ण हात पारे। व्यक्तिगत ३० मिटर महिलातर्फ अन्नपूर्ण आर्चरी क्लबकी केशरी आलेमगरले स्वर्ण जितिन्। पुरुष स्ट्यान्डर्ड ३० मिटर टिमतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जित्यो। च्याम्पियनसिपमा देशभरका ७८ खेलाडीले विभिन्न छ विधामा प्रतिस्पर्धा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.