खेतको बीचमा बम विष्फोट, एक घाइते
विराटनगर : विराटनगर महानगरपालिकासँगै सीमाना जोडिएको मोरङको ग्रामथान गाउँपालिकामा बिहीबार दिउँसो बम विष्फोट भएको छ। अज्ञात समूहले ग्रामथान ६ खोरियाटोलका दुर्गाबहादुर रोक्काको खेतको बीचमा लुकाएर राखेको बम विष्फोट हुँदा उनका छोरा १८ वर्षीय एकराज रोक्का गम्भीर घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए।
घाइतेको अनुहार र मुखमा चोट लाग्नुका साथै अगाडिका दुईवटा दाँत भाँचिएका छन्। उनको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार खेतमा तोरी उखेल्दै गर्दा एकराजले टिनको बट्टामा टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु फेला पारेका थिए।
बट्टामा बाँधेको वस्तु खोलेर हेर्ने क्रममा विष्फोट भएको प्रहरीले जनाएको छ। एकराजसंगै अन्य चारजना थिए। प्रहरीका अनुसार विष्फोटमा परेर घाइते भएपछि काम गरिरहेका अन्यले उपचारका लागि उनलाई अस्पताल पु¥याएका हुन्।
हातले बनाइएको आईडी (एम्प्रोभाईज एक्सप्लोसिभ डिभाई) नामक बम विष्फोट भएको प्रहरीले जनाएको छ। बिसीका अनुसार त्यसलाई डिब्बा बम पनि भनिन्छ। घटनास्थलमा अन्य दुईवटा बम पनि फेला परेका थिए। बमलाई मोरङको थलाहाबाट पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले दिउँसो २ बजे डिस्पोज गरेर अन्य क्षति हुनबाट जोगाएको छ।
‘मानिसको आवतजावत नहुने एकान्त ठाउँमा रहेको खेतमा लगेर बम राखिएको पाइयो,’ एसपी बिसीले भने, ‘डिब्बा बम भए पनि शक्तिशाली विष्फोट भएको पाइयो।’ यो बम छुने वित्तिकै विष्फोट हुने प्रकृतिको रहेको प्रहरीले जनाएको छ।
‘यो एकदमनै जोखिमवाला चिज हो,’ प्रहरी स्रोतले भन्यो, ‘कही अपराधिक घटना गराउने योजना बुनिरहेको समूहले बम खेतमा छाडेर हिंडेको हुन सक्छ।’ एसपी बिसीले लुटपाट, चन्दा असुलीलगायतका अपराधिक समूहमा आवद्ध भएकाले सुनसान ठाउँमा बम राखेको हुन सक्ने बताए। भने, ‘कुनै ठाउँमा भइरहेको सुरक्षाकर्मीको चेकजाँच छल्न नसकेका कारण पनि खेतमा बम छाडेर अपराधिक समूह भागेको हुन सक्छ।’ बम राख्ने समूहको पहिचान भइनसकेका कारण खोजी तीव्र बनाएर घटनाको गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
अस्पतालमा पत्रकारमाथि दुर्व्यवहार
नोवेल मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेको फोटो खिच्न पुगेका संचारकर्मीलाई त्यहाँका स्वास्थ्यकर्मी र कर्मचारीले दुर्व्यवहार गरेका छन्। उपचारका लागि अस्पतालमा राखिएका घाइते रोक्काको फोटो खिच्ने क्रममा दन्त रोग विभागका स्वास्थ्यकर्मीले संचारकर्मीको क्यामेरा नियन्त्रणमा लिने प्रयास गर्दै फोटो मेटाउन दबाब दिएका थिए। उनीहरुले अस्पताल पत्रकारको घर नभएको भनेर दुरव्यवहार गर्दै फोटो खिच्नका लागि आगामी दिनमा नआउन चेतावनी दिए। अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्माले भने नजानेर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गल्ती गरेको बताउँदै आगामी दिनमा यस्तो कमिकमजोरी दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरे।