हारेकाको दाउ राष्ट्रियसभा : ‘जनताबाट फालिएकालाई लानै हुन्न'

हारेकाको दाउ राष्ट्रियसभा : ‘जनताबाट फालिएकालाई लानै हुन्न'

काठमाडौं : राष्ट्रियसभा निर्वाचन नजिकिँदै गर्दा कांग्रेसभित्र उम्मेदवार आकांक्षीहरूको लर्को लाग्न थालेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएकाहरूले पनि उम्मेदवार बन्ने आकांक्षा राखेपछि नेतृत्व दबाबमा परेको छ। सँगसँगै पराजितलाई राष्ट्रियसभामा लैजान नहुने मत पनि कांग्रेसभित्र चर्को रूपमा उठेको छ। बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा निर्वाचनका साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा पनि हुने कांग्रेस नेताहरूले बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्वाचन सकिएको ४० दिन पुग्दासमेत त्यसको समीक्षा र पराजयको कारण खोजी हुन नसकेको भन्दै असन्तुष्टि पोख्दै आएको छ। पौडेल पक्षले कुनै पनि बहानामा निर्वाचनमा पराजितलाई राष्ट्रियसभामा नलैजान दबाबसमेत दिएको छ।

कांग्रेसका नेता अर्जुननरसिंह केसीले चुनाव हारेकाहरू पुनःस्थापित हुँदै छन् भन्ने सुनेको बताए। ‘यस्तो गर्नु, गराउनु वा यस प्रक्रियामा सहभागी हुनु भनेको नैतिक दृष्टिकोणले पनि सुहाउँदैन', उनले भने, ‘जनताले एक ढोकाबाट फालेकालाई नेतृत्वले अर्को ढोकाबाट हुल्ने माध्यमका रूपमा राष्ट्रियसभा प्रयोग हुनु हुँदैन।'

कांग्रेसका लागि दिलोज्यानले लागेर पनि अवसर नपाएकालाई राष्ट्रियसभामा लग्नुपर्ने विषयमा आफ्नोतर्फबाट कुनै कसर बाँकी नराख्ने धारणा उनले राखे। पार्टीले इतिहासमै लज्जास्पद रूपमा बेहोरेको पराजयको नेतृत्वगत र संरचनागत समीक्षा गर्नका लागि राष्ट्रियसभाको मनोनयनपछि तत्काल केन्द्रीय समिति बस्नुपर्ने उनले बताए। विभिन्न समूहमा भएका बैठकहले युवा नेतृत्वको माग गर्नु सकारात्मक भएको पनि उनको भनाइ छ।

‘जनताले एक ढोकाबाट फालेकालाई नेतृत्वले अर्को ढोकाबाट हुल्ने माध्यमका रूपमा राष्ट्रियसभा प्रयोग हुनु हुँदैन।'- अर्जुननरसिंह केसी

नेता डा. नारायण खड्काले पुस्ता-पुस्ताका नाममा भएका द्वन्द्वले कांग्रेसलाई खत्तम गर्ने भएकाले वृहत एकता, सहमति र सहकार्यका लागि सबै पुस्ता र समूह एक हुर्नेमा जोड दिए। उनले भने, ‘चुनावी समीक्षाको अवसर दिने र नदिने, नेतृत्व कुन पुस्ताले गर्ने र नगर्ने लगायतका द्वन्द्वले कांग्रेसभित्र वृहत एकता असम्भव छ।' पुस्ता र समूहका रूपमा विवादमा फस्न नहुँने धारणा उनले राखे।

कांग्रेसभित्र अहिले पहिलो पुस्तामा नेविसंघको स्थापनाकालका नेतृत्व शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा.रामशरण महत, अर्जुननरसिंह केसीलगायतका छन्। दोस्रो पुस्तामा २०३६ सालको विद्यार्थी आन्दोलनका विमलेन्द्र निधि, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महतलगायतका छन्। तेस्रो पुस्तामा जनआन्दोलन २०४६ बाट स्थापित भएका बालकृष्ण खाँण, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, गोविन्द भट्टराई, एनपी साउद, हृदयराम थानीलगायत र चौथो पुस्तामा दोस्रो जनआन्दोलन २०६२-६३ द्वारा स्थापित पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, कल्याण गुरुङ, बद्री पाण्डेलगायतका नेता रहेका छन्।

विभिन्न आन्दोलन र इतिहाससँग जोडिएका प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, रमेश लेखकलगायतका नेताको प्रभाव कांग्रेसमा सबैभन्दा बलियो छ।

‘कांग्रेस विधि र विधानबाट चल्छ'

नेता नवीन्द्रराज जोशीले कांग्रेस विधि र विधानबाट चल्ने र त्यसबाट दायाँबायाँ हुनै नसक्ने बताए। ‘संसदीय बोर्ड गठन, कार्य सम्पादन समिति, पार्टीका विभागको पूर्णतालगायत सबै कार्यविधि र विधानसम्मत रूपमा चल्नुपर्छ', उनले भने।

राष्ट्रियसभामा पुराना, केन्द्रीय सदस्यमा निर्वाचित तर अहिलेसम्म कुनै मौका नपाएका, जिल्ला सभापतिलगायतको मनोनयन हुनुपर्ने उनले बताए। यसको निर्णय संसदीय बोर्ड र दलबाट गर्नुपर्ने जानकारी उनले दिए।

अर्का नेता धनराज गुरुङले राष्ट्रियसभामा मनोयनको एजेन्डा सकिँदासाथ आफूहरूले समूहगत रूपमा चुनावी समीक्षाका लागि केन्द्रीय समितिको बैठक माग गर्ने बताए। ‘आफूहरूको मागलाई नजरअन्दाज गरेमा सामूहिक रूपमै लिखित प्रक्रियाबाट केन्द्रीय समितिको माग गर्छौं', उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.