धनकुटामा निषेधाज्ञा जारी
धनकुटाः धनकुटामा निषेधाज्ञा जारी भएको छ। बिहीबार दिनभरी कर्फ्यू लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माइकिङ गरेर निषेधाज्ञा लगाएको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले कर्फ्यू हटाएर शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको बताए। निषेधाज्ञा जारी राख्ने वा हटाउने विषयमा राजनीतिक पार्टीका नेताहरुसँग शुक्रबार दिउँसो ११ बजे छलफल राखेको प्रजिअ उप्रेतीले बताए ।
प्रशासनले निषेधाज्ञा जारी गरेपछि स्थानीय बजारमा हिड्डुल गर्न दिएको छैन। हतियारधारी प्रहरीले सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरेका छन्। निषेधाज्ञाको कारण धनकुटाको बजार, यातायात, वित्तिय संस्था, शिक्षण संस्था बन्द रहेको छ। निषेधाज्ञा लागू भएको अवस्थामा ५ जनासम्मको समूहमा मात्र हिड्न र बजारमा किनमेल गर्न पाउने कानुनी व्यवस्था छ।
स्थानीय प्रशासनले ‘कर्फ्यू’ नभई ‘निषेधाज्ञा’ लगाएको भनेता पनि बजार क्षेत्रमा स्थानीयलाई सुरक्षाकर्मीले सामान्य हिड्डुल गर्न नदिएको नेविसंघ धनकुटाका सभापति बालानन्द दाहालले बताए। प्रादेशिक राजधानी धनकुटामा हुनुपर्ने माग राख्दै जारी आन्दोलन तनावग्रस्त बनेपछि बिहीबार ११ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो। तर पछि स्थानीय प्रशासनले कर्फ्यूलाई सच्याएर निषेधाज्ञा मात्र जारी गरेको बताएको थियो।