‘प्राचीन मिथिला राजधानीलाई न्याय'

‘प्राचीन मिथिला राजधानीलाई न्याय'

जनकपुरधाम : सरकारले प्रदेश २ को अस्थायी मुकाम जनकपुरमा तोकेपछि स्थानीयवासीमा खुसियाली छाएको छ। उनीहरूले सरकारी निर्णयको स्वागत गरेका छन्। यो सहर प्राचीन मिथिलाको राजधानीका रूपमा परिचित भएकाले अस्थायी राजधानी (मुकाम)का रूपमा पुनरावृत्ति पाएको स्थानीय बुद्धिजीवीको भनाइ छ।

सरकारले जनकपुरलाई अस्थायी राजधानी तोक्ने निर्णय गर्नु अप्रत्याशित नभई स्वाभाविक रहेको प्राध्यापक भोगेन्द्र झा बताउँछन्। ‘जनकपुरलाई राजधानी तोकेर उपकार गरेको होइन, यो हुनु नै थियो। जनकपुरप्रति कहींकतै विवाद भएको छ भने त्यो संघीयताको विरोधमा उचालिएको कुकृत्य मात्र हो', उनी भन्छन्, ‘नेपाललाई नचिन्नेहरू पनि जनकपुरलाई माता सीताको नगरीका रूपमा रामायणबाट परिचित छन्। यस अर्थमा यो सहरले आफ्नो परिचय दिइरहन आवश्यक छैन।'

तत्कालीन राज्य पुनःसंरचना आयोगका सदस्यसमेत रहेका झाका अनुसार जुन बेला मधेसमा दुई प्रदेशको कुरा थियो र चितवनसम्म सिमाना जोडिएर आयोगले खाका बनाउँदै थियो त्यस बेला पनि सात सदस्यले राजधानीका रुपमा जनकपुरलाई एकमतले स्वीकार गरेका थिए। पहिलो संविधानसभामा १४ प्रदेशको अवधारणा आउँदा पनि जनकपुरलाई मधेस प्रदेशको राजधानी स्वीकार गरिएको उनी उल्लेख गर्छन्। तसर्थ, सरकारको यो निर्णय उपयुक्त रहेको उनको ठहर छ।

प्रदेश २ का आठ जिल्लामध्ये जनकपुर मध्यभागमा पर्ने हुँदा प्रशासनिक सुगमताका आधारमा पनि यो सबैका लागि पायक ठाउँ रहेको अर्थविद् प्राध्यापक सुरेन्द्र लाभ बताउँछन्। हुलाकी राजमार्ग निर्माण भएपछि राजविराजबाट वीरगन्जसम्म जनकपुरको दूरी अझै घटेर सहज पहुँच हुने उनी बताउँछन्। ‘अर्कातर्फ जनकपुरमा अहिले पनि प्रदेशसभाका लागि पर्याप्त भौतिक संरचना छन्', उनी भन्छन्, ‘नयाँ संरचना निर्माणबिना नै एक वर्षसम्म निर्वाध रूपमा कार्यसम्पादन गर्न सकिने भएकाले यो अस्थायी मुकामका लागि उपयुक्त छ।'

जनकपुर मुलुककै पुरानो सहर भएकाले यसको इतिहास पनि अन्य सहरभन्दा बढी समृद्ध रहेको साहित्यकार तथा पत्रकार रोशन जनकपुरी बताउँछन्। उनका अनुसार यो सहरलाई राजधानी बनाउनका लागि अनेक आधार छन्। समृद्ध संस्कृति, विश्वमाझ स्थापित ऐतिहासिक पहिचान, धार्मिक, सांस्कृतिक, पर्यटकीय थलो, राजनीतिमा बलियो इतिहासलगायत आधारले गर्दा यो सहर राजधानीका लागि सबैभन्दा उपयुक्त रहेको उनको ठम्याइ छ।

भारतीय सीमा क्षेत्रबाट १२ किलोमिटरभित्र रहेको जनकपुर सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त देखिएको छ। भारतीय पक्षसँग व्यापार बढाउनका लागि जनकपुरमा ६ लेनको जनकपुर-भिठ्ठामोड सडक विस्तार भइरहेको छ। जनकपुर-जटही ६ लेनको सडकसमेत निर्माणाधीन छ। मुलुकै एक मात्र रेलमार्ग बर्दिबास-जनकपुर-जयनगरको निर्माणसमेत दु्रत गतिमा भइरहेको छ।

आउँदो अक्टोबर महिनासम्म ब्रोडगेज रेल सञ्चालनको तयारी छ। पर्यटन प्रवद्र्धनका लागि हवाई यातायातलाई पनि प्राथमिकतामा राखेर जनकपुर विमानस्थल स्तरोन्नतिको काम अघि बढेको छ। यस्ता पूर्वाधार निर्माणले जनकपुरलाई सुन्दर र नमुना राजधानीका रूपमा स्थापित गर्न सकिने स्थानीय बुद्धिजीवी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.