रुपन्देहीलार्इ राजधानी तोकेको भन्दै कपिलवस्तुमा बन्द आह्वान
तौलिहवा : सरकारले प्रदेश नम्बर पाँचको अस्थायी राजधानी रुपन्देही बनाउने निर्णय गरेसँगै छिमेकी जिल्ला कपिलवस्तु आन्दोलित भएको छ। प्रदेश राजधानी कपिलवस्तु हुनुपर्ने माग राख्दै आएको कपिलवस्तु युवा संघर्ष समिति ‘बुद्ध प्रदेश' ले जिल्ला बन्दको आह्वान गरेको हो।
सरकारले बुधबार घोषणा गरेको अस्थायी राजधानी नमान्ने संघर्ष समितिले चेतावनी दिएको छ। विरोध स्वरुप संघर्ष समितिले बुधबार साँझदेखि शुक्रबारसम्म तीन दिने जिल्ला बन्दको आह्वान गरेको छ। बन्दको सबैभन्दा बढी मारमा सदरमुकाम तौलिहवा परेको छ। पूर्वपश्चिम राजमार्गमा छिटफुट रुपमा सवारीसाधन सञ्चालनमा आएपनि सदरमुकाम तौलिहवामा सवारीसाधन ठप्प भएका छन्। शैक्षिक संस्था, उद्योगधन्दा, पसल सबै ठप्प पारेर संघर्ष समिति सडकमा उत्रिएको छ।
चारवटा ‘बुद्ध'ले राज्य गरेको कपिलवस्तु प्राचीन राजधानीलाई पन्छाई सरकारले बुधबार गरेको उक्त निर्णयप्रति आफूहरु दुखी भएको संघर्ष समितिका संयोजक रउफ अहमद खाँनले बताए। सरकारले तत्काल प्रदेश राजधानी कपिलवस्तुलाई नबनाए अझै सशक्त आन्दोलन चर्काउने संघर्ष समितिका सहसंयोजक दीपक पाण्डेयले चेतावनी दिए।