प्रदेश सरकार संचालनका लागि तयारी सुरु
जनकपुरधाम : प्रदेश २ को अस्थायी मुकाम जनकपुर तोकिएपछि पहिलो प्रदेशसभा बैठक तथा प्रदेश सरकार संचालनको तयारी सुरु भएको छ। मन्त्रीपरिषदद्धारा प्रदेश प्रमुख नियुक्त गरी मुकाम कायम भएपछि जनकपुरमा प्रदेशसभा भवन, मुख्यमन्त्रीको कार्यालय, सभामुखको कार्यालय र मन्त्रालयको लागि स्थान निर्धारण गरी तयारी थालिएको हो।
हालका लागि प्रदेश प्रमुखको कार्यालय मुरली चोकमा रहेको नेपाल राष्ट्र बैंकको भवनको अतिथी गृहमा राख्ने र प्रमुखको आवासको व्यवस्था पनि सोही कार्यालयमा गरिने योजना रहेको छ। त्यसैगरी प्रदेशसभा भवन, मुख्यमन्त्रीको कार्यालय र मन्त्रालयको लागि जनकपुर उपमहानगरपालिका १२ स्थित तीन बिगाह क्षेत्रफलमा फैलिएको शैक्षिक तालिम केन्द्र तथा जिल्ला शिक्षा कार्यालयको भवनमा राख्ने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईले जानकारी दिए।
सातवटा सुविधासम्पन्न भवन रहेको शैक्षिक तालिम केन्द्र २०५५ सालमा निर्माण भएको हो। हाल नयाँ संरचना निर्माण वा पुराना संरचनाको मर्मत सम्भारमा रकम खर्चिनु साटो उपलब्ध भौतिक संरचनालाई प्रयोग गरी प्रदेश सरकारको कार्य तत्काललाई सम्पादन गर्न सकिने चापागाईले बताए। शैक्षिक तालिम केन्द्रमा प्रदेशसभाको बैठक कक्ष र शिक्षा कार्यालयमा मुख्यमन्त्रीको कार्यालय राखिने छ।
त्यसैगरी प्रदेशमा सातवटा मन्त्रालय कायम गरिन भएकाले तालिम केन्द्र सञ्चालन रहेको भवनमा दुईवटा मन्त्रालय, केन्द्रको पुरुष शिक्षक प्रशिक्षार्थी आवासमा तीनवटा मन्त्रालय र महिला शिक्षक प्रशिक्षार्थी आवासमा दुईवटा मन्त्रालय राखेर काम सुरु गर्न सकिने तयारी गरिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय जनकपुरका प्रमुख गंगाप्रसाद यादवले जानकारी गराएका छन्।
सोही भवनमा प्रदेशसभा कक्ष, प्रदेशसभाको सभामुखको कार्यालय र सभामुख निवास पनि तोकिने छ। त्यसैगरी हाल जिल्ला शिक्षा कार्यालयको भवनलाई व्यवस्थापन गरी मुख्यमन्त्रीको कार्यालय तथा मुख्यमन्त्री निवासको व्यवस्थापन गरिने छ। सरकारले यसअघि पूर्वाञ्चल क्षेत्रीय प्रशासकको संयोजकत्वमा गठन गरेको प्रादेशिक राजधानीको भौतिक संरचना अध्ययन तथा सिफारिस समितिले सहरी विकास मन्त्रालयलाई बुझाएको सिफारिस पत्रमा र हाल भइरहेको तयारीको आधारमा प्रदेश सरकारको मातहतमा रह्ने सबै मन्त्रालय, प्रदेशसभा भवन र मुख्यमन्त्रीको कार्यालय एउटै परिसरमा रह्ने छ।
क्षेत्रीय प्रशासक राजेन्द्रमान सिंहको संयोजकत्वमा गठित समितिले तत्कालका लागि शैक्षिक तालिम केन्द्रको भवनलाई प्रयोग गरी प्रदेशसभाको बैठकको काम अघि बढाउन सकिने र भविष्यमा थप भौतिक संरचनाको आवश्यकता अनुसार नजिकै रहेको गुठी संस्थान मातहतको सात बिगाह जग्गालाई प्रयोगमा ल्याउन सकिने सुझाव दिएको छ समितिका सदस्यसचिव समेत रहेका डिभिजनल प्रमुख यादवले बताए। समितिले प्रदेश सरकारको कामकाज सञ्चालनका लागि कार्यालय व्यवस्थापन गर्न आवश्यक फर्निचर, लाइट,साउन्ड सहितका सामग्रीको तयारीका लागि सरकारसँग ५५ करोड रुपैंयाको मांग गरेको छ।