कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार : नेताका आ-आफ्नै दाउ

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार :  नेताका आ-आफ्नै दाउ

 

काठमाडौं : वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दबाबपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका छन्। देउवाले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी केन्द्रीय समिति बैठक बोलाएका हुन्।

सभापति देउवाले राष्ट्रियसभा चुनावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाए पनि पौडेल समूहले भने चुनावी समीक्षा सकेर मात्रै राष्ट्रियसभाको अनिवार्य एजेन्डामा प्रवेश गर्नुपर्नेमा जोड दिएको छ।

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन प्रधानमन्त्री देउवामाथि दबाब बढाएका थिए। कांग्रेसभित्रै कोइराला परिवारका नेता हस्तीले पनि पार्टी संस्थागत रूपमा नचलेको, नेतृत्व कमजोर भएको जस्ता आरोप लगाउँदै केन्द्रीय समिति बैठक माग गर्न थालेपछि देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन्।

केन्द्रीय समिति बैठक बोलाउनुअघि मंगलबार पनि देउवाले वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्ण सिटौलालगायत शीर्ष नेतासँग अनौपचारिक छलफल गरेका थिए। त्यसपछि उनले केन्द्रीय समिति बैठक बोलाएका हुन्।

बिहीबारको बैठक तत्काल राष्ट्रियसभा निर्वाचन केन्द्रित हुने र तत्पश्चात् मात्रै चुनाव पराजयको गम्भीर समीक्षा हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रवक्ता शर्माले भने, ‘बैठकको प्रमुख एजेन्डा राष्ट्रियसभाको निर्वाचन नै हो। त्यसपछि चुनावमा पराजयबारे गम्भीर समीक्षा हुनेछ।' तर, पौडेल पक्षले भने अबको केन्द्रीय समिति बैठकलाई राष्ट्रियसभा निर्वाचनमा मात्रै केन्द्रित गर्न चाहेको छैन।


देउवा पक्ष : केन्द्रीय समिति बैठक राष्ट्रियसभा चुनाव केन्द्रित गर्ने र त्यसपछि मात्रै पार्टी पराजयको समीक्षामा क्रमशः प्रवेश गराउने।

पौडेल पक्ष : पार्टी पराजयलगायत समग्र विषयमा पहिले गम्भीर समीक्षा गर्ने र त्यसपछि मात्रै राष्ट्रियसभा चुनावको छलफल गर्दै महासमिति बैठक बोलाउनुपर्ने।

युवा नेता : पराजय समीक्षा गर्न महासमिति हुँदै विशेष महाधिवेशन वा शीघ्र महाधिवेशन बोलाउनुपर्ने।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लगत्तैदेखि कांग्रेसमा चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग भए पनि यसअघि बसेको एउटा बैठक समानुपातिक उम्मेदवारका विषयमा मात्र केन्द्रित हुन पुगेको थियो। बिहीबारका लागि बोलाइएको बैठक पनि कतै त्यसैगरी राष्ट्रियसभा चुनावमा मात्र केन्द्रित गरेर सभापतिले टुंग्याउने त होइन भन्ने आशंका पौडेल पक्षको छ।

पौडेल पक्षले राष्ट्रियसभा चुनाव छलफलको अनिवार्य एजेन्डा भएका कारण उक्त एजेन्डा अगाडि नै पार्टीको समग्र समीक्षा हुनुपर्नेमा जोड दिने तयारी गरेको छ। पौडेल पक्षीय केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बैठकमा पार्टी पुनःसंरचनाको मुद्दालाई प्राथमिकतासाथ उठाइने जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘पार्टी पुरानै संरचनाबाट अगाडि बढ्न सक्दैन, गाउँ तहदेखि नै अब पार्टीमा आमूल परिवर्तन हुनु जरुरी छ। यसका लागि हामी बैठकमा विशेष रूपमा प्रस्तुत हुन्छौं।'

उनले विधानविपरीत गठित समिति भंग गर्दै विधानअनुसार नयाँ समिति गठन गर्ने विषयमा केन्द्रीय समिति बैठकमा माग गर्ने बताए।

‘११ सदस्यीय हुनुपर्ने संसदीय बोर्ड कति सदस्यीय छ हामीलाई थाहा छैन, कार्यसम्पादन समितिको हातल पनि यस्तै छ,' नेता जोशीले भने, ‘यस्ता विधानविपरीत बनाइएका समिति विघटन हुनुपर्छ।'

केन्द्रीय समितिको बैठकलगत्तै महासमिति बोलाउनसमेत पौडेल पक्षले सभापति देउवालाई दबाब दिँदै आएको छ।

पार्टी पराजयपछि नेतृत्व हस्तान्तरणको मुद्दालाई अभियानकै रूपमा अगाडि बढाइरहेका कांग्रेसका केही युवा नेताले विशेष महाधिवेशनको माग गर्दै आएका छन्। सभापति देउवा भने केन्द्रीय समितिपछि महासमिति बैठक बोलाउने मनस्थितिमा छन्।

कोइराला त्रयको भेट

संस्थागत रूपमा पार्टी सञ्चालन नगरेको र कांग्रेसलाई कमजोर बनाएको निष्कर्षसहित कांग्रेसभित्र बलियो रहेको कोइराला परिवारका तीन नेताले पनि आफ्नो सक्रियता बढाएका छन्।

महामन्त्री डा.शशांक कोइराला, नेताद्वय डा.शेखर कोइराला र सुजाता कोइरालाले आफूहरू एकढिक्का रहेको र कांग्रेस पुनर्जागरणका लागि मिलेरै अगाडि आउन खोजेको सन्देश दिन चाहिरहेका छन्।

सभापति देउवाले केन्द्रीय समिति बैठक बोलाएकै दिन एकढिक्का रहेको सन्देश दिन कोइराला परिवारका नेता हस्ती छलफलमा थिए।

नेत्री सुजाताको मण्डिखाटारस्थित निवासमा लन्चसहित बसेको नेता त्रयको छलफलमा चुनावी समीक्षाका साथै पार्टीमा मौलाउँदो गुट अन्त्यबारे छलफल भएको बैठकमा सहभागी नेता शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

उनका अनुसार चुनावपछि पहिलो पटक भएको तीन कोइरालाबीचको भेटमा चुनावमा पार्टी पराजयबारे लामो छलफल भएको थियो। पार्टी पराजयको गम्भीर समीक्षा हुनुपर्नेमा नेता त्रयले जोड दिएको थपलियाले जनाए।

पार्टी संस्थागत रूपमा पनि चल्न नसकेको उनीहरूको बुझाइ छ। पार्टी नेतृत्व कमजोर बन्दा राष्ट्रिय राजनीतिमा पनि कांग्रेसको भूमिका कमजोर बनेको उनीहरूको निष्कर्ष छ। साथै, उनीहरूले केन्द्रीय समिति हुँदै महासमिति बैठक बोलाएर कांग्रेसभित्रको समस्या समाधान खोजी गर्नुपर्नेमा जोड दिएका छन्।

पछिल्लो समय भ्रातृसंस्थाभित्र देखिएको विवादले कांग्रेसलाई थप कमजोर बनाएको भन्दै उनीहरूले आफ्नो तहबाट पार्टीलाई एकढिक्का बनाउन पहल गर्नेबारे छलफल भएको थियो।

कोइराला त्रयले यसअघि पनि साउन पहिलो साता कांग्रेसभित्रको आन्तरिक जीवनमा केन्द्रित रहेर छलफल गरेका थिए।

बीपीपुत्र महामन्त्री शशांक कोइराला निवास टोखामा त्यसबेला पनि नेता त्रयले ब्रेकफास्टसहितको छलफल गरेर आफूहरूको भेट भएको फोटो सार्वजनिक गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.