ट्याटुका कथाव्यथा

ट्याटुका कथाव्यथा

ललितपुर, कुसुन्तीका सुवास ढुंगानालाई अमेरिकन हार्डरक ब्यान्ड ‘गन्ज एन्ड रोजेज’का गीत खुबै मन पर्ने। उनी कतार गए। त्यहाँ पनि उनका साथी बने गितार र गीतसंगीत। गितार बजाउँदै गुन्गुनाउँथे उनी।

संगीतप्रतिको यही मोहलाई दर्शाउन सुवासले ढाडमा गितारको ट्याटु खोपाए अनि पाखुरामा ‘गन्ज एन्ड रोजेज’का लिड गितारिस्ट स्लास (साउल हड्सन)को तस्बिर। कतारमा खोपिएको ट्याटु उनलाई त्यति चित्त बुझेन। त्यसपछि नेपालकै ट्याटु आर्टिस्टसँग सम्पर्क गरे। छुट्टीमा नेपाल आएका बेला उनले क्षेत्रपाटीको फ्रेन्ज ट्याटु इनमा ट्याटु सुधार गरे। उनलाई ट्याटु बनाउने रहर अझै बढ्दै गयो। उनले देब्रे छातीमा जमाइकन गायक बब मार्लेको तस्बिरसहित उनको कोटेसन खोपे, ‘हर्बस् इज दी हिलिङ अफ अ नेसन’। श्रीमतीको नाम पनि लेखे। शरीरमा ट्याटु बनाउन २५ हजार रुपैयाँभन्दा बढी खर्च गरिसकेका सुवास भन्छन्, ‘मेरा हरेक ट्याटुका कथा छन्, यिनले मेरो भावना व्यक्त गर्छन्।’

काठमाडौं, ठँहिटीकी टिना शाहीको चाहिँ ढाडमा नराम्रो दाग थियो। दाग छोप्न उनी ट्याटु खोप्न गइन्। दागको ठाउँमा मयूरको सुन्दर प्वाँख खोपियो। देख्नेहरूले ‘वाउ, कति राम्रो’ भने। त्यसपछि त उनलाई ट्याटुमोह बढिहाल्यो। टिनाले घाँटीको पछिल्लो भागमा गणेश भगवान्को चित्र खोपाइन्। भन्छिन्, ‘जानेर बुझेर खोप्दा ट्याटुले सुन्दरता पनि थप्दो रहेछ।’

सुरज शाहीले शरीरमा ट्याटु खोपाउन ५० हजार रुपैयाँजति खर्च गरिसके। उनका जीउभरि ट्याटु छन्। घाँटीमा ‘ऊँ’, दाहिने हातमा मन्दिर, शिव, बुद्ध र मण्डलाका चित्र छन्। बायाँ हातमा बाघ र खुट्टामा ड्रायगनका चित्र छन्। अनि ढाडमा आफ्नी जीवनसाथी कविताको पोट्रेट। ‘मेरो शरीरमा खोपिएका ट्याटुले म कस्तो मान्छे हुँ भन्ने थोरबहुत दर्शाउँछ’, सुरज सुनाउँछन्, ‘ट्याटुप्रति समाजको दृष्टिकोण पहिलेभन्दा सकारात्मक बन्दैछ।’

शरीरका विभिन्न भागमा खालखालका ट्याटु खोपाउनेका आआफ्नै कथाव्यथा हुन्छन्। क्षेत्रपाटीमा फ्रेन्ज ट्याटु इन सञ्चालन गरिरहेका ट्याटुइस्ट प्रदीप खड्गीसँग ट्याटु बनाउन आउनेहरू यस्तै कथाव्यथा लिएर आइपुग्छन्। प्रदीपसँग एकजना युवा गर्लफ्रेन्डको नाम खोपाउन आए। केही समयपछि उनै युवा अर्कै गर्लफ्रेन्डको नाम खोपाउन आए। यसरी पाँच पटकजति गर्लफ्रेन्डको नाम फेरेका उनले अन्तिममा एउटी केटीको तस्बिरकै ट्याटु खोपाए। तर, उनीसँग पनि ब्रेकअप भएपछि त्यो तस्बिर मेटाउन आए। ‘म ट्याटु बनाउनुअघि धेरैपटक सोच्न आग्रह गर्छु तर उनीहरूको निर्णयपछि बनाइदिन्छु’, प्रदीप भन्छन्, ‘अहिले त्यो केटीको फोटो बिगारेर भूतजस्तो देखिने अमूर्त चित्र बनाइएको छ।’

धेरैले आफ्नै कथाव्यथा र रुचि झल्काउने गरी ट्याटु खोप्छन्, केहीले चाहिँ अरूको देखासिकीमा। केटाहरूमा धेरैले बुद्ध, शिवजस्ता ‘भगवान्’, बाघ, ड्रायगनजस्ता जनावरदेखि अमूर्त किसिमका चित्र बनाउने गरेका छन् भने केटीहरूले प्रायः पुतली, कसैको नाम, प्वाँख, फूलहरूका चित्र बनाउन रुचि देखाउँछन्। कोहीचाहिँ समयअनुसारका चित्र पनि खोपाउँछन्। ट्याटु जङ्सनका सञ्चालक इजेन श्रेष्ठका अनुसार भूकम्पपछि धरहराको ट्याटु खोपाउन आउने धेरै थिए। भन्छन्, ‘कतिचाहिँ मृत्यु भएका आफन्तको फोटो लिएर पनि पोट्रेट बनाउन आउँछन्।’

एकपटक ट्याटुइस्ट याङ राईसँग ट्याटु खोपाउन आएकी एक युवतीको कथाव्यथा बेग्लै थियो। ती युवतीले आफ्नो तिघ्रामा पात झरिसकेको रूखको ट्याटु बनाउन लगाइन्। एक हप्तापछि आएर उनले रूखमुनि निराश भएर बसेकी आफूजस्तै केटीको ट्याटु खोप्न भनिन् र त्यसको अर्थ पनि बताइन्। उनले सुनाए, ‘ती युवतीको जीवन अहिले उजाड छ रे, जब उनको जीवनमा कोही आउँछ र हराभरा बनाउँछ, त्यसपछि रूखमा हरिया पात अनि फेदमा उनीसँगै युवाको तस्बिर खोप्न फेरि आउँछिन् रे।’

यस्तै विभिन्न कथाव्यथा बोकेका चित्र उतार्नमात्र होइन, कतिपय युवकयुवती आवेगमा आफैंले ब्लेडले चिरेका दाग वा विभिन्न कारणले देखिने चोट लुकाउन पनि ट्याटु खोपाउँछन्। प्रेममा पागल हुँदा वा घरमा रिस उठ्दा हातमा ब्लेडले काट्नेहरू पछि पछुतोमा पर्छन्। त्यसको दाग पछिसम्म मेटिँदैन। दाग देखिँदा अरूले नराम्रो सोच्ने भएकाले त्यो छोप्न पनि दागको ठाउँमा फुलबुट्टा बनाउनेहरू धेरै हुन्छन्। राई भन्छन्, ‘अहिले खुसी व्यक्त गर्नेदेखि दुःख लुकाउनेसम्मका बहानामा ट्याटु खोपाउँछन्। ट्याटुले उनीहरूलाई सन्तुष्टि पनि मिल्छ।’

ठमेल, क्षेत्रपाटीलगायत काठमाडौंका विभिन्न ठाउँमा मात्र ५० भन्दा बढी ट्याटु खोपाउने ठाउँ छन्। काठमाडौंबाहेक पोखरा, धरान, बुटवल लगायतका सहरमा पनि ट्याटु केन्द्र खुलेका छन्। यी ठाउँमा नेपाली मात्र होइन, नेपाल घुम्न आएका विदेशी पनि ट्याटु खोपाउन आइपुग्छन्। ठमेलको नरसिंह चोकमा मोहन गुरुङले सञ्चालन गरेको ‘मोहन्स ट्याटु इन’ पुग्दा ट्याटु खोपाउने पालोमा बसेकाहरू नेपालीमात्र होइन, विदेशी पनि थिए। विदेशको तुलनामा नेपालमा उही गुणस्तरको ट्याटु खोपाउन सस्तो पर्ने भएकाले पनि विदेशीहरू नेपालमा ट्याटु खोपाउन आउँछन्। मोहनका अनुसार सबैभन्दा बढी १८ देखि ३४ वर्ष उमेरकाले बढी ट्याटु खोपाउँछन्।

पुराना ट्याटुइस्ट मोहनको सक्रियतामा हरेक वर्ष ‘नेपाल ट्याटु कन्भेन्सन’ हुने गरेको छ। कन्भेन्सनमा २७÷२८ देशका १५० भन्दा बढी ट्याटुइस्ट सहभागी हुन्छन्। त्यस्तै नेपाल इन्कले पनि ट्याटु कन्भेन्सन आयोजना गर्ने गरेको छ। यो कन्भेन्सनमा नेपालका विभिन्न जिल्लादेखि केही विदेशी ट्याटुइस्ट पनि सहभागी हुने गरेका छन्। ‘ट्याटुले धेरैको रहरमात्र पूरा गरेको छैन, रोजगार पनि दिएको छ।’ दुई दशकदेखि ट्याटु बनाइरहेका मोहन गुरुङ भन्छन्, ‘ट्याटुकै कारण नेपालको कलासंस्कृति विस्तार भएको छ। ट्याटु पर्यटन पनि विकास हुँदैछ।’

संस्कृतिबाट फेसन

ट्याटुको इतिहास हेर्दा जापान, चीन, अस्ट्रेलिया, अमेरिका लगायतका धेरै मुलुकमा त्यहाँका आदिवासीले परम्परागत रूपमा शरीरमा चित्र खोप्ने गरेको पाइन्छ। नेपालका नेवार, गुरुङ, थारू लगायतका समुदायले सांस्कृतिक विश्वासका आधारमा शरीरमा ट्याटु खोपाउने पुरानो प्रचलन हो। तर, पछिल्लो समय ट्याटु युवा पुस्तामाझ फेसनका रूपमा विकास भइसकेको छ।

पहिले भगवान्का तस्बिर र मन्त्रहरू झल्किने साना ट्याटु बनाउने चलन थियो तर अहिले पूरै शरीरभरि विभिन्न आकृतिदेखि आफ्ना मायालुका तस्बिरसमेत खोपाउनेहरू भेटिन्छन्। नेपालमा चलेका नायिकाले छातीमा फूल र विभिन्न आकृतिको ट्याटु बनाएको बेलाबेला चर्चा हुने गर्छ। युवतीहरू ग्ल्यामर देखिनका लागि अचेल कम्मर, पिठ्यूँ, तिघ्रा, नाइटोजस्ता ठाउँमा हिँड्दा, निहुरिँदा हल्का देखिने गरि ट्याटु बनाउँछन्। युवाहरू आफूलाई जंकी देखिने खालका ट्याटु बनाउन मन पराउँछन्। पछिल्लो समय दिवंगत भएका वा जीवितै रहेका आमा, बुवा, श्रीमान् श्रीमती र आफ्नो सन्तानका तस्बिरको ट्याटु खोपाएर माया दर्शाउने चलन पनि उत्तिकै छ।

जाने सुन्दरता, नजाने खतरा

प्रायः व्यावसायिक ट्याटुइस्टहरूले ट्याटु खोप्नुअघि ‘तपाईंले राम्ररी विचार गरेरै ट्याटु बनाउने निर्णय लिनुभएको हो ? ’ भनेर प्रश्न गर्छन् र यसका राम्रानराम्रा पक्षबारे जानकारी पनि गराउँछन्। अन्तर्राष्ट्रिय प्राक्टिसमा १८ वर्षभन्दा कम उमेरकालाई धेरैले ट्याटु खोपिदिँदैनन्।

कतिपयले आवेगमा, कोही मन परेको भरमा ट्याटु खोपाउँछन्। समयसँगै उनीहरूको रुचि बदलिन्छ र उनीहरूका लागि त्यो ट्याटु घाँडो हुन्छ। ट्याटु खोप्नभन्दा मेटाउन निकै खर्चिलो र गाह्रो छ। त्यसैले ट्याटु जानेर÷बुझेर मात्र खोप्नुपर्ने यसका जानकार बताउँछन्। विचार नपुर्याैई हतारमा ट्याटु बनाउँदा पछि पछुताएर आत्महत्यासमेत गरेका घटना छन् नेपालमा। त्यसैले पनि ट्याटुले जान्दा सुन्दरता बढाउने र नजान्दा खतरा निम्त्याउने ट्याटुइस्ट याङ राई बताउँछन्।

त्यसो त छालामा खोपिने भएकाले स्वास्थ्यका दृष्टिले पनि ट्याटु खोपाउँदा ध्यान दिनुपर्छ। व्यावसायिक ट्याटुइस्टले सावधानी अपनाउँछन्। तर, कतिपयले जथाभावी ट्याटु खोप्दा छालाको एलर्जीदेखि हेपाटाइटिस बी, हेपाटाइटीस सी, एचआईभीसम्म सर्ने खतरा हुन्छ।

 

‘समाजको सोच बदलिँदै छ’
-प्रदीप खड्गी, ट्याटुइस्ट फ्रेन्ज ट्याटु इन

धेरैअघि हजुरआमाले कृष्ण भगवान् र चन्द्रमाको ट्याटु खोपाउनुभएको रहेछ। सडकमै बसेर ट्याटु खोप्ने भारतीयहरूसँग पाँच पैसा तिरेर कृष्णको ट्याटु खोपाएको सुनाउनुहुन्थ्यो।

पहिला चित्र बनाउँथेँ। उहाँको कुराले प्रभावित भएँ। आफ्नै दाइको ट्याटु खोपिदिएँ। त्यसपछि यसैमा ध्यान भयो। हाम्रो समुदायमा परम्परागत रूपमा पनि ट्याटु हान्ने चलन थियो तर अहिले जसरी ट्याटु खोपेको समाजले राम्रो मान्दैनथ्यो। ट्याटु खोपेपछि बाहिर जान पाइँदैन भन्थे। बिहेको कुरा गर्न जाँदा ट्याटु बनाउने काम गर्छु भने केटीले नै ‘ट्याटु बनाएर खान लाउन पुग्छ ? ’ भनेर सोधिन्। अहिले राम्रैसँग पुगिरहेको छ। हजुरआमाको पालामा पाँच पैसामा ट्याटु बन्थ्यो। अहिले म घन्टाको पच्चीस सय रुपैयाँ लिन्छु। कोही होल बडी बनाउन आउँछन्, एक महिना लाग्छ। प्रायः खाली बस्नु पर्दैन।

पहिला ट्याटु बनाउँदा नराम्रो भन्ने मान्छेहरू नै अहिले मसँग ट्याटु बनाउन आएका छन्। समाजको सोच विस्तारै फराकिलो बन्दै छ। नेपालीमात्र होइन विदेशबाट पनि ट्याटु बनाउन आउँछन्। परिवार पनि खुसी छन्, समाजले पनि राम्रो गरेको छ अहिले। समाजको बदलिँदो व्यवहार पाएपछि मैले भन्ने गरेको छु, ‘ट्याटु हान्ने सबै व्यक्ति बिग्रिएको र मन्दिर जाने सबै सप्रिएको भन्न मिल्दैन।’

पोखरादेखि न्युयोर्कसम्म

मोहन गुरुङ नेपालको ट्याटु क्षेत्रमा पुरानो र परिचित नाम हो। पहिलादेखि चित्र बनाउथे मोहन। उनका दाजु ब्रिटिस सेनामा थिए। एसएलसीपछि ६ महिनाका लागि दाइले कोरिया बोलाए। आफूलाई पढाउने शिक्षक पनि काम गर्न कोरिया आएको भेटेपछि उनलाई ‘नेपालमा पढेर पनि के गर्नु र शिक्षक नै यहाँ छन्’ भन्ने लाग्यो। त्यसपछि कम्पनीतिर काम गर्न थाले।

त्यही सिलसिलामा ट्याटु बनाउन गए र उनै विदेशीसँग तालिम पनि लिए। त्यति बेला नेपालमा ट्याटु स्टुडियो थिएन। सन् १९९७ तिर बाबुराजा प्रधानले काठमाडौंमा ट्याटु स्टुडियो सुरु गरेका थिए। नेपालमा पनि ट्याटु स्टुडियो खुलेको सुनेर मोहनलाई पनि आँट पलायो।

त्यति बेला कपाल लामो पाल्ने, मुन्द्रा लगाउने, लामो बुट लगाउने र ट्याटु हान्नेहरूलाई प्रहरीले दुःख दिन्थे। ट्याटु भन्नेबित्तिकै सडक छेउतिर बसेर खोपिदिने भन्ने बुझ्थे। मान्छेले त्यस्तै सोच्लान् भनेर उनलाई अप्ठ्यारो पनि लाग्यो। पछि विदेशी पत्रिकाहरू पढ्दै जाँदा विदेशतिर यसको राम्रो सम्भावना रहेछ भन्ने बुझेँ। पोखरा लेकसाइडमा विदेशीहरूको आवतजावत पनि भइरहने हुँदा उनलाई आँट पलायो र त्यहीँ सुरु गरे ट्याटु स्टुडियो।

समाजमा ट्याटु खोप्नेलाई राम्रो दृष्टिले हेर्ने चलनै थिएन। त्यसलाई चिर्न पनि उनले चुरोट, रक्सी नखाने, झैझगडा नगर्ने र मान्छेसँग मीठो बोलीवचन गर्न थाले। त्यसले समाजमा सकारात्मक प्रभाव पर्दै भयो। ‘पहिला साथीहरूसँग तँ तँ म म भनेर बोल्थेँ, तपाईं भन्न गाह्रो लाग्थ्यो तर व्यावसायिक रूपमा जान व्यवहार परिवर्तन गर्नु आवश्यक छ भन्ने लाग्यो। विस्तारै स्टुडियोमा सबै किसिमका मानिस आउन थाले’, उनी भन्छन्, ‘तर कतिपय पसल र बैंकहरूमा छिर्दा सेक्युरिटी गार्डहरू मेरो पछिपछि आउँथे।’

काठमाडौंका धेरै ट्याटुप्रेमी पोखरासम्म आइपुग्थे। साढे तीन वर्ष पोखरामा चलाएपछि उनले ठमेलमा सानो स्टुडियो खोले। विस्तारै चाप बढ्यो। मोहनभन्दा अगाडि बाबुराजा र कर्मा गुरुङले खोलिसकेका थिए तर मोहनले सस्तोमा राम्रो सेवा दिन थालेपछि उनीकहाँ भीड लाग्यो। अरू स्टुडियो बन्द हुन थाले।

ठमेलका विभिन्न ठाउँमा स्टुडियो सार्दै उनले सन् २००९ देखि ठमेल, नरसिंह चोकमा स्टुडियो खोले। त्यहाँ अहिले उनका छोरा अर्जुन गुरुङसहित ६ जना कर्मचारी छन्। श्रीमतीले पनि स्टुडियो रेखदेख गर्छिन्।

मोहन भने तीन वर्षयता न्युयोर्कमा स्टुडियो सञ्चालन गरिरहेका छन्। पोखरादेखि काठमाडौं हुँदै न्युयोर्क पुगेर ट्याटु हानिरहेका उनी भन्छन्, ‘काम गर्ने शैली एउटै भएकाले खासै फरक लाग्दैन। मलाई त न्युयोर्क पनि ठमेलजस्तै लाग्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.