दाङ प्रदेश ५ को राजधानी नबन्दा कृष्णबहादुर महराको यस्तो आक्रोश
काठमाडौं : प्रदेश ५ को राजधानी दाङ नतोकिएको भन्दै माओवादी केन्द्रका नेता एवम् दाङका सांसद कृष्णबहादुर महराले आक्रोश व्यक्त गरेका छन्। प्रदेश ५ को राजधानी बुटवल तोकेपछि महराले विज्ञप्ति सार्वजनिक गरेर आक्रोश व्यक्त गरेका छन्। उनले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील र असक्षम निर्णय गरेको आरोप लगाएका छन्।
‘देउवा सरकारको यो असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील र असक्षम निर्णय हो। म यो निर्णयको विरोध र घोर भत्र्सना गर्दछु’, महराले विज्ञप्तिमा भनेका छन्, ‘यसबाट देउवाको उत्पीडित क्षेत्रको सन्तुलित विकास गर्ने खोक्रो आदर्श उदाङ्गिएको छ र यो निर्णय उत्पीडकहरुको स्वार्थद्वारा प्रेरित भएको पुष्टि हुन्छ।’
महराले सरकारले प्रदेशको अस्थायी राजधानी तोक्दा प्रशासन पुनःसंरचना आयोगको सिफारिस विपरित काम गरेको र मनोमानी ढंगले निर्णय गरेको समेत आरोप लगाएका छन्।
‘प्रशासन पुनःसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको छ’, महराले थप भनेका छन्।
आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको दाङ सुरक्षित र सन्तुलित हुने दाबी गर्दै उनले सरकारलाई उक्त निर्णय सच्याउन समेत अनुरोध गरेका छन्। ‘५ नम्बर प्रदेशको राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुुलित हुनुपर्दछ भनी त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको म दृढतापूर्वक समर्थन गर्दछु र सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ।