नेमार रियल मड्रिड, रोनाल्डो म्यानचेस्टर युनाइटेड !
एजेन्सी : घरेलु लिगमा यो सिजन निकै खराब नतिजाबाट गुज्रिरहेको स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलियन स्ट्राइकर नेमारलाई अनुबन्धको प्रयास गरिरहँदा क्लबकै प्रभावशाली पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने क्लब छाड्ने तयारी गरेको समाचार सार्वजनिक भएको छ। रोनाल्डोले रियलका प्रशिक्षक फ्लोरेन्टिनो पेरेजमाथि धोका दिएको आरोप लगाएका छन्।
स्पेनी सञ्चारमाध्यमहरूले जनाएअनुसार गत सिजन च्याम्पियन्स लिग फाइनलमा गोल गर्दै टोलीलाई उपाधि दिलाएपछि अध्यक्ष पेरेजले रोनाल्डोलाई आकर्षक प्रस्तावसहित सम्झौता नवीकरण गर्ने वाचा गरेका थिए। यद्यपि त्यसको वर्ष दिन बित्न लाग्दा पनि वाचा पूरा गर्ने संकेत नदेखिएपछि रोनाल्डोले अध्यक्ष पेरेजमाथि धोका दिएको आरोप लगाएका हुन्। सोही कारण रोनाल्डोले आफ्नो पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्कने योजना बनाएको दाबी गरिएको छ।
रोनाल्डोले म्यान युनाइटेड फर्कने आफ्नो निर्णय उनका नजिकका केही साथीहरूलाई समेत सुनाइसकेको स्पेनी मिडियाले गरेको छ। रोनाल्डोेले यस अघि सन् २००३ देखि २००९ सम्म म्यान युनाइटेडबाट फुटबल खेलेका थिए। उनी एलेक्स फर्गुसनको प्रशिक्षणमा रहेको म्यान युनाइटेडबाटै युरोपेली फुटबलमा उदाएका थिए। हाल म्यान युनाइटेड उनकै पूर्वप्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा छ।
टोलीले सुरुवातबाटै घरेलु लिगमा कमजोर प्रदर्शन गरेपछि रियलले यसै सिजन बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका नेमारलाई अनुबन्धको प्रयास गरिरहेको छ। पछिल्लो रिपोर्टअनुसार रियलले नेमारलाई रुस विश्वकपपछि ठूलो रकमको प्रस्ताव गर्ने तयारी गरेको छ। रियलका अध्यक्ष पेरेजले नेमारलाई अनुबन्ध गर्न आफूले रोनाल्डोलाई बेच्न तयार रहेको र त्यसमाथि पनि थप रकम खर्चन तयार रहेको बताएको बेलायती पत्रिका डेल्ली मेलले जनाएको छ। नेमार यसै सिजनको सुरुवातमा रियलको कट्टर प्रतिस्पर्धी क्लब बार्सिलोना छाडेर पीएसजी पुगेका हुन्।