ह्विलचियर क्रिकेट खेलाडीको वरीयतामा नेपाली खेलाडीको वर्चस्व
काठमाडौं : अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट खेलाडीको वरीयतामा शीर्ष १० भित्र नेपाली खेलाडीको वर्चस्व देखिएको छ। अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट काउन्सिलले सार्वजनिक गरेको वरीयताअनुसार शीर्ष १० भित्र नेपाल र पाकिस्तानका सर्वाधिक तीन÷तीनजना खेलाडी छन्। यद्यपि वरीयतामा नेपाली खेलाडी अगाडि छन्। ह्विलचियर क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने नेपालसहित भारत, पाकिस्तान र बंगलादेश गरी चार देशका खेलाडी समेटिएको वरीयताको शीर्ष १० भित्र भारतका र बंगलादेशका पनि दुई÷दुईजना खेलाडी परेका छन्।
वरीयताको शीर्ष स्थानमा भारतका सौरभ मलिक छन्। दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपालका डिगम लिम्बू र विपिन पौडेल रहेका छन्। दिगम नेपाली टोलीका ब्याट्सम्यान हुन् भने विपिन बलर हुन्। हालै नेपालले आयोजना गरेको बंगलादेश र भारतसमेत सहभागी भएको त्रिदेशीय शृंखलामा डिगमले एक सय ३७ रन जोडेका थिए भने विपिनले सात विकेट लिएका थिए। उनीहरूकै प्रदर्शनमा नेपालले उपाधि पनि जितेको थियो।
यसैगरी अर्का नेपाली खेलाडी नवीन राई वरीयताको आठौं स्थानमा छन्। वरीयताको चौथो स्थानमा बंगलादेशका मोहम्मद मोहसिन छन् भने पाकिस्तानका अहमेद यार पाँचौ र इमानुयल म्याथ्यु छैटौं स्थानमा छन्। बंगलादेशका सिसन नहियान सातौं, पाकिस्तानका कमलाकर नवौं र पाकिस्तानका असदुल्लाह १०औं स्थानमा आसीन छन्।
काउन्सिलले सन् २०१५ देखि सन् २०१७ सम्म भएका प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा वरीयता सार्वजनिक गरेको हो। यस वर्षबाट काउन्सिलले वरीयताको शीर्ष स्थानको खेलाडीलाई एउटा कारसहित सम्मान गर्ने जनाएको छ। यो वर्ष पाकिस्तानले आयोजना गर्ने अवार्डमा अन्य क्याटेगोरीतर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि मोटरसाइकललगायतका उपहारबाट सम्मानित गरिने जनाइएको छ।
काउन्सिलले अब प्रत्येक ९० दिनमा नयाँ वरीयता सार्वजनिक गर्ने घोषणा गरेको छ। देशतर्फको वरीयतामा भने नेपाल तेस्रो स्थानमा झरेको छ। यसअघिको वरीयतामा नेपाललाई दोस्रो स्थान दिइएको थियो। पछिल्लो वरीयतामा पाकिस्तान पहिलो, भारत दोस्रो र बंगलादेश चौथो स्थानमा छन्।