शिक्षा र शोभा दोस्रो चरणमा
काठमाडौं : एपीएफकी शिक्षा श्रेष्ठ र शोभा गौचनले राखेप च्याम्पियनसिप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। शिक्षाले सुदूरपश्चिमकी नीलिमा महरालाई २३-२१, २१-५ ले पराजित गरिन्। यस्तै शोभाले पसुन्ता खत्रीलाई २१-७, २१-१२ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरिन्। महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगितामा मध्यमाञ्चलकी तारा आलेले पश्चिमाञ्चलकी आकृति केसीलाई २१-८, २१-१९ ले पराजित गरिन्। पूर्वाञ्चलकी सुनैना मुखियाले सुदूरपश्चिमकी विष्णा विष्टलाई २१-११, २१-१४ ले हराइन्।
यसैगरी पूर्वाञ्चलकी सीमा राजवंशीले मध्यपश्चिमकी पुष्पा शाहीलाई २१-४, २१-५, आर्मीकी अनुमाया राईले मध्यपश्चिमकी कामना ओलीलाई २१-४, २१-३, मध्यमाञ्चलकी सोफी खत्रीले पश्चिमाञ्चलकी सुन्दरा खनाललाई २१-१२, २१-७, पूर्वाञ्चलकी नीता लम्सालले पश्चिमाञ्चलकी शकुन्तला भुसाललाई २१-१०, २१-९, सेनाकी रसिला महर्जनले मध्यपश्चिमकी रीतु लिगललाई २१-६, २१-६ ले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरे।
अन्य खेलमा मध्यमाञ्चलकी श्रेया प्रधानले मध्यमाञ्चलकी सुइजोङ जीएमलाई २१-३, २१-३, एपीएफकी सीता राईले मध्यमाञ्चलकी मनीषा खड्कालाई २१-१३, २१-१२, पूर्वाञ्चलकी जेशिका गुरुङले सुदूरपश्चिमकी रञ्जना भट्टलाई २१-७, २१-११, मध्यपश्चिमकी दुर्गा शर्माले पश्चिमाञ्चलकी सुन्दरी थारूलाई २१-६, २१-१० ले तथा सेनाकी अमिता गिरीले मध्यमाञ्चलकी महिमा श्रेष्ठलाई २१-५, २१-२ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका छन्।
पुरुषतर्फको छनोट चरणमा पश्चिमाञ्चलका विश्वास नेपाल र विशाल खड्का, पूर्वाञ्चलका प्रनिससिंह ठकुरी र सुदूरपश्चिमका चिरण विष्ट मुख्य प्रतिस्पर्धाका लागि छनोट भएका छन्। पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहने प्रतियोगितामा ५६ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको छ।