प्रदेश प्रमुखको सपथ समारोहमा पत्रकारले प्रवेश नै पाएनन्
काठमाडौं : राष्ट्रपति निवासमा आयोजित प्रदेश प्रमुखको सपथ समारोहमा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ। शुक्रबार दिउँसो ४ बजे प्रदेश प्रमुखको पद तथा गोपनियताको सपथका लागि निम्ता गरिएको भए पनि निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो।
प्रवेश दिने भनेर लामो समय पर्खाएर अन्तिममा प्रवेश नदिएको राष्ट्रपति निवासमा रहेका अन्नपूर्णका फोटो पत्रकार अशोक दुलालले जानकारी दिए। राष्ट्रपति कार्यालयका सुरक्षाकर्मीले सरकारी सञ्चार माध्यमका पत्रकारलाई छानिछानी सपथ समारोहमा लगेर निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश नदिएका हुन्।
राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई एकसाथ सपथ गराउँदै छन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिन लागेका हुन्। प्रदेश प्रमुखको सपथसँगै प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने विश्वास लिइएको छ।
सरकारले बुधबार सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो।
प्रदेश नम्बर १ : गोविन्द सुब्बा
प्रदेश नम्बर २ : रत्नेश्वरलाल कायस्थ
प्रदेश नम्बर ३ : अनुराधा कोइराला
प्रदेश नम्बर ४ : बाबुराम कुँवर
प्रदेश नम्बर ५ : उमाकान्त झा
प्रदेश नम्बर ६ : दुर्गा खनाल
प्रदेश नम्बर ७ : मोहनराज मल्ल