टेलिकमको आम्दानी पाँच गुणा बढ्यो

टेलिकमको आम्दानी पाँच गुणा बढ्यो

काठमाडौं : टेलिफोन सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको आम्दानी १३ वर्षयता झन्डै पाँच गुणाले बढेको छ। टेलिकमले सार्वजनिक गरेको गत १३ वर्षको वार्षिक विरणका आधारमा उसको कुल आम्दानीमा ४८३.४६ प्रतिशतले वृद्धि भएको छ।

सरकारी स्वामित्वको नेपाल दूरसञ्चार संस्थान नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएयता कम्पनीको आम्दानी ठूलो मात्रामा वृद्धि भएको हो। नेपाल दूरसञ्चार कम्पनीका रूपमा सुरु भएको पहिलो आर्थिक वर्ष २०६१/०६२ मा कम्पनीले नौ अर्ब १९ करोडभन्दा बढी आम्दानी गरेको थियो। त्यसको १३ वर्षपछि आर्थिक वर्ष २०७३/०७४ मा टेलिकमको कुल आम्दानी ४४ अर्ब ४४ करोडभन्दा बढी पुगेको छ।

यो १३ वर्षको अवधिमा कम्पनीले तीन खर्ब ७९ अर्ब ११ करोड कुल आम्दानी गरेको छ। नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार यस अवधिमा कम्पनीको ग्राहक संख्यामा आएको वृद्धि आम्दानी वृद्धिको प्रमुख कारण हो। साथै टेलिकमले आफ्नो सेवा विस्तारको क्रममा भित्र्याएको नयाँ प्रविधि र सेवाले कम्पनीको आम्दानी वृद्धि गर्न सहयोग पुर्‍याएको छ।

दूरसञ्चार प्राधिकरणले २०६१ साल वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनका आधारमा टेलिकमको ल्यान्डलाइन, पोस्टपेड र प्रिपेडका प्रयोगकर्ता जम्मा ६ लाख ८२ हजार थिए। त्यो संख्या बढेर अहिले दुई करोड हाराहारी पुगेका छन्। प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकका आधारमा अहिले टेलिकमका प्रयोगकर्ता एक करोड ८३ लाख ८६ हजार छन्।

सरकारी स्वामित्वको नेपाल दूरसञ्चार संस्थान नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएयता कम्पनीको आम्दानी ठूलो मात्रामा वृद्धि भएको हो।

‘ल्यान्डलाइन, पोस्टपेड र प्रिपेड सेवामात्र रहेको टेलिकमले अहिलेसम्म आइपुग्दा अन्य सेवाजस्तैः एडीएसएल इन्टरनेट, मोबाइल इन्टरनेटमा टूजी, थ्रीजी र फोरजी, वाइम्याक्स, फाइबर इन्टरनेटलगायत सेवा विस्तार गरिसकेको छ’, प्रवक्ता वैद्यले भनिन्, ‘सेवा विस्तार गाउँगाउँसम्म पुगेको छ। अहिले टेलिकम सेवा देशका ७५ जिल्ला सदरमुकामका पुगिसकेको छ। यसले पनि टेलिकम आम्दानी वृद्धिमा ठूलो सहयोग पुर्‍याएको हो।’

यो १३ वर्षको अवधिमा कम्पनीले सरकारलाई ४६ अर्ब ९७ करोडभन्दा बढी कर बुझाइसकेको छ। टेलिकमकले बुझाउँदै आएको करमा समेत यो १३ वर्षको अवधिमा झन्डै चार गुणाले वृद्धि भएको देखिन्छ। टेलिकमको करमा १३ वर्षको अवधिमा ३७७.३१ प्रतिशतले वृद्धि भएको छ। आव २०६१/०६२ मा टेलिकमले एक अर्ब ३७ करोडभन्दा बढी कर बुझाएको थियो। आर्थिक वर्ष २०७३/०७४ मा आइपुग्दा टेलिकमले पाँच अर्ब २० करोडभन्दा बढी कर बुझाएको छ। तर टेलिकमले गरेको कुल आम्दानी र कर बुझाएको प्रतिशतमा भने समान वृद्धि हुन सकेको देखिँदैन।

१३ वर्षको अवधिमा कम्पनीको कुल आम्दानीमा ४८३.४६ प्रशितले वृद्धि हुँदा उसले बुझाएको कर भने ३७७.३१ प्रतिशतले मात्र वृद्धि भएको देखिएको छ। यो क्रममा एक सय पाँच प्रतिशतले करमा कमी आएको छ। टेलिकमका सहप्रवक्ता सोभन अधिकारीका अनुसार यसका प्रमुख कारण पछिल्लो समय ट्यारिफ सस्तो भएर पनि हो। पछिल्लो समय भ्वाइसकलको भन्दा डाटाको प्रयोग बढी छ।

तर कर बुझाउँदा भ्वाइसको कर बुझाउनु पर्छ र डाटामा भ्याटमात्र लाग्दै आएकाले करमा कमी आएको हो। यसका साथै कुन वर्षमा सामान कति किनियो भन्ने कुराले पनि फरक पार्ने भएकाले यसमा तलमाथि भएको उनको भनाइ छ। यो अवधिमा टेलिकमको खर्चमा समेत ठूलो वृद्धि भएको देखिन्छ। साढे पाँच गुणा अर्थात ५५८.८२ प्रतिशतले टेलिकमको खर्च वृद्धि भएको छ।

आव २०६१/०६२ मा टेलिकमको खर्च चार २७ करोड रहेकोमा आव २०७३/०७४ मा आइपुग्दा बढेर २३ अर्ब ८७ करोड पुगेको छ। यी सम्पूर्ण कुरालाई कटाएर बाँकी रहेको खुद मुनाफालाई हेर्न हो भने कम्पनीको नाफा झन्डै साढे चार गुणाले वृद्धि भएको देखिन्छ। २०६१/०६२ मा टेलिकमले तीन अर्ब ५४ करोड नाफा गरेको कम्पनीले आव २०७३/०७४ मा आइपुग्दा १५ अर्ब ३७ करोडभन्दा बढी नाफा कमाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.