तुमगाउँ छाउगोठ मुक्त
मुगु : गमगढी छायाँनाथ रारा नगरपालिका–३ को तुम गाउँलाई मंगलबार छाउ गोठ मुक्त घोषणा गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेकले आयोजना गरेको कार्यक्रममा छाउगोठ मुक्त गाउँ घोषणा गरिएको हो ।
महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र छायाँनाथ रारा नगरपालिकाको समन्वयमा ३६ घरधुरी रहेको गाउँलाई छाउगोठ मुक्त घोषणा गरिएको ३ नम्बर वडाका अध्यक्ष नरबहादुर रावलले बताए ।
गाउँमा घरको दोस्रो तलामा सुरक्षित कोठा बनाएर महिनावारी भएका छोरी, बुहारीलाई बस्ने व्यवस्था गरिएको छ । अहिले कुनै पनि घरमा महिनावारी भएका महिला गोठमा बस्ने अवस्था नरहेकाले छाउपडी मुक्त गाउँ घोषणा गरिएको हिरिसडेक मुगुका महिला मानव अधिकार कार्यक्रम अधिकृत सञ्जु तिमिल्सिनाले बताइन् ।
७१ सालमा मध्यपश्चिममा नै पहिलो पटक साविक रोवा गाविसको शोभा गाउँलाई छाउ गोठ मुक्त घोषणा गरिएको थियो । हाल नगरपालिकाका अधिकांश गाउँमा छाउगोठ हटाउने तयारी भइरहेको तिमिल्सीनाको भनाई छ ।
यसअघि गाउँमा छोरी बुहारी महिनावारी हुँदा घिऊ, दहि, दुध, मह खान नपाउने, फलफूलका बोट छुन नहुने, गाई छुन नहुने , घरको जग छुँदा देवी रिसाएर अनिष्ट हुने मान्यता प्रचलनमा थिए । साथै महिनावारी भएका बेला घर भन्दा टाढा गोठमा सात दिनसम्म बस्नुपर्ने चलन थियो ।