चुनाव खर्च विवरण बुझाउन अटेरी

चुनाव खर्च विवरण बुझाउन अटेरी

पोखरा : प्रदेश र प्रतिनिधिसभा चुनावमा आफूले गरेको खर्च विवरण बुझाउन कास्कीका ३७ उम्मेदवारले अटेरी गरेका छन्। निर्वाचन कानुनअनुसार मत परिणाम घोषणा भएको ३५ दिनभित्र बुझाउनुपर्ने विवरण उक्त म्याद कटेको ५ दिन बितिसक्दा पनि नबुझाएका हुन्। उक्त निर्वाचनमा कास्कीका ३ प्रतिनिधि तथा ६ प्रदेशसभा क्षेत्रमा १३ दलका ९५ उम्मेदवार प्रतिस्पर्धामा थिए। तीमध्ये ६४ जनाले खर्च विवरण पेस गरेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए। उनकै भनाइमा ठूला दलका मुख्य उम्मेदवारहरू प्रायःले विवरण बुझाएका छन्।

विवरण नबुझाएका कांग्रेस नेता तथा कास्की २ ‘क' का उम्मेदवार गुरु बरालले जिम्मेवारी सुम्एिका कार्यकर्ताबाट ढिलाइ भएको सुनाए। ‘बुझाउनलाई सबै विवरण लिएका साथी निर्वाचन कार्यालय जान केही ढिला भएछ, अब बुझाउनुहुन्छ', उनले भने। कास्कीका सबै निर्वाचन क्षेत्रको चुनावी मतपरिणाम मंसिर २४ गते प्रकाशित भएको थियो। त्यसयताको समयले ३५ दिनको नेटो काटिसकेको छ। विवरण नबुझाउनेमध्ये प्रदेश सभातिरका १२ जना र प्रतिनिधिसभाका २५ उम्मेदवार छन्।

‘पहिला पनि सबैलाई फोनै गरेर विवरण बुझाउन ताकेका गरेका थियौं', निर्वाचन अधिकारी सुवेदीले भने, ‘अझै फेरि ताकेता गर्छाैं।' उनकै भनाइमा बाँकी उम्मेदवारलाई प्रस्टीकरण लिन सक्ने नजिर पुराना चुनावको छ। तर उनले यसपालिको कानुनले खर्चको सीमा बराबरकै रकम जरिवाना लगाउने र ६ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी दण्डित गर्नेसम्मको प्रावधान राखेको छ।

निर्वाचन कानुनअनुसार यो चुनावमा प्रदेशसभा उम्मेदवारले १५ र प्रतिनिधिसभा उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा थियो। त्यस्तो सीमा प्रतिनिधि तथा प्रदेशसभा ऐन २०७४ को दफा ७२ ले तोकेको हो।

कास्कीमा सबैभन्दा पहिला प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले चुनावी खर्च विवरण पेस गरेका थिए। उनले १८ लाख ४२ हजार खर्चेको विवरण दिएका छन्। आइसकेको विवरणअनुसार सबैभन्दा धेरै प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरमका डिलबहादुर नेपालीले २४ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन्। त्यतिका खर्च भएको विवरण पेस गरेका नेपालीले ३ सय ४७ मतमात्रै प्राप्त गरेका थिए। सबैभन्दा कम खर्च भएको विवरण नेकपा मालेबाट कास्की २ मा उम्मेदवार बनेका टेकनाथ भण्डारीले पेस गरेका छन्। ३४ हजार १ सय रुपैयाँमात्रै चुनाव खर्च भएको उनको विवरणमा उल्लेख छ।

प्रदेशसभातिर संघीय समाजवादी फोरमकै चीनबहादुर नेपालीले सबैभन्दा धेरै १४ लाख ६१ खर्चेको विवरण पेस गरेका छन्। उनले ३ सय मत ल्याएका थिए। सबैभन्दा कम प्रदेशसभामा विवेकशील साझाका उम्मेदवार नवराज खनालले खर्चेको विवरण पेस भएको छ। कास्की १ ‘क' का उम्मेदवार उनले २२ हजार खर्चेको विवरण पेस गरेका छन्। उनले ४ सय ७५ मत ल्याएका थिए।

उम्मेदवारहरूले कार्यकर्ता प्रशिक्षण, गोष्ठी र परिचालनमा बढी खर्च भएको विवरण दिएका छन्। निर्वाचन आयोगले तोकेको सीमा पनि त्यही शीर्षकमा बढी खर्च गर्न सक्ने बनाएको थियो। तर उम्मेदवारहरूले बुझाएको विवरण सत्य हो होइन भन्ने जाँच भने आयोगले गर्न सक्नेछ। ‘शंका लागेमा आयोगले अडिट गर्न सक्छ', निर्वाचन अधिकारी सुवेदीले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.