कांग्रेसका कार्यसूची
नेपाली कांग्रेसभित्र नेतृत्व तहमा तिक्तता बढ्दै गएपछि सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय समिति बैठक डाकेका छन्। कांग्रेसले चुनावमा नराम्ररी पराजय बेहोरेपछि त्यसको समीक्षा गर्न केन्द्रीय समिति बैठक, महासमिति बैठक र विशेष महाधिवेशनसम्मकै माग हुँदै आएको थियो। केही सातायता कांग्रेसभित्र विभिन्न समूह, उपसमूहबीच आन्तरिक बैठक हुन थालेका थिए र त्यहाँ नेतृत्वप्रति तीव्र आलोचना हुने क्रम बढ्दै थियो।
सोमबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्ने माग राखेपछि नेतृत्व पंक्तिमा रहेको असन्तुष्टि थप सतहमा आयो। बैठक डाक्न दबाब बढ्दै गएपछि ढिलै भए पनि देउवाले केन्द्रीय समिति बैठक बोलाएका छन्। यो बैठक त्यो बेला हँुदैछ, जुन बेला कांग्रेसले जनमतको विश्वास निकै हदसम्म गुमाएको अवस्था छ। पुरानो र लोकतान्त्रिक भनिएको कांग्रेससँग जनता किन विकर्षित भए ? उसले किन जनविश्वास गुमाउँदै गयो ? बैठकले गम्भीर समीक्षा गर्न सक्नुपर्छ।
समानुपातिकतर्फ कांग्रेसले प्राप्त गरेको मतलाई लिएर चित्त बुझाउनेहरू धेरै छन् पार्टीभित्र। यथार्थ के हो भने, कांग्रेस लाजमर्दो तरिकाले पराजित भएकै हो। यसको कारणको खोजी अनिवार्य छ। गुटबन्दीले संस्थागत रूप लिनु, योग्यताभन्दा बढी भागबन्डालाई प्रश्रय दिनु, विभाजनपछि पुनः एक भएको कांग्रेस भावनात्मक रूपमा एक हुन नसक्नु, पार्टीभन्दा नेता र गुटकेन्द्रित हुनु, परिवारवाद हावी हुनु आदि थुप्रै कारण छन्, कांग्रेस अधोगतिका। त्यसमाथि यो दलले न कार्यकर्तासँग न त जनतासँगै अन्तरसंवाद गर्न सकेको छ। चुनावको मतले पनि कांग्रेसले नयाँ र युवा पुस्तालाई आकर्षित गर्न सकेको देखिँदैन। कांग्रेसको मत नयाँ दलतिर आकर्षित हुनु, यो दलले राष्ट्रिय आकर्षण र अपिल सिर्जना गर्न नसक्नु, वैचारिक विमर्श नगण्य हुँदै जानु र यसको वैचारिक धरातल अन्योलग्रस्त हुनु, प्रतिक्रियाकै राजनीतिमा रमाउनु आदि थप कारण हुन सक्छन्, कांग्रेस पराजयका। यी यावत् विषयमाथि केन्द्रीय समिति बैठकमा खुलेर विमर्श हुन आवश्यक छ।
त्यसो त कांग्रेसभित्रको युवा पुस्ताले केन्द्रीय समिति मात्रै होइन, महासमिति र विशेष महाधिवेशनकै माग गरेको छ, जहाँ पार्टीको वैचारिक राजनीतिक नेतृत्वबारे गम्भीर बहस होस् र आवश्यक पर्दा नेतृत्व हस्तान्तरण प्रक्रिया पनि प्रारम्भ होस्। यसतर्फ पनि कांग्रेसको केन्द्रीय समिति बैठकमा घनीभूत छलफल आवश्यक छ। साख गुमाएर कमजोर भएको कांग्रेसलाई पुनर्जीवन दिने हो भने नयाँ शिराबाट वैचारिक विमर्शसँगै नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु हुनुपर्छ। एकजना होनाहार युवालाई पार्टी प्रवक्ता बनाएर मात्रै कांग्रेसभित्रको शुद्धीकरण अभियान पूरा हुँदैन। खासमा लोकतान्त्रिक भनिएको कांग्रेसले सही अर्थमै लोकतन्त्रको अभ्यास आफैंभित्र गर्नु जरुरी छ। यतिबेला उसले पाएको भूमिका भनेको प्रतिपक्ष हो। राष्ट्रिय राजनीतिमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै पार्टीभित्रको असन्तुष्टि र निराशा सम्बोधन गर्नेतर्फ कांग्रेस बढ्नुपर्छ।
कांग्रेससँग पटकपटक लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरेको इतिहास छ। शान्तिप्रक्रियादेखि संविधान निर्माण हुँदै अहिले चुनाव सम्पन्न गर्नसम्मका कयौं सन्दर्भमा कांग्रेसको महत्वपूर्ण भूमिका छ, तर यी केही सन्दर्भहरूको ‘ब्याज’ खाइरहने छुट कांग्रेसलाई छैन। पार्टी सञ्चालन, व्यवस्थापन र पद्धतिका दृष्टिले यो निकै कमजोर अवस्थामा छ। यसलाई जीवन्त र रचनात्मक बनाउन त्यसैखाले क्षमता भएको नेतृत्व आवश्यक छ।
कांग्रेसको जनमत नया“ दलहरूतर्फ ‘डाइभर्ट’ हुँदै गएको र वाम गठबन्धन बलियो हुँदै गएको अहिलेको अवस्थामा टालटुले सुधार गरेर कांग्रेसले गुमेको साख फर्काउन सक्ने छैन। त्यसकारण केन्द्रीय समिति बैठकमात्रै होइन, महासमिति वा विशेष महाधिवेशनमार्फत सैद्धान्तिक/राजनीतिक बहस गर्दै नेतृत्व हस्तान्तरणको प्रक्रियातर्फ बढ्न सक्नुपर्छ। बैठक पार्टीभित्र उठेको असन्तुष्टि मत्थर गर्ने ध्येयमा मात्रै सीमित हुनु हुँदैन, सार्थक र उपलब्धिमूलक हुन सक्नुपर्छ।